Tag Archives: सहदेव पौडेल

📜

टिक् टिक् टिक्

बिस्तारै…बिस्तारै…

म बिलिन हुनेछु

तिम्रो सम्झनालयको धरातलबाट!
याद नआउन सक्छ,

कयौँ मिठा समयहरू,

ठेस नलागे सम्म 

त्यहि सम्झनालयका हिमालहरुमा!
फ्यालिने छ सायद,

मैले प्रयोग गरेका

कपडा,जुत्ता र चप्पलहरु,

मेटिने छ, 

मैले भित्तामा कोरेका सम्वादहरु,

पखालिने छ सबै कथाहरू,

चोख्याँईने छ ,

मैले टेकेको माटो!

पर्दा लगाईने छ,

मेरो नाट्यघरमा,

र म बगीरहने छु समय जसरी!
टिक् टिक् टिक्

बिस्तारै…बिस्तारै…

म बिलीन हुनेछु

तिम्रो सम्झनालयको धरातलबाट। 
बिछोडमा बगेको आँसु एकै छिनमा सुक्नेछ,

उदाउने छ अर्को सूर्य

त्यसै गरी उदाउने छन् 

चन्द्रमा र ताराहरू

ऋतुहरु त्यसै गरी बदलिने छन्,

चल्ने छ सुस्तरी सुस्तरी हुरी र बतास,

आफ्नै यात्रामा हिडिरहने छन् बादलहरु,

यात्रीहरु नयाँ नयाँ आए पनि उस्तै उस्तै लाग्नेछन्,

आकाशमा उडीरहने चराहरु जस्तै!
उस्तै रहने छ समय

बर्षौं देखि आँखा अगाडी बगिरहेको नदी जस्तै,

म बिस्तारै बिस्तारै विगत बन्नेछु,

विगत सँगै,

कहीँ कतै अलप हुनेछु

बादलका पाहाडहरु जसरी।
तप् तप् तप्

बिस्तारै… बिस्तारै…

म पग्लदै जाने छु,

तिम्रो सम्झनालयको बलेसीबाट!

🔸🔹🔸🔹

सहदेव पौडेल

न्यु योर्क 

मे १९,२०१६

कथा यात्राको अन्तिम भाग

कथा यात्राको अन्तिम भाग
************************
उ नन्दन नै थियो|योंकरमा केही ड्रग्स डिलर ग्यांग बिच भएको आपसी गन फाइटमा निर्दोष नन्दनले ज्यान गुमाउनु पर्‍यो !मध्य रातमा पुलिसले नन्दनको फोन सम्पर्कमा आएको अन्तिम व्यक्तिको आधारमा बिन्दालाई सम्पर्क गर्‍यो र रातिनै सेन्ट जोन्स हस्पिटलमा आउन अनुरोध गर्यो|दिउसो भर्खर त्यति मायाले छुटिएको बिन्दालाई यो समाचार पत्यारिलो लागेन|उनले यो खबर कसरी सहन सकिन होला!

भोलि पल्ट बिहानै हस्पिटलमा एउटा शून्यता छाएको थियो|हस्पिटलमा निर्मलको साथमा नेपाली समुदायका एक दर्जन जस्तो सदस्यहरू जम्मा भएका थिए साथमा बिन्दाले काम गर्ने बोस पनि थियो|बिन्दाको संसार चुर्लुम्म डुबेको थियो|उनका आँखा निरन्तर रसाई रहेका थिए|बिसेष गरेर विदेशमा नेपालीको निधन हुदा देशका पत्रपत्रिकाले महत्वका साथ समाचार छाप्छन|नन्दनको निधनको खबर बिस्तारै सबै तिर फैलियो|केहि सामाजिक संस्था मिलेर नन्दनको अन्तिम संस्कारको लागी तयारी पनि गरे|सहयोगका लागी सामाजिक सञ्जाल मार्फत सबै नेपालीहरुलाई आग्रह गरियो|यो दुखमा बिन्दालाई सबैले खुल्ला हृदयले सहयोग गरे तर बिन्दाको अगाडी उभिएको अजिंगरको पहाडको पीडाले उनलाई मात्र गलायो|

दुर्घटनाको तिन दिन पछि हिन्दु परम्परा अनुसार न्यु योर्ककै एक फ्युनरल होममा अन्तिम संस्कार संम्पन भयो|तर निर्दोष नन्दन जसले बिनाकारण ड्रग्स डिलरहरुको झगडाको बिचमा ज्यान गुमाए उसको न्यायको लागी कसैले कुनै आवाज निकालेनन|न्यु योर्कको स्थानीय टि.भी. र पत्र पत्रिकामा हत्या भयो,मारिए भनेर समाचार आयो तर न्यायको लागी कुनै अधिकार बादी संघ सस्थाले आवाज निकालेनन्|शहरका ठुला ठुला पत्रिका र पत्रकार,लेखकहरुको नजरमा यो दुर्घटना अर्को एउटा दुर्घटनाको रेकर्डको रूपमा दर्ता भयो|

