नाटकको राजधानीमा नेपाली नाटक

नाटकको राजधानीमा नेपाली नाटक

​सहदेव पौडेल

तस्बिरहरु: अशोक पन्त र धन लामा)


नाटक ‘जोडियोस् भत्किएका मनहरू’ को पहिलो प्रदर्शनपछि निर्देशक हरि बहादुर थापाले युद्दमा विजयी कमाण्डरले झैँ सन्तुष्टीको श्वास फेरे। उनी प्रेक्षालयमा बसेर भर्खरै नाटक मञ्चन भएको मञ्चमा हेरिरहेका थिए। अर्को कुनामा कलाकारहरू  खुसी र बधाईका शब्दहरू साटासाट गर्दै थिए मानौं उनीहरू नै हुन् युद्द जिताउने बहादुर सिपाही। म भने यी दृश्य अवलोकन गर्दै नाटक हेर्न आउने दर्शकहरुलाई धन्यवाद दिँदै फोन र सोसियल मिडियाबाट आइरहेको बधाई र शुभकामना सबैलाई सुनाउँदै थिएँ।लाग्थ्यो हामी एकेडेमी वा नाचघर कतै छौं। तर टाइम्स स्कवायरको व्यस्त थिएटर डिस्ट्रिकको नजिकै रहेको ७७७ थिएटरमा थियौ।

धेरैले रङ्गमञ्चको राजधानी नै मान्छन न्युयोर्कलाई। यहाँ हरेक दिन सयौं थरीका नाटकहरु मञ्चन भइरहन्छन्। कलाकार बन्ने सपना बोकेर विभिन्न देश र अमेरिकाकै  प्रान्तबाट रङ्गभूमीमा सङ्घर्ष गर्न आउनेहरु हजारौँ छन्।

डे जबमा जे भेटिन्छ त्यही गर्ने र समय निकालेर नाटक र कलामा समर्पित हुनेहरु र एकदिन ब्रोडवेमा नाटक गर्ने सपना बोकेकाहरु पाइला पाइलामा भेटिन्छन्। गतवर्ष यहाँ नाटक हेरेपछि नाटककार अशेष मल्ले भन्नुभएको थियो, ‘हामीले नेपाली नाटकलाई पनि यो सहरमा प्रदर्शन गर्नु पर्छ।’

म यँहाको एउटा साहित्यिक कार्यक्रममा प्रस्तुत गर्नको लागि उहाँले नै लेखेको छोटो नाटकमा यहाँका अमेरिकन-नेपाली भाइ बहिनीहरूलाई खेलाउदै थिएँ। त्यसैगरी नेपालका सम्मानित रङ्गकर्मी र थुप्रै एतिहासिक नाटकहरु मार्फत आफ्नो परिचय उच्च राख्नु भएका रङ्गकर्मी हरि बहादुर थापा पनि न्यूयोर्कमा हुनुभएको बेलामा “भाइ केही गरौँ न केही गरौँ” भनिरहनु हुन्थ्यो। यो वर्ष हामी सबैको त्यो सपना पुरा भएको छ। नाटक प्रदर्शनको सफलता सुनेर अशेष मल्ल फोनमा निकै पुलकित सुनिनु हुन्थ्यो।

नाटक प्रदर्शनको यो यात्रा सहज थिएन। कलाकारको खोजी, नाटक रिहर्सलको तालिका, नाटक मन्चनको हल र त्यो भन्दा पनि महत्वपूर्ण नाटक तयार पार्न लाग्ने खर्च र हेर्न आउने दर्शकहरुको व्यवस्थापन गर्नु हाम्रो लागि पहाड थियो।कोही कलाकार सबेरै काममा जाने, कोही रातभर काम गर्ने, कोही जुन बेला फोन आउँछ त्यही बेला दौडिनु पर्ने,  कोही स्कुल जानु पर्ने। यी सबैबीच समन्वय गरेर जहाँ पायक पर्छ त्यहीँ , जुन समयमा मिल्छ त्यही समयमा जम्मा भएर सबैले जुन साधना गरे, त्यो सन्तुष्टि छरिएको देखिन्थ्यो नाटक प्रदर्शन पछि।

