Tag Archives: नेपाली कविता

📜

टिक् टिक् टिक्

बिस्तारै…बिस्तारै…

म बिलिन हुनेछु

तिम्रो सम्झनालयको धरातलबाट!
याद नआउन सक्छ,

कयौँ मिठा समयहरू,

ठेस नलागे सम्म 

त्यहि सम्झनालयका हिमालहरुमा!
फ्यालिने छ सायद,

मैले प्रयोग गरेका

कपडा,जुत्ता र चप्पलहरु,

मेटिने छ, 

मैले भित्तामा कोरेका सम्वादहरु,

पखालिने छ सबै कथाहरू,

चोख्याँईने छ ,

मैले टेकेको माटो!

पर्दा लगाईने छ,

मेरो नाट्यघरमा,

र म बगीरहने छु समय जसरी!
टिक् टिक् टिक्

बिस्तारै…बिस्तारै…

म बिलीन हुनेछु

तिम्रो सम्झनालयको धरातलबाट। 
बिछोडमा बगेको आँसु एकै छिनमा सुक्नेछ,

उदाउने छ अर्को सूर्य

त्यसै गरी उदाउने छन् 

चन्द्रमा र ताराहरू

ऋतुहरु त्यसै गरी बदलिने छन्,

चल्ने छ सुस्तरी सुस्तरी हुरी र बतास,

आफ्नै यात्रामा हिडिरहने छन् बादलहरु,

यात्रीहरु नयाँ नयाँ आए पनि उस्तै उस्तै लाग्नेछन्,

आकाशमा उडीरहने चराहरु जस्तै!
उस्तै रहने छ समय

बर्षौं देखि आँखा अगाडी बगिरहेको नदी जस्तै,

म बिस्तारै बिस्तारै विगत बन्नेछु,

विगत सँगै,

कहीँ कतै अलप हुनेछु

बादलका पाहाडहरु जसरी।
तप् तप् तप्

बिस्तारै… बिस्तारै…

म पग्लदै जाने छु,

तिम्रो सम्झनालयको बलेसीबाट!

🔸🔹🔸🔹

सहदेव पौडेल

न्यु योर्क 

मे १९,२०१६

Advertisements

साबधान

साबधान

सडक चोकमा होस्

या चिया पसलमा,

च्याप्प समात्न सक्छन्,

चिने जाने झैँ

बारम्बार फोन गर्न सक्छन्,

आफ्नै सम्झेर

डोर बेल ङ्रिङ्ग ङ्रिङग बजाउन सक्छन्,

त्यस्तै परे झ्याल ढोका ठटाउन पनि सक्छन्

जब सम्म जालमा पार्न सक्दैनन्

तबसम्म अट्याक् गरी रहन सक्छन्!
सपनाको डोली उचाली,

डरहरुको खाता बोकेर,

सुटकेश भित्र बल्छि रुपी कागजात बोकेर ,

सुटेट बुटेट लामा लामा जिब्रा भएका शेष नाग झैँ

तपाँईको मेहनत पसिनाले जोगाएको दुई चार सयमा आँखा गाड्ने छन् ,

सुनाउने छन् मिठा मिठा सपनाका कुराहरू

र बिस्तारै देखाउनेछन् तपाईँको डरलाग्दो भविष्य,

जस्तो कि…..
“तपाँई बिती हाल्नु भो भने परिवारको बिचल्ली हुन्छ,

सडकमा जान्छन्….दुख पाउछन्,

क्रोनिक रोग लाग्न सक्छ,

बिरामी परिएला,

यस्तो बेलामा कसले गर्छ ख्याल ?

खै तपाईँको बचत?

भविष्यको लागि जोहो गर्नुहोस,

हामी तपाईँको भविष्य सुरक्षित बनाउने छौँ
बरु,

बरु तपाईँ पनि हाम्रै बिजनेसमा आउनुहोस
छोडिदिनुस त्यस्ता काम,

१०/१२ घण्टा किन खट्ने

बसी बसी गनौला दाम,

ग्रोसरी स्टोर , रेस्टुरेन्ट

बिउटी सलुनमा किन खोज्नु ज्याला,

फ़ाइन्नन्सियल फ्रीडम रोज्नुस,

फाईनान्सियल फ्रिडम!


