Tag Archives: Nepali Kabita

जाजरकोट

जाजरकोट

बादल माथीबाट हेर्दा
जाजरकोट शुभ विवाहको ज्वारीकोट जस्तै देखिन्छ।
तर जब पाइला टेकिन्छ जाजरकोटमा,
जाजरकोट जाजरकोट जस्तै देखिन्छ,
खडेरीले चिरा परे जस्तै,
चैतको हुरीले धुलाम्य भए जस्तै!

जनयुद्दमा भाचिएको ढाडको अझैं उपचार गरी रहेको जाजरकोट,
भरेको भातको जोहो गर्न,
रृणको भारी बोकेर,
दुखको भारी बोक्न भारत जाँदो रहेछ,
लालाबालाहरु बा फर्कने आशा खाएर बस्दा रहेछन्।
र दाँत झरेकी आमै सकी नसकी दुख टोक्दै,
एक मुठ्ठी सुख पिउने आशामा टोलाउदि  रहिछिन।

जाजरकोट दरबारकोट भन्दा कयौँ कोश टाढा छ ,
त्यसैले जाजरकोटको दुखको बासना सहरचोक सम्म आउदैन बरै,

के तिमी एक दिन,
मात्र एक दिन,
जाजरकोट लगाएर, जाजरकोट बोक्न सक्छौ?
खोलेर तिम्रो मुखुण्डो जस्तो कोट,
के आज एक दिन
जाजरकोट सुग्ध्न सक्छौ?

जाजरकोट भन्दैछ,
सिलाई दिए मात्रै पनि हुन्छ
च्यातिएका खेत,बारी र बाटाहरु,
अलिकति जागँर जाजरकोटमा खनाईदिए मात्रै पनि हुन्छ!
दुर्गम चोटमा अलिकति औषधीमुलो छर्किदिए मात्रै पनि पुग्छ ।
कठै,
जाजरकोटलाई जर्जरकोट नबनाईदिए मात्रै पनि हुन्छ।

कोही छ ?
चिरा परेको जाजरकोट सिलाउन सक्ने सूचिकार!

​*****
सहदेव पौडेल ​
बिबिसीको साझा सवालमा हालै प्रकाशित जाजरकोटको जीवन Life in Jajarkot कार्यक्रम हेरे पछि कोरेको कविता। कार्यक्रम यहाँ हेर्न सकिन्छ

यो जिन्दगी

यो जिन्दगी

जिन्दगी फोटो कपी गर्न मिल्ने भए,
ओर्जिनल उता पठाएर डुप्लीकेट यता कतै भुलाई राख्थें,

जिन्दगी कपी पेस्ट गर्न मिल्ने भए,
लाखौँ प्रति जिन्दगी प्रिती छर्न पठाई दिन्थें,

जिन्दगी सिफ्ट थिचेर,
ईन्टर गरेर वा केहि स्पेस दिएर
अर्कै बनाउन मिल्ने भए,
हरदिन कुनै म्याजिक गरी बस्थें!

वा

एडिट गरेर युटोपियन बनाउथें,

जिन्दगी सेभ गर्न मिल्ने भए,
कुनै नौलो ग्रहमा सेभ एज वा
क्रियट एक नयाँ मानवीय जिन्दगी बनाउथें!

जिन्दगी डिलिट गर्न मिल्ने भए,
सिम्पली डिलिट गरि दिन्थें,
…………………………
साथी संगी र परिवारको ईमोजी ईमोसन हेर्थे,
धेरै नै रोईकराई गरेछन भने अन डु गराईदिन्थे,
तुरुन्तै भुलेर रिफ्रेस गर्न लागेछन् भने,
जिन्दगी डिलिट परमानेट्ली गर्दै-
यो समाज जस्तै रिसाईकल बिन- ईम्प्टी गराईदिन्थें!

