खग्रास-कथा नया प्रस्तुति पुरानो

चलचित्र “खग्रास-यो अँधेरो कहिले सम्म”को समीक्षा
खग्रास-कथा नया प्रस्तुति पुरानो
सहदेव पौडेल,न्यु योर्क

गत बर्षको सुरुमा चलचित्र “काठमाडौँ ” हेरेको थिए न्यु योर्कमा|चलचित्र “काठमाडौँ”मा अमेरिकामा चलचित्र पढ्न आएको नेपाली युवक पढाई सकेर नेपाल फर्कन्छ र नेपालमा(काठमाडौँ) गए पछी उ बिभिन्न फिल्मी स्टायलको “हिरोत्मक”(Heroic) कामहरु गर्न सफल हुन्छ |चलचित्र बिसुद्द “मसला”ले भरी भराउ थियो| “काठमाडौँ” पछी हालै चलचित्र “खग्रास-यो अँधेरो कहिले सम्म” हेर्ने मौका मिल्यो|”खग्रास”मा पनि अमेरिकाबाट एक नेपाली युवक १७ बर्ष पछी नेपाल फर्कन्छ र गाउँ पुग्छ |कथा अनुसार उ सानै हुदा अमेरिकामा धर्म पुत्रको रुपमा आएको हुन्छ र एक दिन धर्म बुबाले जन्मदिनको उपहार स्वरूप नेपाल जाने टिकट दिन्छन| मन नहुदा नहुदै पनि उ नेपाल आइ पुग्छ र नेपालको राजनीतिक अवस्थाको शिकार बन्छ मानौ उ राजनीतिक “ग्रहण”को अँधेरोमा फस्छ तथापी उ गाउकै सेवा गर्ने र अमेरिका नफर्कने प्रण गर्छ|चलचित्रमा राष्ट्रबाद र देश प्रेमको प्रबचन धेरै हुनु ,प्रस्तुतिको शैली पुरातन हुनु र प्रमुख पात्रको “लाउजी”अभिनयले “खग्रास”लाई अलि अँधेरो बनाएको छ|

“नया नेपाली सिनेमा”को कुरा चर्चा चलीरहदा “बैकल्पिक सिनेमा नेपाल”को प्रस्तुति रहेको र शैलेश आचार्यले निर्देशन गर्नु भएको चलचित्र “खग्रास”ले कथामा नेपाली पन देखाउन खोजेको छ |नेपाली माटोको कथा बोकेको चलचित्रमा बसमा गाएको गीत सान्दर्भिक र ब्यबहारिक देखिन्छ तर परम्परागत चलचित्रका “हिरो हेरोइन”ले झैँ डांडा पाखा र खोलाको किनारमा कम्मर मर्काइ दिनाले मकै खादै चलचित्र हेरी रहदा ढुंगा टोक़े जस्तो हुन्छ |यस्तो फेन्टासीबाट मुक्त भएको चलचित्र मात्र सम्भबत:”नया नेपाली सिनेमा” हुन सक्छ|

नेपाली राजनीति,समाज र परिवेशको थुप्रै कथा छ खग्रासमा|दृश्य मार्फत निर्देशक काठमाडौँ र नेपालको आँखाले भ्याय सम्मका सबै जनजीबन देखाउने प्रयास गर्छन|विदेश जादै गरेका युवाहरुको समुह होस् ,राजनीतिक चन्दा आतंक,नेपाल बन्द,तथा कथित् क्रान्तिकारीहरुको आन्दोलन सबै जोडिएको हुन्छ १७ बर्ष पछी नेपाल फर्केको युवकको जिबनमा|
“खग्रास”को बारेमा सुन्दा र चलचित्रको पोस्टर हेर्दा लागेको थियो यो माओबादी युद्दकालको पृष्टभुमिमा आधारित छ|पोस्टरमा माओबादी युद्दकालमा मारिएका शिक्षक् “मुक्तिनाथ”को भूमिकामा अभिनय गर्नु भएका सुनिल पोखरेलको आवरण हुनुले यो चलचित्र सम्भबत:त्यहि सेरो फेरोमा होला भन्ने लागेको थियो तर चलचित्रको कथाले त्यो भन्दा पनि फराकिलो परिवेश समात्छ र प्रयोग भएका हत्या, हिंशा र पीडाका मार्मिक दृश्यहरुले दर्शकलाई भाबुक पनि बनाउछ!

प्रमुख पात्रको भूमिकामा संयोग पोखरेलको अभिनय अलि झ्याउ लाग्दो छ|नेपालमै काम गर्छु भन्ने उत्साह बोकेको पात्र अलि “स्लो” र निस्क्रिय जस्ता देखिन्छन|पात्रमा देखिनु पर्ने जिबन्तताको कमी छ| सम्भबत: निर्माताको छाप परेको हुन सक्छ| तर उनको नेपालको साथी बनेका अनिल पोख्रेलको अभिनय भने सजह र सरस छ |मुक्तिनाथको भूमिकामा सुनिल पोखरेलको उपस्थिति छोटो छ|उनको अभिनय भन्दा पनि दृश्यको गाभिर्यताले यो दृश्यलाई मार्मिक बनाएको छ|अन्य थुप्रै रंगकर्मीहरुको अभिनयले भने “खग्रास”लाई उजेलो बनाएको छ| अमेरिकी कलाकार एन्थोनी विलेटको नेपाल प्रेम र अभिनय उल्लेखनीय छ|