view from Brooklyn bridge Park

सहर उस्तै छ,मान्छेको भीड भाड उस्तै छ,सहरमा दौडी रहने सवारी साधन उस्तै छन,लाग्छ यो शहरमा कसैलाई केही भएकै छैन|यो दुर्घटना पछि बिन्दाले नियमित काम गर्न सकिनन्|उनी हरबखत टोलाउथिन|के गर्ने कसो गर्ने केही सोच्नै सकिनन्|शहरमा चिसो दिन प्रतिदिन बढ्दै गयो बिन्दाको मन जस्तै|धेरै दिन पछि बिन्दा कोठा बाट बाहिर निस्किन,बाटो किनाराका रुखहरु पात झरेर खिन्ग्रिंग परेको जस्तो देखिन्थ्यो उनलाई ती रुखहरु आफू जस्तै लाग्यो |न्यु योर्कमा ओर्लदा उनलाई सहर कस्तो उल्लाशमय लागेको थियो|टाइम्स स्क्वाएरमा रमाई रमाई घुमेका ती क्षणहरु आँखा वोरिपरी घुमे,त्यो दिन उनी एक्लै अस्तिन नन्दन सँगै घुमेका ठाउँहरुमा हिडीन|शहरको झिलिमिली उनलाई खोक्रो लाग्यो|माया गर्ने मान्छे नहुदा सारा सुन्दरता केवल एउटा सुनसान बगर जस्तो अनुभव भयो बिन्दालाई! उनलाई सहरमा न्यानो अनुभव भएन|फर्केर कोठामा आईन र नन्दनले टेलिफोनमा रेकर्ड गरेको विभिन्न आवाजहरु सुन्न थालिन| आवाजमा नन्दन यसरी बोली रहेको थियो|

“बिन्दा,तिमी संग छुटिनु भनेको रुखबाट पातहरु अलग भए जस्तो लाग्छ|मलाई आज किन किन आफू पातहरु बिनाको रुख जस्तै लाग्यो|३ महिना पछि तिमी संग भेटेर छुटीदा बसमा मलाई यो भावनाले निकै सतायो|
“चिसा रुखहरु,
सडक किनारमा लस्करै लस्करै हिडी रहेछन्,
“यतै कतै जरो गाड्न पाए नि हुन्थ्यो नि,”
सुसाउछन रुखहरु!
छरपस्टिएका हाँगाहरु
जिन्ग्रिंग परेको स्वरूप,
पातहरु छैन,
चरा चुरुन्गिका बासहरु छैन,
चिसा रुखहरु
ठिंग उभिएर लस्करै हिडी रहेछन्!
छाया बन्नु,
माया पाउनु,
अर्कै ऋतुको कथा होला!
चिसा रुखहरु ,
जल्दैनन,
बल्दैनन,
बोल्दैनन रुखहरु
त्यसैले सायद कसैले
बुझ्दैनन् ..
कहिले होला
चिसा रुख हरुमा वसन्त आउने
र एउटा निलो आकाश मुनि,
हरियो चौरमा,
सुशेली काट्दै,
चरा चुरुंगी संग प्रीत साट्दै,
छहारी दिने दिन!”

बिन्दा,सायद त्यो दिन चाडै आउने छ र हामी पातहरु जसरी छुटिनु पर्ने छैन ,हामी रुखका हाँगाहरु जसरी एकार्कामा सधैँ समाहित हुने छौ|”

बिन्दा,साँझमा निभेको दियो जसरी कोठामा आईन|र कोठाका साथीहरू लाई आफू अर्को साता नेपाल जान लागेको जानकारी गराईन|
अमेरिका आएको ६ महिना पछि बिन्दा काठमाडौँ फर्किन|जस्तो छोडेर आएको उस्तै काठमाडौँ ! काठमाडौँमा पनि उस्तै चिसो महसुस गरिन उनले |नजिकै एउटा होटलमा आफ्नू समान बिसाए पछि उनी पशुपति गइन् र नन्दनको अस्तु बागमतिमा बगाइन्| कुनै दिन नन्दनले भनेको थियो ..अमेरिकामा केही समय दुख गरौला,अलि अलि पैसा कमाऔला र बागमतिमा गएर दुख बगाऔला|बिन्दा बागमतीको किनारमा टोलाई रहिन ,वोरी परी पूजा पाठ गरेको घन्ट बजेको ,भजन किर्तनको आवाज, अनि अलि पर कोही रोएको जस्तो आवाजले पशुपति नाथ क्षेत्र गुन्जायमान थियो|
**********************************
सहदेव पौडेल
न्यु योर्क

कथा यात्रा भाग ७

न्यु योर्क वरिपरिको कथा।आफ्नै परिवेश,आफ्नै दुखेसो र आफ्नैहरुको कथा-कथा यात्रा भाग ७
सहदेव पौडेल
न्यु योर्क
……
समय बित्न कति नै पो लाग्दो रहेछ र !रुखका पातहरु हरिया भएको बेलामा न्यु योर्क ओर्लेका थिए बिन्दा र नन्दन र ओर्लेको ३ हप्तामै अआफ्नु कर्मको बाटो पछ्याउदै उनिहरु हिडी रहेछन र न्यु योर्कमा दौडने चौबिस घन्टे रेलगाडी जस्तो दौडी रहेछन|शहरमा मान्छेहरु निरन्तर त्यसरी नै दौडी रहेछन जस्तो हिजो दौडेका थिए तर पनि रुखका पातहरुले रंग फेरेका छन्,मन बिरानो जस्तो भएको छ|एकै राज्यमा भएर पनि फोनको भरमा माया प्रेमलाई जोगाउदै नन्दन र बिन्दा दुख सुख साटा साट गरी रहेछन|
यता निर्मलले आफ्नु मायालु जेनी संग बसो बास गर्न सुरु गरेको छ| त्यो मिठो सम्बन्धलाई उनीहरुले आज कोर्टमा गएर बैबाहिक जीबनमा परिणत गर्दै छ|यहि खुसीमा साथ् दिन नन्दन र बिन्दा कामबाट समय निकालेर न्यु योर्क शहर आइपुगेका छन्|बिहान १० बजे तिर कोर्टमा बिबाह दर्ता गरे पछी बिन्दा र नन्दनले जेनी र निर्मल दुबैलाई बधाई दिए|त्यस पछी दुवै जोडी फेरी भेटघाट गर्ने बाचा सहित छुट्टिए|