यो जिन्दगीलाई ……

सहदेवको “यो जिन्दगी” 🎭

कविता :विश्व कविता दिवसको सन्दर्भमा

++
कन्चन पानी जस्तै,
जस्तो रङ्ग राख्यो उस्तै बन्ने,
कुनै अमुर्त चित्र जस्तै ।

रक्सीको नशामा डुब्दै,
वा चुरोटको धुवामा उड्दै,
चिया चौतारीमा बस्दै,
वा पाखा पखेरुमा डुल्दै लेखिने
एउटा कथा जस्तै ।

जीवनको गीत,
देश वा परदेशको प्रीत,
जसरि व्यक्त गरे पनि हुने,
शब्दको कुनै परिधि भित्र बसेर
छन्द लेखे पनि हुने,
वा स्वछन्द लेखे पनि हुने,
यस्ता अनेक अनेक शब्दहरूले बनेको
एउटा पहाडको नाम हो कविता!

###
सहदेव पौडेल
न्यु योर्क

(विश्व कविता दिवसको सन्दर्भमा)
World Poetry Day is on March 21
Saha

रहरै रहरमा “माटो र मन”

कहिले घर देश सम्झेर र कहिले परदेश सम्झेर मनका भावनाका रंगहरुलाई विविध शब्दहरुमा पोख्दा पोख्दै सायद म कवि पो भएँ कि! अहिले म अनलाइन र ब्लगहरुमा छरपस्ट भएका कविताहरुलाई एकमुस्ट पारेर “माटो र मन” शीर्षकको कविता सङ्ग्रहको प्रकाशनको तयारीमा छु र अप्रिल महिना भित्र पाठकहरुको  हातमा पर्ने छ मेरो पहिलो कृति।

Maato Ra Mann 
“माटो र मन” साहित्यिक वेब पत्रिका खसखस डट कमले प्रकाशन गर्दै छ।”माटो र मन”को ईपुस्तक संस्करण  अमेजन डट कममा पनि उपलब्ध हुनेछ। साथै केही कविताका अडियो र भिडियो हिमाली स्वरहरुले निर्माण एवं प्रसारण गर्ने छ। पुस्तक प्रकाशनको संयोजन नेपालबाट किताबवालाले गरेको छ।
 
अहिलेलाई यसै सङ्ग्रहमा भएको कविताहरुको भिडियोहरु
 

यो वर्ष पनि

 

यो वर्ष पनि,
बिदा मनाउन घर हिडेकाहरु घर पुगेनन्,
स्कुल गएकाहरु फर्केनन्,
परदेशिएकाहरु फिरेनन्​!​

यो बर्ष पनि,
देशको अशान्ति बाट टाढिएर
अप्ठेरो बाटो हुँदै,
सपनाको फेरी चढेर,
खुल्ला आकाशको खोजीमा हिडेकाहरु,
सागर बिचमै डुबे।
किनारामा पुग्न नपाउदै,
धेरैको जहाज़ डुब्यो।

यो बर्ष पनि,
देश हरायो,
परिवेश हरायो,
बम, बारुद,र गोलीको
भुङ्ग्रोमा सर्वस्व खरानी भयो।
बलात्कार र हिंसाका रगत
यो वर्ष पनि लत्पतियो,
रङ्ग, जात, र धर्मको​ रगत
यो वर्ष पनि ​पोतियो,
​अनेक अनेक शिर्षकहरुमा
यो वर्ष पनि थुप्रै हामीहरू बेअर्थ
मरी रह्यौं..मरी रह्यौं..
****

सहदेव पौडेल
न्युयोर्क
डिसेम्बर २९,२०१४

 

 

/home/wpcom/public_html/wp-content/blogs.dir/a17/11876352/files/2014/12/img_5680.jpg

प्रदीप कुमार श्रेष्ठको “म भित्रको म”

