Monthly Archives: December 2014

यो वर्ष पनि

 

यो वर्ष पनि,
बिदा मनाउन घर हिडेकाहरु घर पुगेनन्,
स्कुल गएकाहरु फर्केनन्,
परदेशिएकाहरु फिरेनन्​!​

यो बर्ष पनि,
देशको अशान्ति बाट टाढिएर
अप्ठेरो बाटो हुँदै,
सपनाको फेरी चढेर,
खुल्ला आकाशको खोजीमा हिडेकाहरु,
सागर बिचमै डुबे।
किनारामा पुग्न नपाउदै,
धेरैको जहाज़ डुब्यो।

यो बर्ष पनि,
देश हरायो,
परिवेश हरायो,
बम, बारुद,र गोलीको
भुङ्ग्रोमा सर्वस्व खरानी भयो।
बलात्कार र हिंसाका रगत
यो वर्ष पनि लत्पतियो,
रङ्ग, जात, र धर्मको​ रगत
यो वर्ष पनि ​पोतियो,
​अनेक अनेक शिर्षकहरुमा
यो वर्ष पनि थुप्रै हामीहरू बेअर्थ
मरी रह्यौं..मरी रह्यौं..
****

सहदेव पौडेल
न्युयोर्क
डिसेम्बर २९,२०१४

 

 

/home/wpcom/public_html/wp-content/blogs.dir/a17/11876352/files/2014/12/img_5680.jpg

चार थोपाहरु

चार थोपाहरु

म जल्दै थिएँ नदी किनारामा,
हतार भै’सक्यो यार भन्दै
उनीहरू लागे क्याफे तिर!
॰॰॰
एक हुल साथीहरू,
बाढी जसरी भित्र छिरे!
धिप धिप बल्दै थिएँ,
झ्यापै पारि दिए!
॰॰॰
बहस जारी थियो,
यो सरासर गलत हो भन्दै,
विद्वान मित्रहरुले,
एक बिगाह झुटको खेती गरे!
॰॰॰

मित्रसँग सुख-दुख साट्न,
के छ खबर भन्दै फोन गरेँ!
शंकालु स्वरमा उ भन्छ,
केही काम पो थ्यो’कि!
॰॰॰

सहदेव पौडेल
न्युयोर्क
डिसेम्बर,३ . ०१४
Photo By Sahadevision

sa

भिडियो कविता: चिसा रुखहरु 

कविता रचना/भिडियो :सहदेव पौडेल
कवितामा प्रस्तुत संगीत: डीप फरेस्ट

चिसा रुखहरु

January 14, 2011
चिसा रुखहरु

चिसा रुखहरु,

सडक किनारमा लस्करै लस्करै हिडी रहेछन,

“यतै कतै जरो गाड्न पाए नि हुन्थ्यो नि,”

सुसाउछन रुखहरु!

छरपस्टिएका हाँगाहरु

जिन्ग्रिंग परेको स्वरूप,

पातहरु छैन,

चरा चुरुन्गिका बासहरु छैन,

चिसा रुखहरु

ठिंग उभिएर लस्करै हिडी रहेछन!

छाया बन्नु,

माया पाउनु,

अर्कै ऋतुको कथा होला!

चिसा रुखहरु ,

जल्दैनन,

बल्दैनन,

बोल्दैनन रुखहरु

त्यसैले सायद कसैले

बुझ्दैनन् ..

कहिले होला

चिसा रुख हरुमा बशन्त आउने

र एउटा निलो आकाश मुनि,

हरियो चौरमा,

सुशेली काट्दै,

चरा चुरुंगी संग प्रीत साट्दै,

छहारी दिने दिन!

by Sahadev Poudel,

New York