रंगमञ्चमा रमाउदै छ सरोज

रंगमञ्चमा रमाउदै छ सरोज

सहदेव पौडेल

महाभारत जस्तो आफ्नै जिन्दगीमा अनेकौँ अध्याय लेख्न व्यस्त सरोज ८ वर्ष पछि जिन्दगीको रणमैदानबाट रङ्ग मैदानमा उत्रेको छ-विपी कोइरालाको जीवन वरपर आधारित अभी सुबेदी लिखित नाटक”सान्दाजुको महाभारत”को भीडमा विभिन्न पात्रहरु बनेर।

कुनै समय सरोज, म र हामी केही रङ्गकर्मी साथीहरू नेपाली रंगमंच हाम्रै काँधमा छ भन्ने ठानेर हावाको गतिमा पात जसरी कहिले यता कहिले उता उडी रहन्थयौं। उड्दा उड्दै म अमेरिकामा प्लेब्याक थियटरको अध्ययन गर्न गएँ । सरोज भने उतै बसेर पम्पकिन थियटरमा फर्सी भन्दा पनि राम्रा सपना रोप्न लाग्यो। म यताबाट केही ज्ञानगुनका कुरा सिकेर नेपाल फर्किएँ र फेरी रगमंचमा व्यस्त हुन खोजें । सुनिल सर(सुनिल पोखरेल)ले कुनै बेला भन्नु हुन्थ्यो “तिमीहरू भूतले खाना खाने बेलामा जन्मेका हौँ ” उहाँको मनसाय हामी रंगकर्म सेलाएको बेलामा आयौँ, धुंवा पनि उडीसकेको बेलामा आयौँ, अलि अलि धुकधुकी कहिले नाचघर र कहिले एकेडेमी र केही सर्वनाम र आरोहण जस्ता नाट्य समूहले बचाएर राखेको थियो । हामी रंगमंचमा आफ्नै आगो बाल्न चाहन्थ्यौँ । हामी भन्थ्यौँ हामीले खाने पनि नाटक, लाउने पनि नाटक , बोल्ने पनि नाटक र सुत्ने पनि नाटक!अनि हामी आफ्नै एकेडेमीको सपना बुन्थ्यौं। यसरि सपना बुन्दा बुन्दै देश रण मैदानमा परिणत भयो, साथीभाई महाभारतको लडाइमा जस्तो तितर बितर भए। कोही कौरब बने , कोही पाण्डव र म बने परदेशी!

sa
Photo Courtesy of Nagina Shrestha’s Facebook

सरोज अर्को १/२ वर्ष पम्पकिन थियटरमा रंगमंचको फर्सी पकाउने प्रयासमा लागि रह्यो। अर्काको बारीमा रोपेको फर्सी -मेरो मतलब अर्काको स्कुलमा निर्माण गरेको हुर्कदै गरेको पम्पकिन थियटर स्कुल सँगै विलीन भयो त्यसपछि सरोज पनि लाग्यो अमेरिका-आफ्नै कथा बोकेर!

अमेरिकामा नेपालमा देखेको जस्तो रंगमंचमा आगो बाल्छु भन्ने सपनाले काम नगर्दो रहेछ। नाटक पढियो, आकल झुक्कल रंगमंचमा झुल्कियो, यहाँ भएका नेपाली-अमेरिकन भाइ बहिनीहरूलाई नाटक गराउने पनि गरियो तर अझै पनि मन खोलेर रंगमंचमा उफ्रिन सकिन। बिस्तारै अमेरिकामा नाटकमा खेल्ने भन्दा हेर्नमा म पनि व्यस्त हुन् लागेँ।सरोज पनि आफ्नो महाभारतमा व्यस्त भयो र जिन्दगीका कयौँ बाणहरुले घाइते पनि बनायो र झन्डै अस्तायो पनि ! म बिदुर जसरि उसको जीवन कथा हेरी रहेँ। जिन्दगीको महाभारतले अनेक मोड लिए पछि उ नेपाल फर्कियो र धुलो लगेर बसेको पम्पकिन थियटरको मास्क टक टकाउन लाग्यो। फेरी कतै रंगमंचको घरको बिजारोपण गर्दै छु भन्दै थियो पहिले जस्तै कुनै स्कुलमा। उ बिस्तारै जिन्दगीको महाभारतको युद्धमा उडेको धुलो सफा गर्दै स्क्रिप्ट बोकेर फेरी माइक्रो बस र सफा टेम्पो चढेर विशाल नगर, चण्डोलबाट आफ्नो यात्रा सुरु गरेको छ। र अहिले उ ८ वर्ष पछि “सान्दाजुको माहाभारत” मा आइपुगेको छ।

मलाई आशा छ अब उ घाइते हुने छैन। निभेका रंगमंचको सपनाको आगो फेरी बाल्ने छ र रंगमंचलाई उजेलो, न्यानो र रंगिन बनाउने छ।

Sandajuko Mahabharat
Drama’s Poster Courtesy of Theatre Village

​नाटक “सान्दाजुको महाभारत” थियटर भिलेजमा मन्चन हुँदै छ । नाटकमा बर्षौ पुरानो रङ्गकर्मी आदरणीय सुर्यमाला शर्मा पनि हुनु हुन्छ जो सँग मैले बर्षौ पहिले नाटक “अन्धो युग”मा काम गर्ने अवसर पाएको थिएँ । त्यसै गरी अर्का बहु प्रतिभाका धनी मिलनसार सलील सुबेदी पनि हुनुहुन्छ। जो सँग मैले बर्षौं पहिले होटल बज्रको नाटक “पन्चतन्त्र” मा काम गर्न पाएको थिएँ। त्यसै गरी नाटकको मुख्य पात्र विपीको भूमिकामा उपन्यासकार एवं रङ्गकर्मी डा.संजीव उप्रेती पनि हुनुहुन्छ। नाटक बिमल सुबेदीले निर्देशन गर्दैछन्। बिमलले भारतको नयादिल्ली स्थित नेशनल स्कुल अफ ड्रामामा नाटक अध्ययन गरेका हुन्। नाटक थियटर भिलेजमा यही भाद्र २४ देखि असोज २३ सम्म मन्चन हुँदैछ।