ठुला ठुला होट्लमा जाऔंला,

भ्याकेसन मनाऔंला,

लौ हेर्नुस त मेरो हप्ता भरीको तलब

तपाईँले वर्ष भरि कमाउनु भएको भन्दा धेरै छ ,

किन गर्नु हुन्छ काम ?

आउनुहोस मिलेर कमाऔ

सपना बेचौं सपना

डर त्रास बेचौं
आsss छोडिदिनुस नैतिकताका प्रश्नहरू

पहिले आफ्नो आर्थिक क्रान्ति गरौँ।

यस्तै अनेक अनेक इमोसनल ब्याल्कमेल गर्दै

चाट्ने छन् तपाईँको रगत पसिना,

र अन्त्यमा माग्नेछन् औंठा छाँप!

तपाँईको भविष्यको यस्ता चिन्तक,

अर्थशास्त्रको ज्योतिषी झैँ ,

सुनाउने छन् सुनौला सुनकेस्राका कथाहरू,

र सुताउने छन् आफ्नै फाइदाको ओच्छ्यानमा!
एवं रितले एजेन्ट जी आज्ञा गर्दै जानुहुने छ,

तसर्थ,

हे अज्ञानी हो!

जीवन बिमाको रसमलाईले सारालाई भुलाई

ती नन्दी भृन्गीहरुले आफ्नो स्वार्थ अनुसार

लगाउने छन् जीवन बिमाको ईन्सुलिन,

र तपाईँ बाँचुन्जेल भन्नुहुने छ ऐय्या ऎय्या!!

****

जीवन बिमा सम्बन्धि जनचेतना बढाउने उदेश्यले लेखिएको कविता “साबधान”
कविता/स्वर/भिडियो:सहदेव पौडेल
संगीत: चेरीयोट अफ फायर

 

यो वर्ष पनि

 

यो वर्ष पनि,
बिदा मनाउन घर हिडेकाहरु घर पुगेनन्,
स्कुल गएकाहरु फर्केनन्,
परदेशिएकाहरु फिरेनन्​!​

यो बर्ष पनि,
देशको अशान्ति बाट टाढिएर
अप्ठेरो बाटो हुँदै,
सपनाको फेरी चढेर,
खुल्ला आकाशको खोजीमा हिडेकाहरु,
सागर बिचमै डुबे।
किनारामा पुग्न नपाउदै,
धेरैको जहाज़ डुब्यो।

यो बर्ष पनि,
देश हरायो,
परिवेश हरायो,
बम, बारुद,र गोलीको
भुङ्ग्रोमा सर्वस्व खरानी भयो।
बलात्कार र हिंसाका रगत
यो वर्ष पनि लत्पतियो,
रङ्ग, जात, र धर्मको​ रगत
यो वर्ष पनि ​पोतियो,
​अनेक अनेक शिर्षकहरुमा
यो वर्ष पनि थुप्रै हामीहरू बेअर्थ
मरी रह्यौं..मरी रह्यौं..
****

सहदेव पौडेल
न्युयोर्क
डिसेम्बर २९,२०१४

 

 

/home/wpcom/public_html/wp-content/blogs.dir/a17/11876352/files/2014/12/img_5680.jpg

तिम्रो र मेरो कथा

तिम्रो र मेरो कथा

(न्यु योर्क बाट बोस्टनमा गएर त्यहाँ आयोजित “सिर्जना उत्सब” मा सुनाएको कविता )

बोस्टन,
तिमीलाई लाग्ला,
म गगन चुम्बी भवनहरू हुँ,
२४सै घण्टा जाग्राम बस्ने उजेलो सहरको,
वाल स्ट्रिट वरपर सुकिला मुकिला लुगा लागाउने एक प्रतिशत हुँ!