बिन्दा र नन्दन हड्सन नदीको किनारै किनार निकै बेर सम्म हिडी रहे|पर स्ट्याचु अफ लिबर्टी सधै झैँ स्वतन्त्र उभिरहेकी थिइन्|
तिन महिना सम्मको बिछोडको पीडालाई प्रेमले शान्त पार्दै थिए| दुबैलाई यो तिन महिनाको बसाई कतै जेलमा बसे जस्तो भो|दिनभरी आआफ्नु कामको दुख सुख आदान प्रदान गरे|काम गरेको तिन महिना भए पनि आफुले बल्ल तिन हप्ताको तलब मात्र बुझेको,छ सय दिन्छु भनेर सुरुमा भने पनि पछी घरमा बसेको ,यता उता खर्च काटेर चार सय मात्र दिएको र काम पनि रातीको मात्र भएकोले निकै गार्हो भएको दुखेसो पोख्यो नन्दनले|अब बाकी पैसा नउठे सम्म छाडेर हिड्न पनि नसक्ने र यसरी छुटिएर बसेर साध्य नहुने भन्दै अब यतै न्यु योर्क शहरमै फर्केर आउने र जे जस्तो काम पाउछ गर्ने भन्ने आफ्नु विचार सुनायो बिन्दालाई|जाडोको मौसममा अत्याधिक हिउँ पर्ने भएकोले बाहिर काम गर्न पनि निकै गार्हो हुने भएकोले पनि अब जाती सक्दो चाडो पैसा उठाएर हुन्छ की के गरेर हुन्छ अब संगै बस्ने आफ्नु योजना सुनायो नन्दनले|

20120623-222732 2

बिन्दाले भने त्यति आफ्नु दुखेसो सुनाईनन तर नन्दनले अब फर्केर संगै बस्ने भने पछी धेरै खुसी भने भईन्|आफुलाई साहुले पैसा समयमा दिए पनि काम भने बच्चा हेर्ने मात्र नभएर घरायसी सबै काम गर्नु पर्ने, बच्चाको होम वोर्क पनि गर्दिनु पर्ने आदि काम भएकोले निकै थाकिने र बच्चाको आमा बुबा दुवै आफ्नु काम देखि खुसी भएको कुरा सुनाइन्|तर यसरी छुट्टिएर बसेर राम्रो नगरेको, पैसा भन्ने बिस्तारै कमाइन्छ यसरी परदेशमा, एकै राज्यमा पनि छुट्टिएर बस्नु भनेको आफुले आफैलाई सजाय दिएको जस्तो भो त्यसैले हामी टाढाको काम छोडेर संगै जे जस्तो भेटिन्छ त्यहि गरौ भन्ने आफ्नु दुखेसो नन्दनलाई सुनाइन्|

यो तिन/चार महिनाको अबधिमा उनीहरुले शहरको बारेमा,कामको बारेमा धेरै कुरा बुझी सकेका छन्|अब आफुहरु जे गर्न पनि तयार भएको अनुभब भएको छ नन्दन र बिन्दालाई| दुख सुखको कुरा गर्दा गर्दै साँझ झिमिक्क परी हाल्यो|चाहेर पनि तिन महिना पछीको यो रात संगै बिताउन पाएनन् नन्दन र बिन्दाले|अझ कति सुख दुखको पोको फुकाउनु थियो होला त्यसै रह्यो|
साँझ फिर्ने बेलामा नन्दनले निर्मललाई फोन गर्यो र फेरी बधाई दियो|आफ्नु कामको अनुभब प्राय जसो निर्मललाई उसले सुनाइ राख्थ्यो र फेरी आफुहरु न्यु योर्क शहरमै फर्कने आफ्नु योजना सुनायो|पोर्ट अथुरिटि बस टर्मिनलमा छुटिने बेलामा बिन्दा यसपाली निकै रोईन|अंगालोमा निकै बेर नन्दनलाई बेरी राखिन| छुटिनु त छदै थियो ..अब चाडै यता कामको पैसा लिएर एक दुई महिना भित्र न्यु योर्कमा आफ्नु छुटै कोठा लिएर बस्ने बाचा गरेर आआफ्नु बसतिर लागे|

नन्दनलाई बेलुकी ८ बजे काममा पुग्नु नै थियो| बस पार्कमा ओर्ले पछी उ ट्याक्सी लिएर सिधै ग्यास स्टेसन पुग्यो|उसको मन आज अलि हलुका भएको थियो| साथीसंग अब साहु संग हिसाब किताब गरेर न्यु योर्क शहर नै फर्कने आफ्नु योजना सुनायो|साथी संग दुख सुखको गन्थन गर्दै काम गर्नु आफैमा एउटा रमाइलो पनि थियो तर आफ्नु मायालु संग छुट्टीएर बस्नुको पीडा कम्ति असह्य थियो|रातिको समयमा काम गर्नु, अनि फेरी आउदै गरेको हिउँ पर्ने मौषमको डर पनि बढ्दै गएको थियो|