उस्तै उस्तै…… किताबका कभर (Updated)

उस्तै उस्तै…… किताबका कभर ​

टोकियोमा हुने २०२० ओलम्पिक खेलको लोगो the Théâtre de Liege design सँग मिल्यो भनेर उक्त डिजाइनरले टोकियो ओलम्पिकमा उजुरी हाले पछि अहिले टोकियो २०२० ओलम्पिकका आयोजकहरु अक्क न बक्क परेका छन्। Tokyo 2020 को लोगो र the Théâtre de Liege को लोगो मिल्छ कि मिल्दैन आफै हेर्नुहोस्।

Tokyo 2020 को लोगो र the Théâtre de Liege को लोगो मिल्छ कि मिल्दैन आफै हेर्नुहोस्।

हामीले प्राय जसो देख्ने गरको नेपाली लोगो, डिजाइनहरु पनि कहीँ कतै बाट कपि भएको वा अल्टर गरेको भेटेका छौँ। केही नेपाली चलचित्रको पोष्टरहरु त् हुबहु नै अन्य चलचित्र सँग मिल्दो जुल्दो पाईनु अब कुनै नौलो भएन। मलाई नेपाली किताबहरूको आवरण पनि अरू कुनै भाषाका पुस्तकको आवरण सँग मिल्छ कि मिल्दैन भनेर खोजी गर्न मन लग्यो। गुगल इमेजमा खोज्दा उस्तै भेटिएका पुस्तकका कभरहरु यस्तो पोस्ट गरेको छु छ। अब त् नेपाली पुस्तकहरुको कभर पनि अन्य भाषाका पुस्तकहरू र गुगलमा भेटिएका केही तस्बिर सँग मिल्दो जुल्दो पाएकोले यहाँ समावेश गरेको छु।

बुद्धि सागरको “कर्णाली ब्लुज” र गुगलमा भेटिएको यो शपिङ्ग कार्टको तस्बिर
कुमार नगरकोटीको “मिस्टिका” र My Cat Name is Lucas को यो कभर हेर्नुस
राजन थपलियाको “Rejoice” र Thomas Kempis को The Imitation of Christ
ब्रजेशको “यायाबर”को नयाँ कभर र गुगलमा भेटिएको यो तस्बिर
मोहन मैनालीको “मान्ठा हराएको जुग” र Eric Bradford Adreon को A Dance With Shadows को कभर हेर्नुहोस्
चैतन्य मिश्रको ” बदलिँदो नेपाली समाज” र OHSO को Bringing Up Children

//platform.twitter.com/widgets.js

//platform.twitter.com/widgets.js

Would you judge a book by its cover? Comments are welcome 🙂

यो जिन्दगी

यो जिन्दगी

जिन्दगी फोटो कपी गर्न मिल्ने भए,
ओर्जिनल उता पठाएर डुप्लीकेट यता कतै भुलाई राख्थें,

जिन्दगी कपी पेस्ट गर्न मिल्ने भए,
लाखौँ प्रति जिन्दगी प्रिती छर्न पठाई दिन्थें,

जिन्दगी सिफ्ट थिचेर,
ईन्टर गरेर वा केहि स्पेस दिएर
अर्कै बनाउन मिल्ने भए,
हरदिन कुनै म्याजिक गरी बस्थें!

वा

एडिट गरेर युटोपियन बनाउथें,

जिन्दगी सेभ गर्न मिल्ने भए,
कुनै नौलो ग्रहमा सेभ एज वा
क्रियट एक नयाँ मानवीय जिन्दगी बनाउथें!

जिन्दगी डिलिट गर्न मिल्ने भए,
सिम्पली डिलिट गरि दिन्थें,
…………………………
साथी संगी र परिवारको ईमोजी ईमोसन हेर्थे,
धेरै नै रोईकराई गरेछन भने अन डु गराईदिन्थे,
तुरुन्तै भुलेर रिफ्रेस गर्न लागेछन् भने,
जिन्दगी डिलिट परमानेट्ली गर्दै-
यो समाज जस्तै रिसाईकल बिन- ईम्प्टी गराईदिन्थें!

यो जिन्दगीलाई ……

सहदेवको “यो जिन्दगी” 🎭

मेरो खुसी,मेरो विश्वास

मेरो खुसी,मेरो विश्वास
​सहदेव पौडेल

काठमाडौँ प्रवेश पछि लागेको रंगमंच र रेडियोको नशाले कहिल्यै छाडेन र सायद छाड्दैन पनि होला। रंगमंचमा अभिनय र रेडियोमा आवाजले परिचय बन्ला कि भन्दा भन्दै देशको आकाशनै छाडेर परबासमा लागियो। सन् २००४मा अमेरिकाको न्यु योर्कमा आगमन भए पछि ​आफ्नो नशा अनुसारको पेसा खोजेर हिडियो तर कहाँ भेटिनु र! तर पनि आफ्नो खुसीको लागि समय समयमा ​मैले ​रंगमंचमा झुल्किन ​पनि छाडीन र सँगै रेडियोको नशा मेट्न मैले अनलाइनमा हिमाली स्वरहरू रेडियो पनि निरन्तर सञ्चालन गरी रहेँ।