नाटकमा  हाम्रै कथा थियो। हामी कतिपयले प्रत्यक्ष रूपले विनाशकारी भूकम्प नभोगे पनि मानसिकरुपमा पीडित थियौँ नै। नाटक हेर्न आउने धेरैजसो त्यो विनाशकारी भूकम्पको प्रत्यक्षदर्शी थिए। ज-जसलाई ​भेटेँ , जजसले सामाजिक सञ्जालमा लेखे आँखा रसाएन भन्ने कोही थिएनन्। कहिल्यै पनि नाटकमा अभिनय नगर्नु भएकी संगीता उप्रेती र धेरै दर्शकको माझ  पहिलो पटक अभिनय गर्नु भएकी नदिया लिवाङ्गको अभिनयले सबैको  मन जितेको थियो। त्यसैगरी दिनभरी काम गरेर साँझमा ढल्के घाम जसरी रिहर्सलमा आउनुहुने उमेरले ७० टेक्नै लागेका तर अभिनयको जोसले युवा देखिनुहुने यादव गौतम,’पापी पेटको सवाल छ’ भन्दै रिहर्सल सक्ने बित्तिकै काममा दौडिनुहुने कृष्ण थापा, दिउँसो कम सुतेर र साँझको रिहर्सल सकेर रातीको कामको तयारीमा हतारिँदै लाग्ने विकास बिष्ट र ज्योति कुमार श्रेष्ठले नाटकमा एक भन्दा बढी भूमिकामा बिना थकावट अभिनय गर्नु भयो। बिहानै स्कुलमा पुग्नु पर्ने क्रिस्टल थापा र दिलाष्मा रजकले स्कुलबाट आउने बित्तिकै होमवर्क सकेर साँझमा हामीसँगै रिहर्सलमा साथ दिनुभयो। त्यसैगरी वास्तविक जीवनका जोडी दिपिका श्रेष्ठ, जो आफुलाई “स्टोरीटेलर” मान्नुहुन्छ, र अनुज थापाले पनि निकै उत्साहका साथ नाटकमा साथ दिनु भयो। अनुजले त् अभिनय मात्रै नभै एक सञ्चारकर्मीको रुपमा प्रचारप्रसारको पनि जिम्मा लिनु भयो। नाटक रङ्गमञ्चको अध्ययनले मलाई पनि यो नाट्य प्रस्तुतिलाई सहज, व्यावसायीक र  व्यवस्थित बनाउन ठूलो सहयोग गर्‍यो।

अध्ययनलाई  व्यवहारिक बनाउन निर्देशक हरि बहादुर थापा र साथमा विश्व थापा, विराज रिजाल र मिठ्ठु थापा लगायत  सबै कलाकारहरूले उत्तिकै सहयोग गर्नुभयो।​ करिब ७ फिट अग्लो भत्त्किएको धरहरालाई मञ्चसज्जाको रूपमा निर्माण गर्नु हुने सुदिप श्रेष्ठको कला र राकेश श्रेष्ठले नाटक प्रदर्शनको अन्तिम समयमा संयोजन गर्नु भएको प्रकाश व्यवस्थापनले नाटकलाई झनै उज्यालो बनाएको थियो।

हुन् त् यसरी नेपाली नाटकलाई अमेरिकाको न्यूयोर्क सहरको व्यस्त अफ ब्रोडवे थियटरमा प्रस्तुत गरिएको पहिलो पटक हो। तर हामीले नाटकलाई सफलतापुर्वक मञ्चन गरेर धेरै दर्शकहरुको मन जितेका छौँ। हामीले न्यूयोर्कमा नेपाली नाटक प्रदर्शनको एउटा यात्रा सुरु गरेका छौँ। आउने दिनहरूमा यो यात्राले निरन्तरता पाउनेमा मलाई पूर्ण विश्वास पनि छ। जसरी हामीले हरि बहादुर थापा सँग काम गरेर धेरै सिक्यौं आउने दिनहरूमा नेपालबाट आउने अन्य रङ्गकर्मी वा लेखकसँग मिलेर नयाँनयाँ नाटकहरु तयार पारेर अमेरिकाको अन्य सहरहरूमा जाने ​वा अमेरिका ​कै ​रङ्गकर्मी तथा नाटककारसँग सहकार्य गरेर नयाँ नाटकहरु निर्माण​को ​​सम्भावना खुलेको जस्तो लाग्छ।

नाटक अभिनयको झझल्को अझै आँखा आगाडी आइरहेको छ। नाटकमा प्रयोग गरिएको भेषभूषा अझै पनि जस्ताको तस्तै राखेको छु। उता न्यू ह्याम्प्सायर र बोस्टनका साथीहरू नाटक लिएर यता आउनु पर्छ भन्दै छन्। अहिलेलाई हामी सबैको एउटा सपना साकार भएको छ र फेरी नयाँ सपना बुनेका छौँ- ‘टाइम्स स्क्वाइयरको झिलिमिलीमा हाम्रो नाटकको पोस्टर होस्, नाटक हप्तौँ चलोस् र न्यु योर्क टाइम्सले रिभ्यु लेखो​स् र भन्न पाइयोस्-म नाटकको लागि नै बाँचेको छु र नाटकले नै मलाई बचाई रहेको छ।’

(पौडेल नाटक “जोडियोस भत्त्किएका मनहरू” का सहायक निर्देशक हुन्।)

Published on Setopati

प्रकाशित मिति: बिहीबार, पौष २, २०७२ १३:०३:२७

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s