यता बिन्दा पनि आठ बजे आफुले काम गर्ने घर पुगिन|उनलाई बसपार्क मै लिन उनको साहु आएका थिए|घर पुगेर आराम गर्दै नन्दनलाई आफु आइ पुगेको खबर सुनाईन र सानी बाबु संग खेल्दै टि.भी हेर्न लागिन|त्यति टिभी नहेर्ने बिन्दा आज भने आनन्द मानेर टिभी हेर्दै थिइन्|११ बज्यो च्यानल फोरमा एउटा ब्रेकिंग न्युज आयो| योंकरको प्रोस्पेक्ट स्ट्रीट नजिकै रहेको ग्यास स्टेसनमा गोलि चलेको र बन्दुक धारीले हानेको गोलि लागेर ग्यास स्टेसनमा ग्यास भर्दै गरेको अबस्थामा एक जनाको घटना स्थलमै मृत्यु भएको समाचार आयो|आत्तिदै उनले नन्दनलाई फोन गरिन तर नन्दनको फोन उठेन…निकै बेर गरिन अहं फोन उठ्दै उठेन|
…………..
बाकी भाग अर्को अंकमा

कथा यात्रा भाग ५

कथा यात्रा भाग ५

एक हप्ता पछी:
निर्मलको बुबा बित्नु भएको एक हप्ता भै सकेको छ |फोटो नजिकै राखेको मैन बत्ति निभेको छ , प्लेटमा धुपको खरानी जमेको छ |आज दिनभरिको मौषम पनि निकै खराब थियो,पानी पर्ने रोकिने भई रहेको थियो| नन्दन र बिन्दा भान्छामा खाना बनाउदै थिए|नेपाल छोडेको पनि १० दिन भई सक्यो|आएको भोली पल्ट देखि शहर घुम्ने र काम खोज्ने दुवै गरी रहेछन|चार पाच दिनको प्रयास पछी केहि काम हात लाग्ने न देखे पछी उनीहरु नेपाली नै संचालन गरेको काम खोजी दिने एजेन्सी मा पुगेका थिए|”सुरु सुरुमा साथी भाईकै सम्पर्कले काम भेटिन्थ्यो आज भोली काम पाउन अलि गार्हो भएको छ” नन्दनले धेरै साथी भाई बाट यहि प्रतिक्रिया सुन्यो|गर्मीको मौषम दिन भरी काम खोज्न यता उता जादा र भन्ने बित्तिकै काम नभेट्दा नन्दन उदास जस्तो देखिएको थियो|आज पनि उ दिउसो एक्लै एजेन्सीमा गएको थियो केहि काम छ की भनेर|चामल राइस कुकरमा बसालेर नन्दन केहि भन्न खोज्दै थियो बिन्दालाई|बिन्दा तरकारीको लागी आलु र प्याज काट्दै थिइन्|

“एउटा काम त छ रे तर अपस्टेटमा, योंकर भन्ने ठाउ नजिकै रे ,ग्यास स्टेशनमा|सातै दिन काम ,अरुहरु संग मिलेर बस्ने रे $६०० दिन्छ रे ,नेपाली र बंगलादेशीहरु छन् रे अरु काम गर्नेहरु ,ठुलो स्टेशन हो रे…के गर्नु?” थकित जस्तो देखिने नन्दन बिन्दा संग कुरा गर्दै थियो|बिन्दाको आँखाले प्रश्न गर्यो “अनि म के गर्नु नि ?”दुई चार महिना त् हो नि, अलि कति पैसा बचत गर्न सकियो भने हामीलाइ नै सजिलो हुन्छ पछी को लागि|अहिले सुरुमा दुख गरौ सुख आउछ कि?यतै शहरमा काम पाएको भए त् यसरि छुटिनु किन मनले मान्थ्यो र? फेरी त्यस्तो टाढा पनि होइन र हप्ता हप्ता दिनमा हामी भेट घाट गर्न मिलि हाल्छ, कहिले तिमि उता आउ कहिले म यता आउछु ..फेरी यता शहरमा काम पाए यतै आउछु ..तिम्रोलागि त्यता केहि मिल्यो भने तिमि लाई उतै बोलाउछु के भन्छेउ?” बिन्दको आँखा आँसुले भरियो उनले केहि भनिन..काट्दै गरेको तरकारी छोडेर उनि नन्दनको छातीमा टासीईन|