न्यु योर्कलाई रंगमंचको त् राजधानीनै भनिन्छ। थरी थरीका नाटक, म्युजिकल, ब्रोडवेमा हुने महंगा र जीवन भन्दा पनि ठुला नाट्य प्रस्तुति देखि अफ अफ ब्रोड वेमा संघर्षशील नाट्यकर्मीहरुले आफ्नो नियमित काम पछि समय निकालेर, कहिले साथीको अपार्टमेन्ट होस् वा कुनै पार्कमा गरिने रिहर्सल वा कफी सपमा स्क्रिप्ट रिडिंग गर्दै तयार पर्ने प्रयोगधर्मी नाटकहरुले न्यु योर्कका रंगमंचहरु सधैँ नै व्यस्त हुन्छ। म पनि आफ्नो कामबाट फुर्सद​भए पछि वा कहिले नाटकको नशाले लाटो भए पछि , रंगमंचको धुलो खोज्दै त्यही खुसीमा रमाउन पुग्छु।
नाटक गर्न नभ्याए हेरेर भए पनि आफ्नो प्यास मेट्न म रंगमंचमा पुगी रहेको हुन्छु तर गर्नुमा जस्तो मज्जा हेर्नुमा कहाँ र! रंगमंचमा सङ्घर्ष गरिरहेका यहाँ सयौँ समूह छन् भने हजारौँ रङ्गकर्मी। जसले कि त् बिना पैसा वा थोरै पैसामा काम गर्छन्- एउटा सपना बोकेर- ब्रोडवेमा पुग्ने सपना। यहाँको रंगमंचको परिवेश बुझ्न मैले कलेजमा ५/६ वर्ष पनि बिताएँ, तर कलेजको अध्ययनले मात्रै पनि रंगमंचमा काम पाउने होइन। यसको लागी त् निरन्तरता र समर्पण पनि जरुरी छ- जसको लागी समय दिनु पर्छ र पैसाको मुख हेर्नु पनि भएन।

IMG_5680

अर्को कुरा अङ्ग्रेजी बोल्दा नेपाली एक्सेंट हुनु, साउथ एसियन ब्राउन छाला हुनुले पनि नाटकमा भूमिका पउन सजिलो छैन। तरमलाई लाग्छ रंगमंचको यात्रा एउटा सङ्घर्षको यात्रा हो, यो आत्म खुसीको यात्रा पनि हो। अनि आफैलाई विश्वास गर्दै अघि बढिने यात्रा हो- जुन यात्रामा म नियमित हिडी रहेछु।बोल्दा एक्सेंट हुनु वा साउथ एसियन हुनुलाई मैले मेरो गहनाको रूपमा लिएको छु । यसमै खुसी भएर अर्को कुनै अडिसनको तयारी गर्छु नै।

अब रेडियोको कुरा, जहिले मैले नेपालमा रेडियो कर्म छोडेर अमेरिका आए, त्यतिखेर भर्खरै नेपालमा एफ एम रेडियोहरु जुर्मुराउदै थिए। अमेरिकामा- त्यसमा पनि न्यु योर्क आए​ पछि ​मलाई नेपालमा लागेको रेडियोको नशाले पनि ​सताई रह्यो। तर न्यु योर्क जस्तो ठाउँमा रेडियोमा बोल्ने त् सपना मात्र पनि देख्नु ठुलो जस्तो लाग्यो। एक दुई पटक यहाँको स्थानीय रेडियोमा पाहुना बनेर गए पछि त् मलाई रेडियोको नशा झन् बढ्यो। यहाँका केही रेडियोमा कार्यक्रम बनाउन त् भनेर बुझ्दा सोध्दा लाग्ने खर्च सुनेर सातो पुत्लो पनि उड्यो। तर पछि जब अनलाइन रेडियोको ज्ञान पाए पछि भने मैले आफ्नै आकाश भेटें, जहाँबाट मैले आफ्नो रेडियोको प्यास मेट्न लागे।

सन् २००७ देखि मैले आफ्नै खुसीको लागि हिमाली स्वरहरू नाम दिएर अनलाइनमा अनेक रेडियो कार्यक्रमहरू बनाउन लागे- जुन अझै निरन्तर छ र रही रहने छ । यो किन निरन्तर रहने छ भने यो मेरो खुसीको काम हो, मेरो विश्वासको काम पनि हो। मैले कसैले भनेर , कसैको लागि ,कुनै पैसा कमाउन गरेको काम होइन। सायद त्यसैले निरन्तर छ। सके सम्म नेपाली-अमेरिकन समुदायलाई हितकर हुने कुराकानी, नेपाली साहित्यका रचना, कथा कविता , र गीत सङ्गीतका कार्यक्रमहरू बनाउछु र अनलाइनमा राख्छु। अहिले हिमाली स्वरहरूको यो यात्रा सुरु भएको ८ वर्ष भएछ।

आफ्नो खुसी र आफै सँग विश्वास भएको काम गर्दा जति आनन्द आउछ सायद अरू काममा सायदै भेटिन्छ होला। दैनिकी अरु​ ​काममा व्यस्त भए पनि फुर्सदको समयमा गरिने रंगमंच र रेडियोको कामले मलाई खुसी दिएको छ। मैले बनाएका अनलाइन रेडियो कार्यक्रमहरू सुनेर खुसी हुनेहरु पनि ​ धेरै हुनु हुन्छ। शुभ चिन्तकहरु भन्छन् तपाईँले नेपाली-अमेरिकी समुदायको लागि निकै राम्रो काम गर्नु भएको छ तर म भन्छु- यो काम मैले मेरो खुसीको लागी गरेको काम हो, यसबाट समुदायले केही पायो भने यो थप खुसीको कुरा हो यो
खुसीको यात्रा निरन्तर छ।

#####

अमेरिकामा नेपालीका तीन अनुहार

दिन प्रतिदिन अमेरिकामा नेपाली आप्रवासीको आगमन बढ्दो छ। अहिले अमेरिकामा कति नेपाली होलान्? सही उत्तर पाउन गाह्रै छ। तर, अनुमानविदहरू भन्छन् अमेरिकामा नेपालीहरूको सङ्ख्या ३ लाख पुगिसक्यो। बिभिन्न उमेर समूहका यी नेपालीहरू नै अमेरिकन नेपाली समूदायका परिचय हुन्। जसलाई  म  तीन अनुहार- पुराना, युवा  र नयाँ अनुहारको रूपमा यसरी ब्याख्या गर्छु।

पुराना अनुहार- जो  आफ्नो उमेरको धेरै जसो समय नेपालमा बिताएर अमेरिका आए। पेशागत रूपले उनीहरू सरकारी कामदेखि विभिन्न सङ्घ संस्थामा आबद्ध भए। थोर बहुत नेपाली राजनीति, कलाकारिता र पत्रकारिताको आलाप पनि गाए, र विभिन्न समयमा अमेरिका आउने अवसर पाए र यतै घरजम गरेर बसे। यता आएर जे भेटिन्छ त्यही काम गर्न थाले। नेपालमा बन्दै गरेको परिचय, आत्म सन्तुष्टीका  सामाजिक प्रतिष्ठालाई झ्याप्पै छोडेर आउँदा उनीहरूलाई ‘सेल्फ आइडेन्टीटी’ को समस्या पर्‍यो।

