Tag Archives: कविता

📜

टिक् टिक् टिक्

बिस्तारै…बिस्तारै…

म बिलिन हुनेछु

तिम्रो सम्झनालयको धरातलबाट!
याद नआउन सक्छ,

कयौँ मिठा समयहरू,

ठेस नलागे सम्म 

त्यहि सम्झनालयका हिमालहरुमा!
फ्यालिने छ सायद,

मैले प्रयोग गरेका

कपडा,जुत्ता र चप्पलहरु,

मेटिने छ, 

मैले भित्तामा कोरेका सम्वादहरु,

पखालिने छ सबै कथाहरू,

चोख्याँईने छ ,

मैले टेकेको माटो!

पर्दा लगाईने छ,

मेरो नाट्यघरमा,

र म बगीरहने छु समय जसरी!
टिक् टिक् टिक्

बिस्तारै…बिस्तारै…

म बिलीन हुनेछु

तिम्रो सम्झनालयको धरातलबाट। 
बिछोडमा बगेको आँसु एकै छिनमा सुक्नेछ,

उदाउने छ अर्को सूर्य

त्यसै गरी उदाउने छन् 

चन्द्रमा र ताराहरू

ऋतुहरु त्यसै गरी बदलिने छन्,

चल्ने छ सुस्तरी सुस्तरी हुरी र बतास,

आफ्नै यात्रामा हिडिरहने छन् बादलहरु,

यात्रीहरु नयाँ नयाँ आए पनि उस्तै उस्तै लाग्नेछन्,

आकाशमा उडीरहने चराहरु जस्तै!
उस्तै रहने छ समय

बर्षौं देखि आँखा अगाडी बगिरहेको नदी जस्तै,

म बिस्तारै बिस्तारै विगत बन्नेछु,

विगत सँगै,

कहीँ कतै अलप हुनेछु

बादलका पाहाडहरु जसरी।
तप् तप् तप्

बिस्तारै… बिस्तारै…

म पग्लदै जाने छु,

तिम्रो सम्झनालयको बलेसीबाट!

🔸🔹🔸🔹

सहदेव पौडेल

न्यु योर्क 

मे १९,२०१६

साबधान

साबधान

सडक चोकमा होस्

या चिया पसलमा,

च्याप्प समात्न सक्छन्,

चिने जाने झैँ

बारम्बार फोन गर्न सक्छन्,

आफ्नै सम्झेर

डोर बेल ङ्रिङ्ग ङ्रिङग बजाउन सक्छन्,

त्यस्तै परे झ्याल ढोका ठटाउन पनि सक्छन्

जब सम्म जालमा पार्न सक्दैनन्

तबसम्म अट्याक् गरी रहन सक्छन्!
सपनाको डोली उचाली,

डरहरुको खाता बोकेर,

सुटकेश भित्र बल्छि रुपी कागजात बोकेर ,

सुटेट बुटेट लामा लामा जिब्रा भएका शेष नाग झैँ

तपाँईको मेहनत पसिनाले जोगाएको दुई चार सयमा आँखा गाड्ने छन् ,

सुनाउने छन् मिठा मिठा सपनाका कुराहरू

र बिस्तारै देखाउनेछन् तपाईँको डरलाग्दो भविष्य,

जस्तो कि…..
“तपाँई बिती हाल्नु भो भने परिवारको बिचल्ली हुन्छ,

सडकमा जान्छन्….दुख पाउछन्,

क्रोनिक रोग लाग्न सक्छ,

बिरामी परिएला,

यस्तो बेलामा कसले गर्छ ख्याल ?

खै तपाईँको बचत?

भविष्यको लागि जोहो गर्नुहोस,

हामी तपाईँको भविष्य सुरक्षित बनाउने छौँ
बरु,

बरु तपाईँ पनि हाम्रै बिजनेसमा आउनुहोस
छोडिदिनुस त्यस्ता काम,

१०/१२ घण्टा किन खट्ने

बसी बसी गनौला दाम,

ग्रोसरी स्टोर , रेस्टुरेन्ट

बिउटी सलुनमा किन खोज्नु ज्याला,

फ़ाइन्नन्सियल फ्रीडम रोज्नुस,

फाईनान्सियल फ्रिडम!


ठुला ठुला होट्लमा जाऔंला,

भ्याकेसन मनाऔंला,

लौ हेर्नुस त मेरो हप्ता भरीको तलब

तपाईँले वर्ष भरि कमाउनु भएको भन्दा धेरै छ ,

किन गर्नु हुन्छ काम ?