view from Brooklyn bridge Park

सधै जसो राति ११ बजे पछी निर्मल कोठामा आइ पुगे|सधै जसो टिभी हेरेर बस्ने बिन्दा र नन्दन आज सुत्ने कोठामा बसिरहेका थिए|”सुति सक्नु भयो की क्या हो ?” निर्मलले बाहिरै बाट बोलायो|उनीहरु दुवै लिभिंग रुममा आए र टिभी खोले| निर्मल हात खुट्टा धोएर आयो र आफ्नु बुबाको फोटोमा मैन बत्ति र धुप बाल्यो र एकैछिन आँखा चिम्ल्यो |उनीहरुले टिभीको आवाज अलि कम पारे| त्यस पछी निर्मल सोफामा थचक्क बस्यो ” म संग एउटा दुखको र एउटा सुखको खबर छ,ल भन्नुस कुन सुन्ने पहिले?” बिन्दा र नन्दनलाई हेर्दै भन्यो|केहि मुस्कुराउन खोज्दै बिन्दाले भनिन “पहिले सुख कै समाचार सुनाउनुस न त ”
“ल ठिक छ ,सुखको खबर के हो भने मेरो साथी जेनीले बिन्दा बहिनिलाई काम खोजी दिएकी छे,बेबी सिटिंगको ,पैसा पनि राम्रो हुन्छ हप्ताको $७०० जस्तो,पछी पछी बढ्दै पनि जान्छ परिवारले मन परायो भने ,जेनीले भने अनुसार एकदम धनी परिवारको छोरा छोरी हेर्नु पर्ने ,पहिले एक जना तिबेतीयन दिदी हुनु हुन्थ्यो रे..२/३ बर्ष काम गरे पछी अहिले उहाको परिवार आएकोले क्यालिफोर्निया सर्नु भए छ ..त्यसैले तुरन्तै नया मान्छे चाहिएको रे .. ल भन्नुस यो खुसीको खबर कस्तो लाग्यो?बिन्दाको अनुहार उजेलो भयो| “अनि दुखको खबर चाही के हो नि ?” नन्दनले सोध्यो | “दुखको कुरो के हो भने यो काम अप स्टेट न्यु ह्यम्पटन भन्ने ठाउमा हो र यो कामको लागी उतै बस्नु पर्छ …कहिले काही आईतबार छुट्टी हुन्छ रे नत्र भने धेरै जसो उतै बस्ने ,उतै खाने उतै सुत्ने| बिछोड बनाउने भो ..त्यै हो दुख|” यति खेर नन्दन अलि न्याउरो भो| उसले पनि ग्यास स्टेसनमा काम पाएको कुरा निर्मललाई सुनायो|

दुवैले काम त पाए तर फरक फरक शहरमा |भर्खरै नेपाल बाट आएका यसरी छुटिएर कसरी काम गर्न सकिन्छ होला र?बर्षौ देखि छुटिएर बसेकाहरु कति खेर संगै बसौला र घरजम गरौला भनेर सोचेर बस्छन ..भर्खरै आएका लाई छुटिनु कस्तो असह्य हुन्छ होला….निर्मलले मन मनै कुरा खेलायो र आफुलाई खुसी पर्दै भन्यो ..यो त झन् धेरै राम्रो कुरा भो नि पैसा पनि निकै राम्रो रैछ .अब चार छ महिना दुख गर्ने ,अलि अलि पैसा जोगाउने, त्यस पछी नेपाल जाने र आफ्नु दुखलाई बागमतीमा बगाउने|मलाई त एक दम राम्रो लाग्यो है कामको कुरो …मान्छे हरु काम भने पछी मरी हत्ये गर्छन ..मै भाको भए नि यै गर्थे|मैले जेनी लाई आजै खबर दिन्छु भनेको छु ..ल भन्नुस बिन्दा र नन्दन जी के गरौ?” निर्मलले प्रश्न तेर्सायो! बिन्दा र नन्दन एकै छिन हेरा हेर गरे र बिन्दाले भनिन “हुन्छ म गर्छु भन्दिनु”| नन्दनले पनि फोन लियो र एजेन्सीको नेपाली दाईलाई फोन गर्दै भन्यो ..”दाई त्यो कामको लागी म जान तयार छु|”

मलाई लाग्छ हामीले गरेको यो निर्णय राम्रै होला| हामी हप्ता पन्ध्र दिनमा भेटि रहनु पर्छ ,दिनहु फोन गरौला| र छ महिना सम्म हामीले अर्को प्रबन्ध मिलाउनु पर्छ..६ महिना सम्म काम गर्यो भने मेरो $६०० र तिम्रो $७०० मिलाउदा $१३०० बचत हुन्छ त्यो भनेको $५२०० हुन्छ ,अलि अलि खर्च भो भने पनि कम्तिमा ५००० डलर बचत हुन्छ ..६ महिना सम्म काम गर्यो भने $३०००० हुन्छ त्यो भनेको नेपाली मा हिसाब गर्यो भने २५ लाख भन्दा बढी हुन्छ ,त्यसले काठमाडौँको पाखा तिर सके घरै नसके ..राम्रो जग्गा आउछ ..अर्को ६ महिना काम गर्यो भने त एक बर्षमै भने जस्तै काठमाडौँमा घर बन्दो रैछ नन्दन हिसाब गर्दै थ्यो मन मनमै ..बिन्दा टोलाई रहेकी थिइन्|रात सुन्य हुदै गयो, ठुलो झरी परेको आवाज एकोहोरो आइ रह्यो|

बाकी अर्को अंकमा …….
कथाकार:सहदेव पौडेल, न्यु योर्क

कथा यात्रा भाग ३

(कथा यात्राको दोस्रो भागमा बिन्दा र नन्दन शहर घुमेर आउछन र साँझको बेलामा निर्मल पनि घर आउछन र निर्मलको नेपाल बाट दुखद समाचार आउछ|निर्मलको बुबा बित्नु भएको हुन्छ|कथा यात्राको तेस्रो भागमा के होला?)
कथा यात्रा भाग ३
सहदेव पौडेल
न्यु योर्क