त्यै आइडेन्टीटीलाई बचाई राख्न सामाजिक संस्थाका नाममा विभिन्न सङ्घ संस्था खोल्न लागे, त्यसैको मार्फतबाट आत्म खुसीको लागि विभिन्न पद र आफैले लिने दिने सम्मानको सृजना गर्न लागे।

अहिले जति पनि देखिएको सयौं सङ्घ संस्था र त्यसमा हुने झैँ झगडा छ, त्यही आत्मरतिको कारणले सृजित भएको देखिन्छ। उनीहरू दिनभरि ट्याक्सी चलाएर आए पनि वा तरकारी पसल वा रेस्टुरेन्ट वा कुनै ग्रोसरी पसलमा काम गरेर आए पनि नेपालीहरूको भीड भाडमा आफ्नो परिचय कुनै सङ्घ संस्थाको अध्यक्ष वा सो सरहको रूपमा दिन मन पराउँछन्। उनीहरू मध्ये धेरै अमेरिकन नागरिक भएर  पनि सार्वजनिक कार्यक्रममा बज्ने अमेरिकन राष्ट्रिय गीत बज्दा गर्वले छातीमा हात राख्न हिच्किचाउँछन्।

दोस्रो युवा अनुहार हुन्- जो अध्ययनको क्रममा अमेरिका आएर, अध्ययन सकेर विभिन्न पेसामा संलग्न छन्। उनीहरूलाई अमेरिकाको प्राय जस्तो अस्पतालमा  वा क्यालिफोर्नियादेखि न्यूयोर्कसम्मका कर्पोरेट कम्पनीहरू, वाल स्ट्रीटदेखि विश्व बैङ्क , हलिउडदेखि ब्रोडवे, फेशनदेखि कला, वाशिंटन पोस्टदेखि न्यु योर्क टाइम्ससम्ममा  सङ्घर्ष गरिरहेको भेट्न सकिन्छ। उनीहरू नेपाली समुदायमा दैनिकजसो देखिने भीडमा भेट्न सकिन्न न त कुनै सङ्घ संस्थाको चुनावी दौडमा।

सहभागी छन् यतैको राजनीति, विकास र निर्माणमा। उनीहरू जुलाई फोर्थको इन्डीपेन्डेन्स डे होस् वा अन्य कुनै होलिडे गर्वका साथ छातीका हात राखेर, अमेरिकन नेपालीको रूपमा मनाउछन् । र समय निकालेर नेपालको पुनर्निमाणमा नेपालकै कुनै सङ्घ संस्था मार्फत जुटीरहेको पनि भेट्न सकिन्छ।

तेस्रो, अनुहार हुन् नयाँ पुस्ताका अनुहार- जो सानैमा अमेरिका आएका वा यतै जन्मदै हुर्कदै गरेकाहरू। उनीहरू नेपालीभन्दा पनि अमेरिकन नेपालीको रूपमा हुर्कदै बढ्दै छन्। उनीहरूको साथीसंगी पनि  मिश्रित छन्। उनीहरू दुई वा दुई भन्दा बढी भाषा बोल्छन्। नेपालको कला संस्कृतिलाई उनीहरू आफ्नो स्कुल वा कलेजमा गहनाको रूपमा प्रस्तुत गर्छन्।

अमेरिकन राष्ट्रिय गीत पनि उनीहरुलाई कण्ठस्त छ। स्कुलमा होस् वा कुनै सार्वजनिक कार्यक्रममा उनीहरु गर्वका साथ राष्ट्रिय गीत गुण गुनाउँछ्न् पनि। र उनीहरुनै हुन् अमेरिकाको भविष्य पनि। सम्भबत: भोलि व्हाइट हाउसमा पुग्ने, वा एप्पल वा माइक्रोसफ्टको सीइओ बन्ने।

अन्त्यमा,यी तिनै अनुहार अमेरिकी नेपाली समुदायका परिचय हुन् तर सङ्ख्याको हिसाबमा पुराना अनुहारका नेपालीहरू धेरै भएकोले होला समुदायका  धेरै जसो गतिविधि उनीहरूकै स्वभावबाट प्रभावित भएको पनि देखिन्छ। तर, दुःखलाग्दो कुरा अहिले तिनै अनुहारबीच पुस्तान्तरणको एउटा खाडल जम्मा हुँदै छ। पुराना र युवा पुस्ताको बिचमा आर्थिक खाडल गहिरो हुँदै गएको छ।

नयाँ र पुराना अनुहारमा विचार, भाषा, धर्म र संस्कृतिको खाडल। अब उनीहरूले युवा अनुहार र  नयाँ अनुहारहरुबाट सिक्दै आफूलाई नेपाली-अमेरिकन  समुदायको राम्रो उदाहरणको रूपमा प्रस्तुत गर्न सके अलि कति भए पनि पुस्तान्तरणको यो खाली ठाउँ भरिन्थ्यो कि!