तिमी सोचौंली,
म टाइम्स स्क्वाइरको रसरंगमा डुबुल्कि मार्ने ब्रोड बे को स्टार हुँ
सेन्ट्रल पार्कमा स्वतन्त्रताको चुम्बनमा लीन हुँदै,
ब्रुक्लिन ब्रिज, एम्पायर स्टेट बिल्डिंग ,
र लेडी लिबर्टी घुम्ने फिरन्ते वा
स्याक्स, बर्गड्रोफ गुडम्यान, वा ब्लॊमिङ्ग डेलमा
किनमेल गर्ने सेक्स एंड द सिटिका सेता पात्रहरु हुँ।

तिम्रो र मेरो कथा

तिमीलाई के थाहा? बोस्टन,
म त न्यूनतम ज्यालामा सपनाको जो हो गर्ने एक पहरेदार हुँ ,
महँगा महँगा रेस्टुरेन्टका बेञ्जनहरुको बासना सुङ्ग्दै
टेबुल टेबुलमा सेवा दिने बटलर हुँ!

सडक कुनाको ठेला पसलमा,
पानी, सोडा, चिकेन ओभर राइस र हट डगमा जीवन धकेल्दै,
अप टाउन, डाउन टाउन देखि एअरपोर्ट सम्म ट्याक्सीमा
सुन जस्तै ज्याला खोज्ने मै हुँ ।

हँसिला रसिला देखिने न्यु योर्कका सुन्दरीहरुको शृंगार हुँ म !

अग्ला अग्ला भवनहरुको कुनै कोठामा,
लाला बालाको स्याहार सम्भार गरी रहेको भेट्ने छौँ मलाई,
तिमीले सुने पढेको घरेलु कामदार माथिको,
यौन शोषणको समाचारको पीडक पात्र,
वा रङ्गको आधारमा ओम लेखेको झोलामा
खानतलासी गर्दै शंकास्पद नजरले हेर्ने,
र कहिले गो बयाक टु योर कन्ट्री मदर फरर भन्दै,
आँखा अगाडी बन्दुक तेर्साउदै ग्रोसरी स्टोरमा रगताम्य हुने मै हुँ

बोस्टन,
सायद फरक छैन होला
तिम्रो र मेरो कथा
किन भने
म पनि त तिमी जस्तै
बृदाश्रम जस्तै देखिने देशबाट
विदेशमा पलाउन सकिन्छ कि भनेर
डी भीको दयामा
एसाइलमको स्वीकृतिमा
मरुभूमिबाट ज्यान हत्केलामा राखेर
यो भवसागरमा प्रवेश गरेको एलियन हुँ !

हिड्दै छ पाइला मेट्दै छ- को म एक फगत प्रतिबिम्ब हुँ!

Photo/Words by Sahadev Poudel

New York 

बाछिटा

बाछिटाले मन भिजाउछ,
भिजेको मन सुकाउन ,
एक चिम्टी घाम,
औधी  प्यारो हुन्छ,
तर त्यहि घाम कहिले ,
बादलले छोपी दिन्छ,
पाहाडमा ठोक्की  दिन्छ,
आशै आशमा गोधुली बनिदिन्छ,
र  रात बन्दै  बिलाउछ!

फेरी सम्झनको वर्षा हुन्छ,
बाछिटाले मन भिजाउछ ..
भिजेको मन सुकाउन ,
पात झैँ सुसेलिंछ मन!

बर्षौ बित्छ,
ऋतु बदलिन्छ
मन   पहेलिन्छ,
गड’यांग  गुडुंगका साथ्

र फेरी वर्षा हुन्छ ..
बाछिटाले मन भिजाउछ,
बाटो बिराउदै पानी
मन  भित्र पस्छ
बाढी पहिरो जान्छ
मन भत्किन्छ
थाम्न सक्दैन बाँधहरुलाई,
पानीका सीमालाई र
मनै बगाउछ!
तेस्पछी भयानक सुन्यता छाउछ!
~सहदेव पौडेल
न्यु योर्क