त्यो रात निर्मलको लागी निकै लामो भयो|उसले बारम्बार घरमा फोन गरेर कहिले श्रीमती र अन्य आफन्त संग कुरा गरी रह्यो|आवस्यक खर्च भोली पठाई दिन्छु भन्दै श्रीमती लाई सान्त्वना दियो| नन्दन र बिन्दा उसको साथमै थिए|दिनभरिको घुमफिर बाट थाके पनि उनीहरुलाई निन्द्रा आएन|रातीको ११ बजी सकेको थियो|निर्मलले साथीभाईहरुलाई फोन गरेर आफ्नु दुख बिसाउन खोज्यो तर कसैको फोन उठेन|उ आफ्नो कोठामा गएर एकै छिन बस्यो|कम्प्युटर खोल्यो|दराजमा राखेको पुराना फोटोहरुको अल्बम निकाल्यो र एकै छिन अल्बममा आफुलाई डुलायो|अल्बमबाट उसले आफ्नु बुवाको श्याम स्वेत तस्बीर झिक्यो र डिजिटल क्यामेराले फोटोको फोटो खिच्यो र कम्पुटरमा डाउनलोड गर्यो र आफ्नु फेसबुक पेजमा गएर फोटोलाई अपलोड गर्यो यो छोटो भावनाको साथमा:
“बुबा बित्नु भो
उ आउछ आउछ भन्दै
नाती नातिना संग खेल्दै,
एउटा आशा सजाउदै,
गाऊ बजारमा मेरो कथा सुनाउदै हिड्ने मेरो बुवा..
एउटा सपनाको साथमा टुकुर टुकुर गर्दै ,
आइजो आइजो अब आइजो,
कति बस्छन परदेशमा भैगो,
भन्दै हिड्ने मेरो बुवा ..
अब कहिल्यै नभेट्ने गरी बिदा हुनु भो
बुवा बित्नु भो”

बिन्दाले भान्छामा मैन बत्ति र धुप भेटिन र बुवाको फोटो छ भने दिनु भनेर मागिन|उसले त्यो श्याम स्वेत तस्बिरलाई एउटा फ्रेममा सजायो|मैन बत्ति र धुप बालेर एउटा प्लेटमा फोटो सजाएर बिन्दाले लिभिंग रुममा राखीन|निर्मलले “धन्यबाद” भन्यो|यसै बेलामा नन्दनले ६०० डलर उसको हातमा राख्दै बिहान भन्नु भएको पैसा राख्नु होला भनेर दियो |उसले आफ्नु कामको मेनेजरलाई फोन गर्यो र आफुलाई परेको समस्याको बारेमा जानकारी दिदै आफु भोली काममा आउन नसक्ने जानकारी दियो|नन्दनलाई कपाल खौरीदिन अनुरोध गर्यो|रात झनै छिप्पियो|एकछिन पछि उसले फेरी फेसबुक खोल्यो र फोटोमा समबेदनाका शब्दहरु पोखिएको थियो,पढ्यो तर कसैले उसलाई फोन गरेनन|

“यो मेरो जिबनको दोस्रो दुखद दिन हो” निर्मलले बिस्तारै आफ्नु दुख फुकाउन लाग्यो|सोफामा थाकेर बसेका नन्दन र बिन्दा उसलाई सुनी रहेका थिए| “म अमेरिका आएको ९ बर्ष भो ,यता आए पछी मैले कति वोटा न्वारन ,भात खिलाई,बिबाह छुटाए गनी साध्य छैन|गाऊ घरका कति साथीहरु जनयुद्दमा मारिए त्यो पनि थाहा छैन|देशमा के के परिबर्तन आयो गयो मेरो लागी त्यो एकदिनको समाचार भयो|पत्रकारिता सम्बन्धि एउटा कार्यशालामा आएको थिए ..केहि सिकेर जान्छु र देशमा मेहनत गर्छु भन्ने थियो|यता पाइला राखे पछी साथी भाई,परिवारले यतै बसेर केहि गर्नु भनेर जोड दिए|देशको अवस्था ठिक छैन|पत्रकारको ज्यान खतरामा छ,राज्य पक्ष्य र सरकार पक्ष्यले बाच्न दिदैन,नआउनु भनेर मलाई डर देखाइयो|मेरो सामान्य पत्रकारिताको अनुभबलाई ठुलो बनाएर यहाँका साथी भाई र वकिलहरुले मलाई एक्स्ट्रा अर्डीनरी भिसामा आबेदन दिनु एक बर्ष भित्रमा सबै कागज पत्र बनेर परिवार आउछन भनेर भने |त्यसको २ बर्ष सम्म केहि खबर आएन..मेरो केस त्यसै हरायो अर्थात् केस अप्रुभ भएन|वकिलले मेरो पसिना निकै चुसेको छ| र केस पनि बिग्रे पछी त म झनै बिखल्बंदमा परे|मेरो केश अस्वीकृत भएकै दिन आमा बित्नु भएको थियो|

