अमेरिकामा नेपालीका तीन अनुहार

दिन प्रतिदिन अमेरिकामा नेपाली आप्रवासीको आगमन बढ्दो छ। अहिले अमेरिकामा कति नेपाली होलान्? सही उत्तर पाउन गाह्रै छ। तर, अनुमानविदहरू भन्छन् अमेरिकामा नेपालीहरूको सङ्ख्या ३ लाख पुगिसक्यो। बिभिन्न उमेर समूहका यी नेपालीहरू नै अमेरिकन नेपाली समूदायका परिचय हुन्। जसलाई  म  तीन अनुहार- पुराना, युवा  र नयाँ अनुहारको रूपमा यसरी ब्याख्या गर्छु।

पुराना अनुहार- जो  आफ्नो उमेरको धेरै जसो समय नेपालमा बिताएर अमेरिका आए। पेशागत रूपले उनीहरू सरकारी कामदेखि विभिन्न सङ्घ संस्थामा आबद्ध भए। थोर बहुत नेपाली राजनीति, कलाकारिता र पत्रकारिताको आलाप पनि गाए, र विभिन्न समयमा अमेरिका आउने अवसर पाए र यतै घरजम गरेर बसे। यता आएर जे भेटिन्छ त्यही काम गर्न थाले। नेपालमा बन्दै गरेको परिचय, आत्म सन्तुष्टीका  सामाजिक प्रतिष्ठालाई झ्याप्पै छोडेर आउँदा उनीहरूलाई ‘सेल्फ आइडेन्टीटी’ को समस्या पर्‍यो।

त्यै आइडेन्टीटीलाई बचाई राख्न सामाजिक संस्थाका नाममा विभिन्न सङ्घ संस्था खोल्न लागे, त्यसैको मार्फतबाट आत्म खुसीको लागि विभिन्न पद र आफैले लिने दिने सम्मानको सृजना गर्न लागे।

अहिले जति पनि देखिएको सयौं सङ्घ संस्था र त्यसमा हुने झैँ झगडा छ, त्यही आत्मरतिको कारणले सृजित भएको देखिन्छ। उनीहरू दिनभरि ट्याक्सी चलाएर आए पनि वा तरकारी पसल वा रेस्टुरेन्ट वा कुनै ग्रोसरी पसलमा काम गरेर आए पनि नेपालीहरूको भीड भाडमा आफ्नो परिचय कुनै सङ्घ संस्थाको अध्यक्ष वा सो सरहको रूपमा दिन मन पराउँछन्। उनीहरू मध्ये धेरै अमेरिकन नागरिक भएर  पनि सार्वजनिक कार्यक्रममा बज्ने अमेरिकन राष्ट्रिय गीत बज्दा गर्वले छातीमा हात राख्न हिच्किचाउँछन्।

दोस्रो युवा अनुहार हुन्- जो अध्ययनको क्रममा अमेरिका आएर, अध्ययन सकेर विभिन्न पेसामा संलग्न छन्। उनीहरूलाई अमेरिकाको प्राय जस्तो अस्पतालमा  वा क्यालिफोर्नियादेखि न्यूयोर्कसम्मका कर्पोरेट कम्पनीहरू, वाल स्ट्रीटदेखि विश्व बैङ्क , हलिउडदेखि ब्रोडवे, फेशनदेखि कला, वाशिंटन पोस्टदेखि न्यु योर्क टाइम्ससम्ममा  सङ्घर्ष गरिरहेको भेट्न सकिन्छ। उनीहरू नेपाली समुदायमा दैनिकजसो देखिने भीडमा भेट्न सकिन्न न त कुनै सङ्घ संस्थाको चुनावी दौडमा।

सहभागी छन् यतैको राजनीति, विकास र निर्माणमा। उनीहरू जुलाई फोर्थको इन्डीपेन्डेन्स डे होस् वा अन्य कुनै होलिडे गर्वका साथ छातीका हात राखेर, अमेरिकन नेपालीको रूपमा मनाउछन् । र समय निकालेर नेपालको पुनर्निमाणमा नेपालकै कुनै सङ्घ संस्था मार्फत जुटीरहेको पनि भेट्न सकिन्छ।

तेस्रो, अनुहार हुन् नयाँ पुस्ताका अनुहार- जो सानैमा अमेरिका आएका वा यतै जन्मदै हुर्कदै गरेकाहरू। उनीहरू नेपालीभन्दा पनि अमेरिकन नेपालीको रूपमा हुर्कदै बढ्दै छन्। उनीहरूको साथीसंगी पनि  मिश्रित छन्। उनीहरू दुई वा दुई भन्दा बढी भाषा बोल्छन्। नेपालको कला संस्कृतिलाई उनीहरू आफ्नो स्कुल वा कलेजमा गहनाको रूपमा प्रस्तुत गर्छन्।

अमेरिकन राष्ट्रिय गीत पनि उनीहरुलाई कण्ठस्त छ। स्कुलमा होस् वा कुनै सार्वजनिक कार्यक्रममा उनीहरु गर्वका साथ राष्ट्रिय गीत गुण गुनाउँछ्न् पनि। र उनीहरुनै हुन् अमेरिकाको भविष्य पनि। सम्भबत: भोलि व्हाइट हाउसमा पुग्ने, वा एप्पल वा माइक्रोसफ्टको सीइओ बन्ने।

अन्त्यमा,यी तिनै अनुहार अमेरिकी नेपाली समुदायका परिचय हुन् तर सङ्ख्याको हिसाबमा पुराना अनुहारका नेपालीहरू धेरै भएकोले होला समुदायका  धेरै जसो गतिविधि उनीहरूकै स्वभावबाट प्रभावित भएको पनि देखिन्छ। तर, दुःखलाग्दो कुरा अहिले तिनै अनुहारबीच पुस्तान्तरणको एउटा खाडल जम्मा हुँदै छ। पुराना र युवा पुस्ताको बिचमा आर्थिक खाडल गहिरो हुँदै गएको छ।

नयाँ र पुराना अनुहारमा विचार, भाषा, धर्म र संस्कृतिको खाडल। अब उनीहरूले युवा अनुहार र  नयाँ अनुहारहरुबाट सिक्दै आफूलाई नेपाली-अमेरिकन  समुदायको राम्रो उदाहरणको रूपमा प्रस्तुत गर्न सके अलि कति भए पनि पुस्तान्तरणको यो खाली ठाउँ भरिन्थ्यो कि!

First Published on Setopati’s Global Edition

प्रकाशित मिति: बुधबार, आषाढ २, २०७२ २२:५९:२२

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s