First Published on Setopati’s Global Edition

प्रकाशित मिति: बुधबार, आषाढ २, २०७२ २२:५९:२२

ऊ नेपाल फर्कँदै छ

मेरी आमाका ६ जना दिदी बहिनीमध्ये कान्छी सानिमाको बाहेक हरेकका छोरा वा छोरीहरू विदेशमा छन्।

त्यही मध्येको एउटा भाइ सरोज कोइराला नर्वेमा छ । ६ वर्षअघि उच्च शिक्षाको लागी नर्बे पुगेको भाइसँग अनलाइनमा आक्कल झुक्कल भेट हुन्छ।

कहिले अफ्रिकी देशहरू तान्जानिया, म्यडागस्करमा पढाई कै सिलसिलामा पुगेका  फोटोहरू फेसबुकमा देख्छु। कहिले  नेपालको  मुस्ताङदेखि मकवानपुरको रक्सिरंग वा भारतकै मध्य बिहार र नरकटिया गाउँहरू अध्ययन गरेर फेरि नर्वेनै फर्केको खबर पनि पढ्छु।

मलाई लाग्थ्यो मेरो भाइ पनि देशको कथा/व्यथा  बेचेर ठूलो मान्छे बन्ने भो!अस्ति दुई तिन हप्ता अगाडि कुराकानी हुँदा मलाई अचम्मित पार्दै ऊ भन्दै थियो,‘दाइ मेरो पढाई सकियो अब समरमा नेपाल फर्किन्छु।’

तर देश अहिले-महा भूकम्पको विपत्तिमा डुबीरहँदा उसले फेसबुकमा आफ्नू स्ट्याटस अपडेट गरेछ र  लेखेछ, ‘म समरमा होइन यही आइतबार मे ३  मा नेपाल फर्किदै छु। भूकम्पले अति प्रभावित गाउँ जान्छु र सकेको गर्छु।’

भाइको यो निर्णयमा खुसी नहुने सायदै होलान्। विदेशमा पढाई सकेकाहरू, ज्ञान आर्जन गरेर के गरौँ के गरौँ भएकाहरू वा श्रम गर्न पुगेकाहरू धेरै अब बिस्तारै देश फर्कने तयारी गर्दैछन् र भाइ सरोज त्यसैको एक उदाहरण बन्यो।

मेरो खुसीको सीमा रहेन। हालै भाइका साथीहरूले एक बिदाइको कार्यक्रम पनि आयोजना गरेछन् जसबाट उठेको सहयोग रकम र आफ्नै पकेटको खर्च जोडेर ५   हजार डलर बराबरको रकम लिएर भाइ आइतबार मे ३ मा नेपाल जादैछ।

उसको इच्छा छ- सिन्धुपाल्चोकको कुनै गाउँमा पुग्ने र राहतमा सघाउने। भाइले नर्बेजियन युनिभर्सिटी अफ लाइफ साइन्स (NMBU) मा मास्टर गर्दा  पढेको विषय पनि विकास, अनुसन्धान र योजना आदि विषय नै थियो र आफूले जानेको पढेको र बुझेको त्यो ज्ञान कर्मभूमिमा उपयोग गर्ने बेला यही हो भन्दै छ ऊ।

‘अहिले देशमा ठूलो विनास भएको छ र यो विनासलाई विकासको रूपमा अगाडि बढाउन हामी सबैको हातेमालो हुनु जरुरी छ। यसले गरेन उसले गरेन भनेर गुनासो गर्नूभन्दा म आफूले जे जानेको छु त्यही गर्छु।’

यो खबर पढ्दा भाइले देशको माटो टेकिसकेको हुनेछ सायद! ओर्लने बित्तिकै हेटौडामा रहेकी एक्ली आमाको अँगालोमा बाँधिन सायद जान भ्याउँदैन होला।

काठमाडौँमा ओर्लने वित्तिकै भूकम्पले त्रसित आफन्तहरूको अनुहारहरू हेर्दै ऊ एउटा आशाको त्यान्द्रो बनेर औषधि, केही लत्ता कपडा र खाना खजाना बोकेर आँशुमा डुबेको गाउँ सिन्धुपाल्चोकको उकालो लाग्नेछ।

यता परदेशमा  उसको एउटा दाइ भने आफूले सकेको सानो तिनो सहयोग सिवाय अरू केही गर्न नसकी सोसियल मिडियामा देखिएको विभत्स तस्बिर, आफ्नो  गाउँको भत्केको र चर्केको घर हेर्दै र यो विनाशकारी प्रलयमा ज्यान गुमाउनेहरू प्रति प्रार्थना सिवाय केही गर्न नसकि बसिरहेको छ।

शुभ यात्रा भाइ!

(न्यूयोर्कबाट सहदेव पौडेलले नर्बेबाट नेपाल फिर्दै गरेका सरोज कोइरालासँग गरेको कुराकानीमा आधारित)

First Published on Setopati’s Global Edition on

प्रकाशित मिति: आइतबार, बैशाख २०, २०७२ २०:०६:२७

नम्बरै नम्बर

जन्म देखिनै हामी विविध नम्बरहरू बोकेर हुर्किंछौँ, जस्तो कि आफू जन्मेको तिथि मितिको नम्बर। त्यसपछि जीवनका अरू थुप्रै नम्बरको परिबन्धमा हामी परिरहन्छौँ। धेरै नम्बरहरु मध्ये  एस.एल. सी.को  सिम्बोल नम्बर त् अझै पनि कतिलाई याद हुन सक्छ। तर, म यो लेखमा सम्झन नसके पनि थुप्रै पटक दोहोर्‍याई रहनुपर्ने  केही यस्ता नम्बरहरुको बारेमा लेख्दैछु, जुन  नम्बरहरुले अमेरिकामा हामी धेरैको परिचय बोकेको हुन्छ।

सुरु गरौँ पासपोर्ट नम्बरबाट। यो नम्बर भिसाको फारम भर्ने बेलामा दश चोटि चेक गरेर लेखिन्छ। भिसा दिएन भने यो मितिमा एम्बेसीले भिसा दिएन भनेर त्यो तिथीमिती बर्षौ वर्ष हाम्रो मानस पटलमा खेलिरहन्छ।

भिसा दियो भने त्यो मितिसँगै भिसा नम्बरले जीवनको अर्को बाटो तय गर्छ । त्यसपछि  बिस्तारै अरू थुप्रै नम्बरहरुको ओइरो लाग्छ, जस्तै हवाई जहाजको टिकट नम्बर, फ्लाईट नम्बर, गेट नम्बर र सिट नम्बर। यो बिचमा आफू  पुग्ने सहर वरपर बस्ने साथीभाइ आफन्तको फोन नम्बर र घर नम्बर कुनै सुरक्षित नोटमा बसिरहेको हुन्छ।