त्यो दिन मलाई अमेरिका आएकोमा निकै पछुतो भएको थियो |त्यो पीडा अझै पनि छ मनको अन्तर कुन्तरमा|त्यस पछी मलाई पीडाले त्यति दुखाउन छोड्यो|आज बुवा बित्नु भो, गार्हो सार्हो पर्दा नेपाल जान सकिन र अहिले बित्नु भएपछी फेरी जानु को के अर्थ र?” ८/१० बर्ष अघि न आइजो भन्ने साथी भाई ,परिवार आज भोली कहिले आउछस भनि सोध्छन|तिमीहरु देश बनाऊ ,देश बनि सके पछि म आउछु भन्छु |
जिन्दगी यसरी बित्छ भन्ने अगाडी नै जानेको भए म उसै बेला नेपाल फर्किन्थे|संगै पत्रकारिता गरेका साथीहरु अहिले दैनिक पत्रिकाका सम्पादक भई सकेका छन्|देशमा संचारको बिकाश भएको छ ,नया नया प्रबिधि भित्रिएको छ,अहिले म न यता को हुन सकेको छु न उताको,अलि अलि जानेको ज्ञान पनि हराई सक्यो|साथीहरु अझै पनि पत्रकार भन्छन|यो सुन्दा मलाई व्यंग गरेको जस्तो लाग्छ|फर्किउ न अहिलेको समय सुहाउदो ज्ञान छ न त पैसा नै कमाएको छु,अब कागज पत्रको कुरा त खै कहाँ फलेको होला र टिप्नु! बिन्दा र नन्दन निर्मलको पीडा गाथा सुनी रहे|”अनि घरमा को को हुनुहुन्छ त ?” बिन्दाले सोधिन|”भाईहरु छन् ,बुहारी छन् ,उनीहरुका छोरा छोरी छन्,बुवा आमाको सम्झना छ अनि मेरी श्रीमती र अहिले १० बर्ष पुगेको छोरो ४ कक्षामा पढ्दै छ|” “अनि नेपाल त जानु भएको भए हुने नि है ,कागज पत्र बनाउन पनि कस्तो गार्हो ?” नन्दनले सोध्यो|कहाली लाग्दो जीवनको कथा सुनायो निर्मलले|जाने जाने भन्दा भन्दै महिना बर्ष बितेको पत्तो भएन|अझै पनि जाने दिनको तिथि मिति बादलले छोपेको छ निर्मलको|आएको दुईदिनमा बिन्दा र नन्दन उसको परिवारको सदस्य जस्तै भए|दुखको बेलामा साथ् दिए पछी साथी बन्न कति समय लाग्दो रै’छ र ?

मध्यरात कट्यो|पर ट्रेन स्टेशनमा गुडेको ट्रेनको कर्कश लाग्दो आवाज सजिलै सुनिन्थ्यो|बिन्दा र नन्दन सुत्न आफ्नु कोठामा गए|निर्मल सोफामा पल्टी रहेको थियो निदाएछ|एक्कासी फोनको घन्टीले उ बिउझियो|”तिमीले बुबा बितेको कुरा मलाई फोन गरेर किन नभनेको? यस्तो दुखद खबर पनि मैले फेसबुक हेरेर थाहा पाउनु पर्ने?” उताबाट अंग्रेजीमा बोलेको महिलाको मायालु आवाजले सोध्यो|”तिमी सुत्यौ होला भनेर डिस्टर्ब नगरेको” निर्मलले भन्यो|”म आउ ?” उनले सोधिन “पर्दैन भोली बिहान आउ, अहिले सुत”निर्मलले भन्यो|उ सोफामा सजिलो संग बस्यो,फेसबुक पेजमा गयो र अहिले सम्म प्राप्त समबेदनाका शब्दलाई धन्यवाद भन्यो|फोनमा सुनिएको आवाजलाई “आइ लभ यु एन आइ मिस यु टू”भन्दै निर्मलले फोन राख्यो र त्यसपछी लामो स्वास फेर्दै निर्मल सोफामै निदायो|

क्रमस:

कथा यात्रा भाग २

कथा यात्रा भाग २

सहदेव पौडेल

न्यु योर्क

(कथा यात्राको पहिलो भागमा हामीले निर्मल, बिन्दा र नन्दनको सामान्य परिचय पायौ|नन्दन र बिन्दा शहर घुम्ने जादै गर्दा ट्रेनमा छुट्टिएको र बल्ल बल्ल भेट भएको थियो..त्यस पछी के भयो होला ?..कथा यात्राको दोस्रो भाग)

त्यो दिन उनीहरु टाइम्स स्क्वाएर पुगेरै छाडे|दिनभरी शहर घुम्दा नन्दन र बिन्दाले एक अर्काको हात छोडेनन्|फोटो खिच्दा पनि संगै जोडिएर आफैंले फोटो खिचे|तथापी बिन्दालाई टाइम्स स्क्वाएरमा एउटा सिंगल फोटो नखिची चित्त बुझेन|नन्दनले अग्ला अग्ला भवन र झिलीमिलि बत्तिहरुको बीचमा बिन्दाको एक दर्जन जस्तो फोटो खिच्यो|बिन्दा खुसीले नचिन,जमीन छोडेर उफ्रिन त्यहि बेला नन्दनले राम्रा राम्रा फोटो खिचिदियो|उनीहरु टाइम्स स्क्वाएरको चारै दिशा तिर निस्फिक्री घुमे र दिउसोको एकै छिनको बिछोडको पीडा भुले|

साँझ घर फिर्ने बेलामा नन्दनले एकचोटी निर्मललाई फोन गर्यो, आफुहरु टाइम्स स्क्वाएरमा भएको र अब घर फर्किन लागेको जानकारी दिन तर निर्मलको फोन सिधै भ्वाइस मेसेजमा गयो|उसले मेसेज छोडेन| एकछिन पछी फेरी गर्यो फेरी उठेन ,४/५ चोटी प्रयास गरे पछी बल्ल निर्मलले फोन उठायो र झर्केको स्वरमा सानो आवाज पारेर “म काममा छु किन फोन गर्नु भएको हो म पछी गर्छु नि” भन्यो| नन्दनले एकै स्वरमा हामी टाइम्स स्क्वाएरमा छौ, घर जान लागेको, कुन ट्रेन लिएर गए सजिलो होला भनेर सोध्यो|निर्मलले सेभेन ट्रेन लिएर जानु र 74th Roosevelt Ave मा ओर्लनु भन्दै फोन राख्न हतारियो|तर नन्दनले अर्को प्रश्न पनि सोधी हाल्यो ..मेरो कामको कुरो के भो ? उता बाट उत्तरको सट्टा फोन राखेको टुंग टुंग आवाज आयो|


