न्यु योर्क
बर्ष २००८ को अन्तिम महिना देखि न्यु योर्कमा केहि साहित्य सर्जकहरुले एउटा अभियानको सुरुवात गरे उक्त अभियान थियो महिनाको एक दिन नेपाली भाषा साहित्यको लागी नियमित जमघट हुने,कथा कविता,गीत , गज़ल जे छ सुन्ने सुनाउने|सुन्न त सुनाउने ,जमघट पनि हुने तर कहाँ हुने त ?ठाउ थिएन! त्यसपछि छलफल भयो हरेक सर्जकले महिनाको एक दिन आफ्नै लिभिंग रुममा भेटघाटको आयोजना गर्ने र यसरी हरेक महिना नया नया सर्जकको घरमा जाने,धेरै जसो देश छोडदाको पीडा पोखिएको कविता गीत संगीत हरु सुन्ने र यसरी निरन्तरता पायो र सृजनाका यात्राहरुको यात्रा सुरु भयो|
जम्मा जम्मी १०/१२ जना सर्जकहरु बाट सुरु भएको यात्रामा बिस्तारै २०/२५ सर्जकहरु पुगे र यो अभियानले गति लिन थाल्यो|सुरुका दिनहरुमा निलम कार्की “निहारिका”,मणी बांग्देल,कमला प्रसाईं,परिता राज भण्डारी,बिनोद रोका,बिद्या बिमल बराल,पुष्पा अधिकारी गौतम,सीता खरेल,बिकाश बिस्ट,सरोज अर्याल र म स्वयमले सृजनाका यात्राहरुलाई आफ़्नु “लिभिंग रुम”मा जीवित राख्ने प्रयास गर्यौ| यसरी जीवित राख्न ज्योति पौडेल,गीता खत्री,पुनम काफ्ले,राम चन्द्र थापाले पनि उत्तिकै दरिलो हात दिनु भयो|
करिब एक बर्ष को निरन्तरता पछि हामीले सृजनाका यात्रालाई पार्कमा गर्ने प्रयास गर्यौ जस अनुसार समर मौषमका केहि महिनाहरू हामीले सेन्ट्रल पार्कमा “पोईट्री इन् द पार्क ” को रुपमा यो यात्रालाई निरन्तरता दियौ| जाडो मौषम सुरु भए पछि पुन: हामी हरेक सर्जकहरुको “लिभिंग रुम”मा फर्कियौ “पोईट्री इन् द लिभिंग रुम ” भन्दै तर यति खेर अनुभब भयो बढ्दै गएको सर्जकलाई “लिभिंग रुम”त्यति उपयुक्त भएन, र हरेक महिना सर्जकको लिभिंग रुम खोज्दै हिंड्नु त्यति सजिलो नदेखिएकोले हामीले ज्याक्सन हाइट्सको चौतारी रेस्टुरेन्टमा नियमित “निशुल्क” कार्यक्रम आयोजना गर्ने अवसर पायौ |त्यसको लागी हामी चौतारी रेस्टुरेन्ट परिवार प्रति आभारी पनि छौ|
चौतारी रेस्टुरेन्टमा नियमित कार्यक्रम हुन थाले पछी हामीले सृजनाका यात्रालाई केहि परिमार्जित गर्यौ,जस अनुसार महिनाको पहिलो आईतबार एक बिसेष सर्जकलाई एकल प्रस्तुतिको लागी अनुरोध गर्ने र बाकी समयमा अन्य १० जना सर्जकहरुको रचना सुन्ने|यो कार्यकम निकै राम्रो र सफल रुपम अगाडी बढ्यो ,यो कार्यक्रमले निकै राम्रो प्रतिक्रिया पाए पछी अहिले सृजनाका यात्राहरु
न्यु योर्कमा एउटा निरन्तर आयोजना हुने बिसुद्द साहित्यिक कार्यक्रम पर्याय बनेको छ| हामी संग नियमित ४०-५० जना श्रोता सर्जकहरु सुन्न सुनाउन आउनु हुन्छ|एकल प्रस्तुति सुरु भए पछी एकल प्रस्तुतिमा बिनोद रोका,गोबिन्द कोईराला,ज्योति पौडेल,बिद्या बिमल बराल,कमला प्रसाईं,अनन्त रिसाल,तिर्थ राज बराल र हालै देबेन्द्र लिम्बु सान्गहाम्फेले आफ्नो प्रस्तुति गरि सक्नु भएको छ|
जनवरी महिनाको कार्यक्रममा भारतीय साहित्यका विद्वान डा.एस.के शास्त्री, अखिलेश कृष्णा र मिनाक्षी कृष्णाको उपस्थितिले सृजनाका यात्राहरु बिसेष बन्दै गएको अनुभब भएको छ|डा.शास्त्रीले साहित्य विधामा कविता निर्माण चर्चा गर्दा होस् वा हिन्दी भाषामा कविता वाचन गर्दा सर्जकहरु मन्त्र मुग्ध भएर सुन्नु भएको थियो|साथ साथै नेपालका युवा कबि भुपिन ब्याकुल र निशेष कार्कीको प्रस्तुतीले पनि धेरैको ध्यान तानेको थियो|
सृजनाका यात्राहरुमा संयोगले भ्याए सम्म नेपाल बाट आई पुग्नु भएका बिभिन्न साहित्यकारहरुको पनि उत्तिकै उपस्थिति हुने गर्छ|सृजनाका यात्राहरु न्यु योर्कमा नेपाली भाषा साहित्यको भला कुसारी गर्ने एउटा उर्जा शील थलो भएको छ| यो यात्राले कुनै ठुलो साहित्यिक योगदान नगरे पनि घर देश बाट टाढा हुनु भएका सर्जकहरुको भावना सुनाउने चौतारो सम्म बनेको छ कि भन्ने मेरो सोचाई छ| यो यात्राले अझै धेरै सृजन शील कामहरु गर्न बाकी छ नै| आउने दिनहरुमा मासिक रुपमा निशुल्क कविता,गीत गज़लको वाचन मात्र नगरी वाचित रचनाहरु संकलन गरेर उत्कृस्ट रचनाहरुलाई पुस्ताकार दिने,कथा कविता लेखनको लागी कार्य शाला आयोजना गर्ने,अंग्रेजी एब अन्य भाषा एब समुदायका साहित्य सर्जकहरु संग सहकार्य गर्ने,न्यु योर्कका पुस्तकालयमा समन्वय गरेर नेपाली भाषा साहित्यका पुस्तकहरु राख्ने, यी र यस्ता नेपाली भाषा साहित्यका कामहरु गरेर सृजनाका यात्राहरुको यात्रालाई अझै अर्थ पूर्ण बनाउने लक्ष्य छ, जसको लागी सबैको सहकार्य पनि जरुरि छ|
सृजनाका यात्राहरु न्यु योर्कका नेपाली भाषा साहित्य सर्जकहरुले नियमित आयोजना गर्दै आएको अभियान हो|