हवाई जहाजले जमिन टेक्नु अघि नै अब फेरि थुप्रै नम्बरहरु स्मरण गर्नुपर्ने हुन्छ आइ नाइन्टी फोर फारम भर्नको लागि। त्यस पछि प्राप्त हुने एलियन र आई नाईन्टी फोर नम्बरले जीवन भर पछ्याउने छ भनेर हामीले त्यतिखेर सोचेको पनि हुदैनौँ ।  त्यो  फारम भर्ने बेलामा फेरि एकपटक  पासपोर्ट, भिसा,  घर, जरुरी फोन नम्बर आदीको पुर्नस्मरण  गरिन्छ।

अब यताको माटो टेकीसकेपछि  झनै थुप्रै नम्बरहरुले दिन दिनै घेर्न सुरू गर्छ। सुरू हुन्छ  सोसियल सेक्युरिटी नम्बरबाट जुन एकदमै गोप्य राख्नुपर्छ भनेर सुनाईन्छ, ब्रतबन्ध गर्दा गुरुले सुनाएको गायत्री मन्त्र जस्तै।धेरै जसो महत्वपूर्ण कामहरू जस्तो कि स्कुलमा स्टुडेन्ट आईडीको रूपमा हाम्रो गायत्री मन्त्र कार्ड अर्थात् सोसियल सेक्युरिटीले  आइडी नम्बरको काम गर्छ, त्यसै गरी  बैक वा स्वास्थ्य बिमा वा अन्य जरुरी विषयमा जानकारी खोज्नुपर्यो भने पनि त्यही नम्बरको जरुरी पर्छ।

सोसियल सेक्युरिटी नम्बरसँगै अब स्टेट आइडी अर्थात् ड्राईभिङ्ग लाइसेन्स लिनुपर्छ,जसमा भएको नम्बरमा  हाम्रो परिचय लुकेको हुन्छ । त्यही आइडीमा हुने आफू बसेको सडक नम्बर , घर नम्बर, अपार्टमेन्ट नम्बर, जिप कोड नम्बर एक एक  सम्झनु  पर्छ। यी विविध नम्बरहरुको भिडमा एउटा सानो नम्बर यता उता पर्‍यो भने कथाले अर्कै मोड लिन सक्छ जसरी फोन गर्दा एउटा नम्बर गल्ती भयो भने फोन अन्त कतै पुग्छ।

यसो भन्दै गर्दा फोन नम्बर बिना त जीवन कसरी सम्भव होला र लिनु परि हाल्यो तर रमाइलो यो डिजिटल युगमा धेरैलाई अरूको नम्बर त् के आफ्नै फोन नम्बर पनि याद हुँदैन।

अनि  बैङ्क खाता खोल्दा फेरि नम्बर कै कुरो आउछ। फेरि पनि सोसियल सेक्युरिटी नम्बर, घर नम्बर आदिको प्रमाण बोकेर अरू थप नम्बर लिन्छौँ बैङ्कबाट। त्यसपछि आफ्नू वालेट  थरीथरीका डेबिट र क्रेडीट कार्डको नम्बरहरुले भर्न खोज्छौँ । अनि जागिर खान जानुभो इम्पलोयी आई डी नम्बर, काम गर्ने कोठामा छिर्ने बेलामा ढोकाको साँचोको रूपमा काम गर्ने अर्को सेक्युरिटी कि नम्बर, कप्यूटरमा इन्टरनेट लग इन गर्ने पासवोर्ड नम्बर। आफू नियमित चड्ने बस वा ट्रेनको नम्बर, काममा पुग्ने स्टेसनको सडक नम्बर!  खाना खान कुनै फास्टफुड रेस्टुरेन्टमा गयो भने पनि नम्बरको आधारमा खाना अर्डर गर्छौँ। अनलाइनमा केही सामान अर्डर गर्‍यो ,सामान कहाँ आइपुग्यो होला भनेर हेर्ने ट्रयाकिङ्ग नम्बर, अनि हप्ताभरी काम गरे पछि थापिने तलब पनि नम्बर मै आउछ। हरेक महिना तिरिने कोठा भाडा,अनेक थरी बिलहरु पनि  नम्बर  कै आधारमा तय हुने गर्छ।आफ्नै शरीरमा हेर्यौं भने पनि हाम्रो शरीर भरि पनि  नम्बरै नम्बर छ। आफूले लगाउने लुगाको नम्बर, जुत्ताको नम्बर, शरीरको नाप तौलको नम्बर ओहो नम्बरै नम्बर। यदि यतै कतै मरियो भने पनि  अस्पतालको कुनै कोठा नम्बरमा हामी लमतन्न पल्टिरहेकोहुने छौँ  कुनै एउटा लास नम्बर बनेर र त्यो दिनको तिथिमिति हुने छ हाम्रो अर्को नम्बर जुन आफन्तहरुले सम्झने छन् सायद! र यसरी समग्रमा आँखा चिम्लेर सोच्यो भने जिन्दगी नम्बरै नम्बरले घेरिएको  छ।

अन्त्यमा  यहाँ खेलको रूपमा पनि नम्बर नै प्रयोग हुन्छ। नम्बरले नै कहिलेकाही हामीलाई लखपति वा करोडपति  पनि  बनाइदिन सक्छ । क्यासिनोमा जानुहोस वा अमेरिकाको धेरै जसो राज्यहरूमा नम्बरको खेल हुन्छ -लोटरी- मेगा मिलियन, लोटटो, पावर बल आदि खेल्नुहोस नम्बरै नम्बर । एक दुई डलरमा किन्न पाइने लोटटो खेलहरू खेलेर केही नेपालीहरूले पनि  धनराशी जितेको खबर बेला बेलामा सुन्न पनि  पाइन्छ।

आफ्नू  जन्म मितिका नम्बर वा घर नम्बर , सोसियल सेक्युरिटीका नम्बर वा आफ्ना आफन्त वा पूर्व प्रेमिकाको जन्म दिनको नम्बर, वा फोन नम्बरकै केही अंक राखेर लोटरीको खेल खेल्दै आफ्नू  नम्बर आयो कि भनेर लोटरी मेसिन अगाडी नम्बर जाँच गर्न आफ्नो पालो कुरेर बसिरहेका  धेरै भेट्छु म न्यु योर्कमा । के थाहा नम्बरै नम्बरको यो सहरमा मेरो पनि लक्की नम्बर आउछ कि कुनै दिन ?