अगस्ट महिनाको एक साँझ लेखक होमराज आचार्य सँग भेट गर्ने क्रममा साथी अन्जन श्रेष्ठले आफ्नो पुरानो साथी प्रदीप कुमार श्रेष्ठको परिचय दिदै भन्नु भयो “बर्षौ पछि भेट भएको साथी त कवि भै’सकेछ!” यिनै कवि प्रदीप कुमार श्रेष्ठले आफ्नू कविता सङ्ग्रह ” म भित्रको म” बाट उपस्थित साहित्य सर्जकहरुलाई आफ्नू केही रचनाहरू मिठास पूर्ण भावले वाचन सुनाउनु भयो र एक प्रति मलाई दिनु भयो । अहिले म “म भित्रको म” मा रमाई रहेको छु। देश,परिवेश ,प्रकृति,राजनीति, र प्रेम प्रतिको आफ्ना भावनाहरुलाई ५५ वटा विभिन्न शिर्षकहरुमा कविले सरलशब्दमा व्यक्त गर्नु भएको छ।उक्त भेटघाटमा सुनाउनु भएको केही कविताहरू यहाँ हेर्न/सुन्न पनि सकिन्छ।

photo (2)

फोटो कविता: एटलान्टिकको चरा

birdsफोटो कविता: एटलान्टिकको चरा,
कुन देशबाट आयो होला?

भिसा लिई,
एक दुई दिनमै आयो कि,
डुङ्गा चढी महिनौं दिनमा आयो?
वा कतै डिभी पो पर्‍यो कि!
एक दुई लाख खर्चयो कि,
वा गुँड नै धितो पो राख्यो ?
कतै उता ऋणको घाउ चर्की पो रा’ छ कि,
वा सहर तिर पक्कि घर चम्की पो रा’ छ कि ?
सपनाको आकाश पच्छाउदा,
सपनाकै जालो भित्र बन्धकी पो भयो कि?

कस्तो होला दैनिकी कठै ?
कस्तो होला व्यथा ?
कोही होला त सुनिदिने … ?
तारा जस्तै छरपस्ट परिवार
कसले …. कहिले होला त बुनिदिने ?

दैलोको बादल अझै मडारीदै पो छ कि!
सम्झनाको इन्द्रेणी पुल कतै बिलिनै पो भो’ कि !
मुखा भरि आहारा बोकी एकदिन फिर्ला त घरदेश,
कि बरा ,अस्ताउला घाम जसरि?

एटलान्टिकको चरा !
कुन देश बाट आयो होला?
***********
एटलान्टिकको चरा
सहदेव पौडेल
न्यु योर्क

कविता: स्सस्स्स्स्ससस्स

see-hear-speakNoEvil03
कविता:स्सस्स्स्स्ससस्स

स्स्स्सस्ससस्स….. चुप चुप चुप!
बिस्तारै बोल्नुस,
कोही  आगो सरि दन्केका   छन्,
कोही बाढी सरि  उर्लेका छन्,
जलाउने र बगाउनेको जुलुस,
खहरे सरि सहर तिर पसेको छ,
खरानी बनाउलान आवाजहरु!!

स्स्स्सस्स्स्स ……

जे पायो त्यै नलेख्नुस!
अक्षर जान्नेहरू अनर्थ लाउन सक्छन्,
शब्दहरूले मात्रै पनि  मान हानि गर्न सक्छ,
र उल्लुहरु जुर्मुराउन  सक्छन् ,
झम्टेलान कलम समाउने हातहरु !

स्स्स्सस्स्सस्स…..
कान थुनेर  हिड्नुस
गोप्य वार्ता सुनिएला!
न्याय निशाप पपेट  शो जसरि भव्य प्रदर्शन भै’रहेको छ ,
मुकुण्डो लगाएर नाचीरहेछन प्रजातन्रका बादरहरु,
आँखा बन्द गरेर हिड्नुस!
सीमा पारिबाट आएर सिहदरबारको तारमा बसेका कागहरु चिन्नुहोला,

फुटाई देलान आँखा ,
छरी देलान आँखामा शान्तिका  एसिडहरु ,
भाची देलान हात खुट्टा
त्यस्तै परे घोषणा गरिदेलान
सहिद भनेर!