नन्दन र बिन्दा घुम्दै स्टेशन तिर पुगे र कुईन्स तिर जाने सेभेन ट्रेनमा चढे|साँझको समयमा सेभेन ट्रेन अत्यन्तै भिड थियो|मानिसहरु अनेक भाषा भाषीमा कुरा गर्दै थिए|कुनै कुनै भाषा आफुले बुझे जस्तो लाग्यो नन्दन र बिन्दालाई|उनीहरु त नेपाली जस्तै छन् भनेर अलि परको सिटमा बसेका कुर्ता सुरुवाल लगाएका महिलाहरुलाई देखाउदै उनीहरु कुरा गर्न थाले|”उनीहरुले बोलेको आवाजको आधारमा भन्ने हो भने उनीहरु बंगलादेशी हुन सक्छन” नजिकै उभिएको एक जना ४०/४५ बर्षको जस्तो देखिने व्यक्तिले हास्दै नेपालीमा भने|नन्दन र बिन्दा अचम्म मान्दै “ए दाई त नेपाली पो हुनु हुदो रे’छ” भन्दै कुरा गर्न थाले|”दाई होइन मेरो नाम दया राम बराल हो|वुडसाइडमा बस्छु पांच बर्ष भो आएको ..परिवार सबै नेपालमै छन्..लौ जा .. तपाईले सोध्नु भन्दा अगाडी सबै मैले नै भन्दिए” भन्दै दयाराम फुस्स हासे|”हामी त हिजो आइपुगेका हौ ,नया छौ केहि थाहा छैन ” नन्दनले भने|”न्यु योर्कमा सबै मान्छे सधै नया नै हुन्छन ,अनि काम के मा सुरु गर्नु भो त ? “दयारामले सोधे| “छैन अब खोज्नु पर्छ बरु के पाइएला यसो सहयोग गर्नु पर्यो” नन्दनले भने|बिन्दा यति खेर अघि खिचेका तस्बिरहरु क्यामेरामा हेर्दै थिइन्| “भै हाल्छ्नी मेरो टेलिफोन न. लिनुस फोन गर्नु न” दयारामले आफ्नु फोन न दिए ,बिन्दाले आफ्नु ब्याग बाट एक टुक्रा कागज निकालेर त्यसमा दयारामको न. टिपीन र भनिन “हामी निर्मल जी को मा बस्छौ”| “को निर्मल ?निर्मल तिमिल्सेना?” दयारामले चिने जसरी सोधे| “हजुर” बिन्दाले भनिन| “ए म चिन्छु उनलाई, ८/१० बर्ष भो क्यारे यता बस्न लागेको दयारामले भने|हिडी रहेको ट्रेनको झ्यालबाट देखिएको न्यु योर्क शहरको स्काई लाइनलाई बिन्दाले फोटोमा उतार्न खोजिन तर क्यामेरा हल्लियो |”अनि के डिभी पारेर आउनु भा’को?” दयारामले अरु प्रश्न खोतल्न थाले|”हजुर” नन्दनले भने| “ए”…. दयारामले टाउको हल्लाए|ल यसो फोन गर्नु होला मेरो त ओर्लने स्टेशन आयो|तपाईहरु यसपछिको दोस्रो स्टेशनमा ओर्लनु होला भन्दै दयाराम ट्रेनबाट बिन्दालाई एकोहोरो हेर्दै बाहिरियो|

घरमा पुगेर दुबैले मिलिजुली खाना पकाए|राति ११ बजे पछी निर्मल आइपुगे |”ए खाना खानु भए हुन्थ्यो नि किन कुरी राख्नु पर्थ्यो र ?कुरेर कहाँ साध्य हुन्छ र यहाँ ?” निर्मलले हात खुट्टा पुछ्दै भने| ” होइन हामीले त भर्खर खायौ तपाईको बाटो हेरी रा’को” बिन्दाले भनिन|नन्दनले खाना खादै गर्दा उनीहरुले आज दिनभरिको कथा सुनाए निर्मललाई|खाने खाएर आराम गर्दै निर्मल नेपाल तिर फोन लगाउन थाल्यो र नन्दन र बिन्दा टिभी हेर्न लागे|जति प्रयास गरे नि फोन लागेन निर्मलको बरु नेपाल बाटै फोन आयो| “ए म गर्दै थिए के छ तिम्रो खबर ?” उसले उताबाट फोन गर्ने लाई सोध्यो| उताबाट एक छिन केहि आवाज आएन ,के भो किन नबोलेको ? उसले फेरी सोध्यो|उसले फोनमा सुन्य हल्ला मात्र सुन्यो|उसको मनमा नमिठो चिसो पस्यो| केहि नराम्रो पो भयो कि ?के भो ?बुवालाई कस्तो छ आज ?उताको आवाजको प्रतिक्षा नगरी फेरी सोध्यो| बल्ल फोनमा मलिनो आवाज आयो| यो आवाज थियो उसकी श्रीमतीको|”बुवालाई हिजो राती सार्है नराम्ररी च्यापो …हस्पिटल लिएर गयौ राती नै …कति फोन गरेको हजुरको फोन नै लागेन …बुवा बित्नु भो हिजो राती नै|

निर्मल केहि बोल्न सकेन..एक्कासी उसको आँखा भरिएर आयो|नन्दन र बिन्दा नजिकै आए ..र सोधे के भो निर्मल जी के भो?
TO Be Continue…
(यो कथाको शृंखला न्यु योर्कबाट प्रकासित हुने पत्रिका एभरेस्ट टाइम्समा हरेक पन्ध्र दिनमा प्रकासित हुन्छ)