पहिलो पटक सेतोपाटीमा    प्रकाशित मिति: बिहिबार, बैशाख १०, २०७२ २०:२१:३१

 

ए भुकम्प, तैले के खोजेको?

बिनाशकारी भन्दा पनि बिकराल अर्को कुनै सम्बोधन हुन्छ भने त्यही भनेर सम्बोधन गर्छु म तँलाई। मलाई थाहा छ, तँ यो चिठ्ठी पढ्ने छैनस्,  तर म मेरो रिस, आवेग र छट्पटीलाई सान्तवना दिन यो चिठ्ठी लेख्दैछु।

यो तैँले के गरेको? भूकम्प भन्ने त सुटुक्क आएर सुटुक्क जाने भन्ने पढेको, बुझेको हो। तँ त आ’को आई छस्, हल्लाको हल्लाई  छस्। एक दिन होइन, दुई दिन होइन आ’को छ, आ’को छ। के गरेको यो? तेरो पनि त एउटा सीमा होला!

तँलाई के थाहा म अहिले देशको माटोमा छैन, तर त्यो भू कम्पनले मेरो मुटुको धड्कन बढ्छ, चिटचिट् पसिना आउँछ। उता घरबाट बाले ‘बाबु घर घर्लयाम्मै ढल्यो’ भन्दा म यता मुर्छा परेर लड्छु! उता आमाले ‘बा च्यापिनु भो’ भन्दा म यता श्वास फेर्न सक्दिनँ। श्रीमतीले ‘छोरी त माटोमा कता पुरिई’ भन्दा यता मेरो जमिन भासिन्छ। साथी ‘डाँडो खसेर मेरो पुरै गाउँनै गयो यार’ भन्दा मेरो के हाल के होला? भन त।

लाग्छ पोको पुन्तरो र कुनै हतियार लिएर तँ सँग लडाई गर्न आऊ! भष्म गरिदिऊ तँलाई। तैँले  के सोचेको छस् प्रकृतिको अनुपम मेरो देशलाई हिम पहिरोले कुरूप बनाउछु भन्ने ठानेको छस्? मेरा हज्जारौ दाजु भाइ, आमा बा, दिदी बहिनीलाई कता लगेर मेरो  देश रित्तयाउछु भन्ने सोचेको छस्? वर्षौ वर्ष पसिनाले जोडेको मेरा घरहरू ढालेर खण्डहर बनाउछु भनेको छस्?  सारा बालबालिकालाई टुहुरो बनाउँछु ठानेको छस्?

एउटा कुरा बुझ्,  मेरो देश सकिन्न, हाम्रा काख रित्तिनन!

ढालेर घरहरू सकिन्नन् ओत लाग्ने छानाहरु। रोएर सारा रात सकिदैनन हाम्रा आँशुहरू। पुर्खादेखि हाम्रो हारेको इतिहास छैन।

के सोचेको छस्, तैँले?

१० वर्षे घरेलु युद्धले बिस्तारै जुर्मुराउदै थियो देश। पलाउँदै थिए काटिएका रुखका हाँगाहरु, टालीदै थिए चर्किएका  स्कुलका भित्ताहरु, जोडिदै थिए तोडिएका आफन्तका नाताहरु! यो कस्तो फेरी क्रुर युद्ध छेडिस तैले?

फेरि तेरो प्रलयकारी आगमनले मेरा बाबु-नानीहरू पढ्न जाने स्कुल भत्क्यो। युद्धकालमा बिष्फोटनमा परेको सडक र पुल पुननिर्माण हुँदै थियो, पहाडै खसालिस्! युद्धको बेलामा घाइते भएका विष्णु र शिवका खुट्टाहरु जोडिदै थिए, फेरि भाचिस्।

तैँले गर्नु नगर्नु गरिस!

विछोड र पिडाका कति कथा सुनाऊ तँलाई? मेरो साथीको स-परिवारलाई एकै चिहान पारिस्, गाई बस्तुको स्याहार गर्ने मिठु दिदीलाई लगिस्। घर गोठको छानो छैन, जनावरहरुको किलो छैन। ‘पसे हुन्थ्यो हुन्थ्यो नि जङ्गल तिर यी भेडाबाख्रा र गाई भैंसीहरू,’ भन्नु हुन्छ रे मामा। तर उनीहरू पनि आफ्नू घर छोड्न मान्दैन रे!

यस्तो विष्मयकारी नाटक अहिले सम्म कसैले कल्पना पनि गरेको थिएनन्। तैँले यस्तो पीडा किन दिँदै छस्? कमजोर बनाउँछु भन्ने सोचेको भए सुन्-जति कमजोर थियौँ, थियौँ अब सबै कमजोरीहरू एकै मुठीमा बाँधेर बलियो हुँदै छौँ। एउटा छिमेकीको घर भत्केर अर्को छिमेकीको घरमा अडेस लागेको छ, यही त हो नि मर्दा पर्दाको उदाहरण। एउटा छिमेकीको अन्न नहुँदा अर्को छिमेकले सहयोग गरेको छ, मिलिजुली एकै  छानो मुनि  बिना कुनै जात धर्म बसेका छौँ। बिना कुनै राजनीतिक पूर्वाग्रह एकअर्कालाई सहयोग गरेका छौँ । डगमगाएको हाम्रो एकता फेरि एक ढिक्का भएको छ।

नसम्झी हामीलाई कमजोर र निरिह। उठाउछौँ फेरि धरहरा, बनाउछौँ फेरी मठ मन्दिर, बसाल्छौँ फेरि बस्तिहरु। लागेका यी काला बादलहरू अस्थायी हुन्, तलाई थाहा छ?