स्स्स्स्स्सस्स्स ……
ताली  नपिट्नुस लोक तन्त्र आ’को छ!

​—————​—————–

​सहदेव पौडेल ​
image source: www.bluenc.com

The Journey of Creation-Srijanaka Yatraharu (Videos)

मार्च महिनाको सृजनाका यात्राहरुमा सहभागी हुनुहुने सम्पूर्ण सर्जकहरुलाई धेरै धेरै धन्यवाद। गायक हरिश माथेमा आफ्नू स्वास्थ्य अनुकूल नहुदा नहुदै पनि कार्यक्रममा आउनु भयो। हामी आभारी छौ। गायिका अनिता सुब्बा ,लोक गायक बिमल डाँगीले र गायक सुनिल बुढाथोकीले कार्यक्रमलाई सांगीतिक बनाइदिनु भयो। हामी आभारी छौँ।
भर्जिनिया बाट आइपुग्नु भएका कवि वसन्त श्रेष्ठलाई पनि धेरै धन्यवाद। उपस्थित सर्जकहरु विनोद रोका,ज्योति पौडेल,परिता राजभण्डारी,मनु लोहरुंग राई, अशोक राई,मणी बांग्देल,नगेन्द्र अठराइली, र विष्णु पौडेल


कार्यक्रम स्थल उपलब्ध गराइदिनु भएकोमा गायक रोशन गुरुङलाई धन्यवाद। साथै मलिंगोका रवि गुरुङलाई पनि धेरै धेरै धन्यवाद। पुर्ब जिल्ला न्यायधिश नबराज उपाध्याय कार्यक्रम श्रवण गर्न आउनु भएकोमा धेरै धन्यवाद
उपस्थित सम्पूर्ण प्रति नमन!

सृजनाका यात्राहरुको अप्रील महिनाको कार्यक्रम अप्रिल ७ ,आइतबार मालिंगो रेस्टुरेन्टमा २ बजे देखि ४ बजे सम्म हुँदै छ।आउदो महिनाको कार्यक्रममा पत्रकार एवं लेखक निक हरस्चन (Nick Hirshon) आफ्नू नयाँ पुस्तक Images of America-Forest Hills को बारेमा कुराकानी गर्न आउदै हुनुहुन्छ। र नेपाली सर्जकहरुले अङ्ग्रेजीमा आफ्नू रचनाहरु सुनाउने कार्यक्रम छ।

हेटौंडाको मनमा

हेटौंडाको मनमा

सहदेव पौडेल

*****

कुनै बेला,
हरियाली फाँटहरुले सजिएको हेटौंडाको
मनमा आज भोली “हरी” छैन भन्छन हेटौंडेलीहरु!
भन्छन,
धान रोप्ने हिलाम्मे खेतमा,
घरहरु झुलाउदै,
रानीवनको उजाड पाखामा,
बजारीया माया बर्षाउदै,
हृदयमा तराई र राजधानी बोकेर,
नाफा र नोक्सानको राजनीतिक हिसाब किताब गर्दै,
हात हातमा अबिश्वासको हतियार बोकेर हिड्दै छ रे हेटौंडा !

“हाम्रो” भन्दै हातेमालो गर्दै,
हँसिलो मुहारमा गाउँ गाउँ घुम्ने हेटौंडा ,
हिजो आज “म” भन्दै कसैको मलामी जान पनि हिचकिचाउछ रे!

घर अगाडी नैराश्यको अग्लो पर्खाल बनाउदै ,
घनघोर डरको खेती रोप्दै,
हराएको हरिण जस्तै,
हालत खराब छ भन्दै,
हवाईजहाजबाट टाढा टाढा,
बसाईं सर्न खोज्दै छ रे हेटौंडा !

हवाईजहाजबाट टाढा टाढा,
बसाईं सर्न खोज्दै छ रे हेटौंडा !
******************************

Hetauda