ऊ नेपाल फर्कँदै छ

मेरी आमाका ६ जना दिदी बहिनीमध्ये कान्छी सानिमाको बाहेक हरेकका छोरा वा छोरीहरू विदेशमा छन्।

त्यही मध्येको एउटा भाइ सरोज कोइराला नर्वेमा छ । ६ वर्षअघि उच्च शिक्षाको लागी नर्बे पुगेको भाइसँग अनलाइनमा आक्कल झुक्कल भेट हुन्छ।

कहिले अफ्रिकी देशहरू तान्जानिया, म्यडागस्करमा पढाई कै सिलसिलामा पुगेका  फोटोहरू फेसबुकमा देख्छु। कहिले  नेपालको  मुस्ताङदेखि मकवानपुरको रक्सिरंग वा भारतकै मध्य बिहार र नरकटिया गाउँहरू अध्ययन गरेर फेरि नर्वेनै फर्केको खबर पनि पढ्छु।

मलाई लाग्थ्यो मेरो भाइ पनि देशको कथा/व्यथा  बेचेर ठूलो मान्छे बन्ने भो!अस्ति दुई तिन हप्ता अगाडि कुराकानी हुँदा मलाई अचम्मित पार्दै ऊ भन्दै थियो,‘दाइ मेरो पढाई सकियो अब समरमा नेपाल फर्किन्छु।’

तर देश अहिले-महा भूकम्पको विपत्तिमा डुबीरहँदा उसले फेसबुकमा आफ्नू स्ट्याटस अपडेट गरेछ र  लेखेछ, ‘म समरमा होइन यही आइतबार मे ३  मा नेपाल फर्किदै छु। भूकम्पले अति प्रभावित गाउँ जान्छु र सकेको गर्छु।’

भाइको यो निर्णयमा खुसी नहुने सायदै होलान्। विदेशमा पढाई सकेकाहरू, ज्ञान आर्जन गरेर के गरौँ के गरौँ भएकाहरू वा श्रम गर्न पुगेकाहरू धेरै अब बिस्तारै देश फर्कने तयारी गर्दैछन् र भाइ सरोज त्यसैको एक उदाहरण बन्यो।

मेरो खुसीको सीमा रहेन। हालै भाइका साथीहरूले एक बिदाइको कार्यक्रम पनि आयोजना गरेछन् जसबाट उठेको सहयोग रकम र आफ्नै पकेटको खर्च जोडेर ५   हजार डलर बराबरको रकम लिएर भाइ आइतबार मे ३ मा नेपाल जादैछ।

उसको इच्छा छ- सिन्धुपाल्चोकको कुनै गाउँमा पुग्ने र राहतमा सघाउने। भाइले नर्बेजियन युनिभर्सिटी अफ लाइफ साइन्स (NMBU) मा मास्टर गर्दा  पढेको विषय पनि विकास, अनुसन्धान र योजना आदि विषय नै थियो र आफूले जानेको पढेको र बुझेको त्यो ज्ञान कर्मभूमिमा उपयोग गर्ने बेला यही हो भन्दै छ ऊ।

‘अहिले देशमा ठूलो विनास भएको छ र यो विनासलाई विकासको रूपमा अगाडि बढाउन हामी सबैको हातेमालो हुनु जरुरी छ। यसले गरेन उसले गरेन भनेर गुनासो गर्नूभन्दा म आफूले जे जानेको छु त्यही गर्छु।’

यो खबर पढ्दा भाइले देशको माटो टेकिसकेको हुनेछ सायद! ओर्लने बित्तिकै हेटौडामा रहेकी एक्ली आमाको अँगालोमा बाँधिन सायद जान भ्याउँदैन होला।

काठमाडौँमा ओर्लने वित्तिकै भूकम्पले त्रसित आफन्तहरूको अनुहारहरू हेर्दै ऊ एउटा आशाको त्यान्द्रो बनेर औषधि, केही लत्ता कपडा र खाना खजाना बोकेर आँशुमा डुबेको गाउँ सिन्धुपाल्चोकको उकालो लाग्नेछ।

यता परदेशमा  उसको एउटा दाइ भने आफूले सकेको सानो तिनो सहयोग सिवाय अरू केही गर्न नसकी सोसियल मिडियामा देखिएको विभत्स तस्बिर, आफ्नो  गाउँको भत्केको र चर्केको घर हेर्दै र यो विनाशकारी प्रलयमा ज्यान गुमाउनेहरू प्रति प्रार्थना सिवाय केही गर्न नसकि बसिरहेको छ।

शुभ यात्रा भाइ!

(न्यूयोर्कबाट सहदेव पौडेलले नर्बेबाट नेपाल फिर्दै गरेका सरोज कोइरालासँग गरेको कुराकानीमा आधारित)

First Published on Setopati’s Global Edition on

प्रकाशित मिति: आइतबार, बैशाख २०, २०७२ २०:०६:२७

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s