आउनुहोस मिलेर कमाऔ

सपना बेचौं सपना

डर त्रास बेचौं
आsss छोडिदिनुस नैतिकताका प्रश्नहरू

पहिले आफ्नो आर्थिक क्रान्ति गरौँ।

यस्तै अनेक अनेक इमोसनल ब्याल्कमेल गर्दै

चाट्ने छन् तपाईँको रगत पसिना,

र अन्त्यमा माग्नेछन् औंठा छाँप!

तपाँईको भविष्यको यस्ता चिन्तक,

अर्थशास्त्रको ज्योतिषी झैँ ,

सुनाउने छन् सुनौला सुनकेस्राका कथाहरू,

र सुताउने छन् आफ्नै फाइदाको ओच्छ्यानमा!
एवं रितले एजेन्ट जी आज्ञा गर्दै जानुहुने छ,

तसर्थ,

हे अज्ञानी हो!

जीवन बिमाको रसमलाईले सारालाई भुलाई

ती नन्दी भृन्गीहरुले आफ्नो स्वार्थ अनुसार

लगाउने छन् जीवन बिमाको ईन्सुलिन,

र तपाईँ बाँचुन्जेल भन्नुहुने छ ऐय्या ऎय्या!!

****

जीवन बिमा सम्बन्धि जनचेतना बढाउने उदेश्यले लेखिएको कविता “साबधान”
कविता/स्वर/भिडियो:सहदेव पौडेल
संगीत: चेरीयोट अफ फायर

 

मेरो जिन्दगीको कथा

मेरो जिन्दगीको कथा

मेरो जिन्दगीको कथा बेचौं भन्छ एउटा लेखक,
नाफा आधा आधा नाम आफ्नै लेखौं भन्छ एउटा लेखक ।

चिसा रुखहरु

January 14, 2011
चिसा रुखहरु

चिसा रुखहरु,

सडक किनारमा लस्करै लस्करै हिडी रहेछन,

“यतै कतै जरो गाड्न पाए नि हुन्थ्यो नि,”

सुसाउछन रुखहरु!

छरपस्टिएका हाँगाहरु

जिन्ग्रिंग परेको स्वरूप,

पातहरु छैन,

चरा चुरुन्गिका बासहरु छैन,

चिसा रुखहरु

ठिंग उभिएर लस्करै हिडी रहेछन!

छाया बन्नु,

माया पाउनु,

अर्कै ऋतुको कथा होला!

चिसा रुखहरु ,

जल्दैनन,

बल्दैनन,

बोल्दैनन रुखहरु

त्यसैले सायद कसैले

बुझ्दैनन् ..

कहिले होला

चिसा रुख हरुमा बशन्त आउने

र एउटा निलो आकाश मुनि,

हरियो चौरमा,

सुशेली काट्दै,

चरा चुरुंगी संग प्रीत साट्दै,

छहारी दिने दिन!

by Sahadev Poudel,

New York

के लेख्छौं भाग्यमा

के लेख्छौं भाग्यमा, हाम्रै हातमा कलम हुन्छ,

के लेख्छौं भाग्यमा,
हाम्रै हातमा कलम हुन्छ,
दुख्यो भने,बिसोक  पार्ने,
हाम्रै हातमा मलम हुन्छ !

कहाँ पुग्छौं यात्रामा,
हाम्रै पाउमा तय हुन्छ.
बाँच्न जाने जिन्दगी ,
हर पलमा जय हुन्छ !

के देख्छौं संसारमा,
हाम्रै नजरको भर हुन्छ,
जान्यौं भने छुनलाई ,
आकास कहाँ पर हुन्छ!

के पाउछौं अन्त्यमा,
हाम्रै कर्मको फल हुन्छ,
मिल्यौं भने खडेरीमा,
खेतबारीमा जल हुन्छ !

के जित्छौं लडाईंमा
हाम्रै स्वार्थको राज हुन्छ
जित्यो अरुले भन्दैमा,
हाम्रो कहाँ लाज  हुन्छ !

के सोच्छौं मनमा,
हाम्रै बिचारको भार हुन्छ,
बुझ्यौं भने सत्यलाई,
अँधेरो आफै पार हुन्छ !
अस्तु :
सहदेव पौडेल
न्यु योर्क
फेब्रुवरी २१,२०१०

म झार हु

म झार हु

 

घास् सेउला हु

खेतको हिलो हु

फुंग उड्ने धुलो हु

मनको अमिलो हु..

 

 

म आशाको भारी

भबिष्यको भकारी हु

भत्केको चौतारी हु..

र म मन झैँ पट पट फुटेको

एउटा यात्रीको खाली खुट्टा हु!

By Sahadev