त्यो हट्छ र आउने छ सुनौलो बिहानी। शान्त बिहानी! डराएका छौँ, तर एकअर्काको भर छाडेका छैनौँ। निराशाका केही बादलहरू मडारिएको छ, तर आश मारेका छैनौ। त्यसैले भूकम्प, तैलेँ जतिसुकै हल्लाए पनि अब लड्दैनौं हामी! तेरो बल हाम्रो आगाडी अब कमजोर भै सक्यो। गर्नु अनुभव गर्‍यौँ, हामी थेत्तरा भैसक्यौं। तँ भूगर्भमा कतै विलीन भैजा!

चर्केका भत्केका घरहरू बनाउन दे, च्यापिएकाहरुलाई निकाल्न दे, बितेर जानेहरुको नाममा चिर शान्तिको कामना गर्न दे, स्कुल जानुपर्छ केटा केटीहरू उनीहरूलाई अब कुनै डर नदेखाई दे, निर्धिक्कसँग अब हामीलाई बाच्न दे!

उही मानसिक रूपमा प्रभावित

सहदेव पौडेल

न्यु योर्क

पहिलो पटक सेतोपाटीमा  प्रकाशित मिति: शुक्रबार, जेठ १, २०७२ १४:०४:३०

How NOT to Take Photos of Disaster Area If You Are There….Helping?

How NOT to Take Photos of Disaster Area If You Are There Helping?
1. BE sensitive DON’T be Selfie.
2. DON’T show the survivors’ poorness, find the power of them.
3. If you are distributing emergency aid, DON’T take photos of yourself giving these materials to survivors; HELP them to carry such materials.
4. Be a Part of their grief, DON’T be a part of your photos.
5. Tell their story; DON’T tell your story by photos.
6. Ask them if they are OK to take photos, DON’T just shot them.
7. Find the hope and emotion of the survivors DON’T manipulate their feelings.
8. DON’T take visually disturbing photos.
9. DON’T dramatize the scene, be real.
10. Last but not least,use your common sense and ethic and keep yourself in their shoes and think would you be happy if someone takes your photos if you are just trying to surviving such disaster??
Soothe THEM DON’T Shoot them!

By Sahadev Poudel

Image Source: http://bit.ly/1H9wHjo

A man takes a selfie at the historic Dharahara Tower, a city landmark, that was damaged in Saturday’s earthquake in Kathmandu, Nepal, Monday, April 27, 2015. A strong magnitude earthquake shook Nepal’s capital and the densely populated Kathmandu valley on Saturday devastating the region and leaving tens of thousands shell-shocked and sleeping in streets. (AP Photo/Bernat Armangue)
A man takes a selfie at the historic Dharahara Tower, a city landmark, that was damaged in Saturday’s earthquake in Kathmandu, Nepal, Monday, April 27, 2015. A strong magnitude earthquake shook Nepal’s capital and the densely populated Kathmandu valley on Saturday devastating the region and leaving tens of thousands shell-shocked and sleeping in streets. (AP Photo/Bernat Armangue)

मेरो धरहरा यस्तो बनोस्

मेरो धरहरा यस्तो बनोस् 
 
जे होला भन्ने डर थियो , त्यही भएको छ!
 
देशमा आइपरेको महा विपत्तिको शोकलाई अब शक्तिमा बदल्नु पर्छ। पुर्खाले बनाई दिएका धरोहरहरु भत्केका छन्, अब यो पुस्ताले पुनर्निर्माण गर्नु पर्छ। कयौँ गाउँ बस्तिहरु  तहस नहस भएका छन् , अब हामीले नमुना गाउँ बनाउनु पर्छ। धेरैले अनेक अनेक बिम्ब र गर्वका साथ सम्झने धरहरा धुलो भएको छ।   अब धरहरालाई आशाको बिम्ब मानेर  उठाउनु पर्छ,अनि धरहरा सँगै हाम्रो भत्त्किएका  घरगोठ, मन-मन्दिरहरु पहिले जस्तै गर्वका साथ अझै बलियो बनेर उठ्ने छन्।

Dharahara

 
धेरै नेपालीले आत्मियताका साथ “आफ्नो” मान्ने धरहरा उदहारणीय बनोस भन्ने मेरो पनि चाहना छ।संसारका थोरै  धरोहरहरु घुमेको र केही धरोहरहरुको बारेमा पढेको र बुझेको आधारमा मेरो पनि चाहना छ  धरहरा  नेपाली कला कौशलले भरिएको विश्व स्तरको नमुना बनोस। 
 
१८ तल्लाको बनोस  धरहरा 
 
हाम्रो पुस्ताले हामीलाई नौ तल्ले धरहरा दिएर गए ,अब आउने पुस्तालाई हामीले अझै अग्लो र सानदार १८ तल्लाको धरहरा बनाएर दिनु पर्छ।
 
धरहरा अब ठिंग उभिएको टावर मात्र नहोस् 
 
धरहराको १८ औं तल्ला बाट हिमालय शृंखला देख्न सकिने बाल्कोनी बनोस, त्यहाँ बसेर  कान्तिपुर नगरी हेर्दै , हिमाल शृंखलालाई  आँखा अगाडी सजाएर खान पिन गर्न मिल्ने पनि  बनोस।
स्मरणीय बगैचा र संग्रहालय बनोस 
 
भूकम्पमा परेर ज्यान गुमाउनेहरुको सम्झनामा सबैको नाम सहितको सुन्दर बगैचा बनोस। साथमा भूकम्पले तहस नहस परेका विविध सामग्री सहितको  जानकारी मूलक संग्रहालय बनोस!
 
धरहराको पुनर्निमाण र पुनर्निमाण पछि काम गर्न पहिलो प्राथमिकता भूकम्प बाट सिधै प्रभावितहरुलाई दिईयोस।
 
भन्नै पर्दैन अहिले उपलब्ध प्रविधि, ज्ञान र विज्ञानको प्रयोग गरेर सयौँ वर्ष सम्म गर्वका साथ देशको गौरव बनेर उभिने धरहरा बनोस।
सकिन्छ भने संकेतात्मक रूपमा भए पनि हरेक जिल्ला जिल्लामा पुरानो धरहराको एउटा सानो स्वरूप पनि बनोस!
 
 
परेको हामी सबै मिलेर ब्यहोरौला!
सहदेव पौडेल
न्यु योर्क