यो समिक्षा लेखि रहदा मलाई यात्रीहरुले बसमा गाएको “हामी नेपाली”बोलको गीत मात्र सम्झना आइरहेको छ|अन्य “रोमान्टिक”गीतहरुको जरुरी थिएन र एक बाल चित्रकारले नेपालको डाँडा,पाखा र नेपालको नक्सा बनाउदै गर्दा पृष्ट भूमिमा बजाएको गीतले फेरी देशप्रेमकै भावना दोहार्यौछ तर कथालाई कतै लादैन |न्यु:बज्राचार्यले संगीत दिनु भएका दुई संगीत कर्णप्रिय लाग्यो मलाई|

चलचित्रको अमेरिकामा(न्यु योर्क र डिसी वरपर) गरिएको छायांकन डकुमेन्ट्री जस्तो छ|

चलचित्र हेरी सके पछी अन्जन श्रेष्ठ फेसबुकमा लेख्नु हुन्छ “कथा बस्तु सत्य कथामा बनेकोले राम्रै लाग्यो तर स्क्रिन प्ले र , डाइलग भने अन्य सिनेमा जस्तै नाटकिय लाग्यो”| त्यसै गरी मनु लोहरुंग राई लेख्नु हुन्छ “खग्रास” हेरे पछि एक दर्शकको हैसियतले भन्नु पर्दा चलचित्र निकै सन्तोषजनक पाएँ | चलचित्रलाईको कथा, विषय वस्तु र कथाको थिम १० बर्षे जनयुद्धकालभित्र भएका घटना/परिघटनाहरु समेटिएका छन् | त्यसैको साथै मानिसले आफ्नो घरदेश बाहिर रहेर अथवा स्थाईरुपमा नै स्थानान्तर, देशान्तर रहे/भए पनि आफ्नो देशको र जन्मेको माटो भुल्न सक्दैन, भन्ने सन्देश दिन सफल भएको छ”| मनु जी ले लेखे झैँ चलचित्र “सन्देश दिन” सफल भएको छ तर चलचित्रको काम जीबन देखाउनु हो न की प्रबचन दिनु|श्रुति कंसाकार लेख्नु हुन्छ “कथा राम्रो हो तर चलचित्रमा राखिएको ब्यबसायिक गीत भने न राखेको भए हुने र मुख्य कलाकारको भूमिका निभाउने पात्र पनि अझै राम्रो भएको भए उत्तम हुने थियो”|अजय कार्की “चलचित्रले गम्भीर बिषयको गलत प्रयोग गरेको, निर्देशकीय र अभिनय पक्ष्य कमजोर भएको र प्रस्तुति फितलो भएको ठान्नु हुन्छ| तर गीता पन्थलाई भने चलचित्र “एकदम मन पर्यो”|

नेपाल बाहिर लामो समय सम्म बसेका नेपालीहरुलाई “खग्रास-यो अँधेरो कहिले सम्म “ले नेपालको बर्तमान राजनीतिक र सामाजिक स्वरूपको बिबिध दृश्य देखाउछ तर चलचित्रमा नया पन खोज्ने आँखाहरुलाई भने चलचित्रले न्याय गर्दैन|चलचित्रमा धेरै दृश्य राखेर राम्रो हुने,नायक नायिकालाई नचाउनै पर्ने पुरानो मानशिकता बाट निर्देशक मुक्त हुनु जरुरि छ|यस्तो गम्भीर बिषयमा अलि गम्भीर भएर चलचित्र निर्माण भएको भए यो अन्तरास्ट्रिय समुदायलाई १० बर्षे युद्द पछिको नेपालको एउटा राम्रो दृश्य सामाग्री हुने थियो| चलचित्र विधामा लामो अनुभब बटुल्नु भएका निर्देशक शैलेश आचार्य बाट मैले यो भन्दा पनि उच्च स्तरको “नया नेपाली सिनेमा”अझै भनु एउटा “बैकल्पिक”चलचित्र हेर्ने आशा गरेको थिए| “खग्रास” अमेरिकाको बिभिन्न शहरहरुमा बेला बेलामा प्रदर्सन भै रहेको छ|फुर्सद मिल्यो भने हेर्नु होस् र अनुभब गर्नु होस् नेपालको कथा व्यथा र अमेरिकाबाट नेपाल फर्केको एक युवकको नेपाल प्रतिको प्रेम |

प्रस्तुति: बैकल्पिक सिनेमा नेपाल र नेपाल इन्टरनेसनल
निर्माता:डा दुर्गा पोखरेल,माधव आचार्य र दिनेश शर्मा
कथा:बिप्लप प्रतीक र नयन राज पाण्डे
निर्देशक शैलेस आचार्य
अबधि:दुई घण्टा पाँच मिनेट
कलाकारहरु:संयोग पोखरेल,अनिल पोखरेल,सुनिल पोखरेल,बसन्त थापा,अन्थोनी विलेट ,दिनेश शर्मा आदि
संगीत: न्यु:बज्राचार्य
रेटिंग:२ वोटा स्याउ

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s