Tag Archives: Sundar Joshi

Book Review-“क्यासल रककी अप्सरा” संग डुल्दा

“क्यासल रककी अप्सरा” संग डुल्दा
न्यु योर्क – सहदेव पौडेल

सम्भबत:न्यु योर्क पुस्तक पढ्नको लागी उपयुक्त शहर हो । यो शहरमा ठुला ठुला पुस्तकालय भएर मैले यसो भनेको होइन की यहाको यातायातको सुबिधा र शैली ले गर्दा यसो भनेको हुँ । प्राय:जसो न्यु योर्करहरु कम्तिमा एक घण्टा देखि दुई घण्टा सम्म दैनिक ट्रेन वा बसमा यात्रा गर्छन केहि न केहि पढ्ने सामग्रीको साथमा । ट्रेन ,सबवे भित्र यसो हेर्यो भने धेरैको हातमा किताब,किन्डल,वा अन्य डिजिटल सामाग्री हुन्छ । छोटा छोटा कथाहरु,उपन्यास र जीवनीहरु मैले दुई तिन दिन भित्रमै पढी सकेको छु । ट्रेन कुर्दा प्लेट फर्ममा होस् वा ट्रेन भित्र राम्रो पुस्तक पढ्न थाले पछी मैले कति पटक त आफ्नु ओर्लने स्टेसन पनि भुलेको छु|हिजो आज “क्यासल रककी अप्सरा” पुस्तक मेरो सहयात्री भएको छ ।

सुन्दर जोशीको नया कथा संग्रह “क्यासल रककी अप्सरा”का धेरै जसो कथाहरु बिभिन्न संचार माध्यमहरुमा पहिलेनै प्रकासित भई सकेका छन । मैले पनि यसै संग्रहमा समाबेश कथा “त्यो घुम्ती” करिब चार बर्ष जस्तो अगाडी हिमाली स्वरहरुको कार्यक्रम कथा संसारमा बाचन गरिसकेको छु । पुस्तकारको रुपमा सुन्दर जोशीका कथाका पात्रहरु देशको पीडा बोकेर यात्रा गर्छन । कोहि अमेरिका बाट नेपाल पुग्छन र अमेरिकाको सम्झना गर्छन र कोहि नेपाल बाट अमेरिका आउछन र नेपालको सम्झना गर्छन । कहिले काही तपाई थाहै नपाइ कथाको पात्रको ठाउमा आफुलाई राख्नु हुने छ र कथाका बिभिन्न दृष्यहरुमा ति पात्रहरु संगै डुल्नु पनि हुने छ ।

कथा संग्रहमा संग्रहित “साउथ बिचमा यती” कथा त चार पाच वोटा स्टेशन पार गर्ने बित्तिकै पढी सके । यो कथाले नेपाल प्रति आगाध प्रेम भएकी एक क्युबेन/अमेरिकन पात्र र नेपालमा पर्यटकहरुलाई सहयोग गर्ने र हाल अमेरिकामा बसिरहेको पात्र केसांगको भावनात्मक सम्बन्ध र यी पात्रहरुको जीबन हेरी रहेको अर्को पात्र जो आफुलाई “हिउँमा आफ्नो अस्तित्व विलीन गराई सकेको यती” सम्झन्छ को जीबन भेटिन्छ ।”त्यो घुम्ती” कथाले काठमाडौँ र लस एन्जलस शहरको यात्रा गर्छ ।”टर्मिनल थ्री” कथा जीवनको एउटा मोड हो । यो मोडमा को कस्तो परिस्थितमा भेट हुन्छ र जीबन यात्राका ती पात्र,बिगत,बर्तमान,र घर देशमा घर खरानी भएको पीडाहरु अड्किएको छ । “बाह्र लाखको कविता”ले नेपालको एउटा प्रतिभा कसरी अमेरिकाको सपनामा कैद हुन आइपुग्छ चित्रण गरेको छ ।”कार्लोस मेरो दर्पण छाया” एउटा हृदय विदारक कथा हो जहाँ कथाको “म” पात्रले पेरु बाट आएको पात्र कार्लोस लाई र कार्लोस र “म” पात्रलाई आफु जस्तै ठान्छन र कथाको एउटा एउटा नमिठो अन्त्य हुन्छ ।

कथा संग्रहमा समाबेश “टुन्ग्ना र डम्फु” लामो कथा हो । कथाकरले यसलाई छुट्टै प्रकासित गरेर एउटा सानो उपन्यासकै रुप दिन सकेको भएको भए अझै उत्तम हुने थियो । यो लामो कथामा माया प्रेम र जीवन र सम्बन्धका उतार चढाबका गीतहरु टुन्ग्ना र डम्फुको ताल जसरि नाचेका छन ।”क्यासल रककी अप्सरा” संग्रहको अन्तिम कथा हो । दुई भागमा छरिएको यो अर्को लामो कथाले कस्तो जीबन बोलेको होला ? पाठकहरुलाई म यो पुस्तक किनेर पढ्न आग्रह गर्छु । यदि यी कथाहरु अंग्रेजी भाषामा हुन्थे भने यी कथाहरुले नेपाली परिवेशका जिबनलाई अंग्रेजी पाठकहरुको मनमा सजिलै पुर्याउने थियो|कतै कतै कथाकारले बिभिन्न उदाहरणको रुपमा आफै र आफ्नै कथालाई प्रयोगको रुपमा प्रस्तुत गरेका छन ।

“क्यासल रककी अप्सरा”मा एघार ओटा कथाहरु संग्रहित छन् । कथा संग्रहको शिर्षकको कथा दुईभागमा विभाजित छन् भने “टुन्ग्ना र डम्फु” चार भागमा विभाजित छन|प्रबाशमा बसेर देशका कथा गीतहरु लेख्ने दिन प्रतिदिन बढी रहेका छ तर राम्रो लेख्नेहरु भने निकै कम छन|तिनै कम लेखकको सुचिमा सुन्दर जोशी पर्दछन । आफ्नो कृतिमा अमेरिका र नेपाल प्रतिको जीवनको फ्युजन सरल रुपमा प्रेषित गर्नु भएर “क्यासल रककी अप्सरा” लाई एउटा संग्रहणीय र पठनीय कृति बनाउनु भएको छ । कथाकार आफैले भने अनुसार संग्रहित कथाहरुमा “एउटा परदेशी मनका भोगाइहरु” लाई बिभिन्न परिवेश र बातावरणहरुमा भेट भएका अनेक पात्रहरु संग साटेका छन । नेपालीहरु कसरी बिदेसिएका हुन्छन,अमेरिका आइसके पछिको उनीहरुको जनजीबन कस्तो हुन्छ,र अन्य देशबाट आएका पात्रहरुको पीडा जान्न पनि यी कथाहरु पढ्नै पर्ने हुन्छ ।

यो कथा संग्रहको आवरण सज्जा खगेन्द्र लिम्बुले गर्नु भएको हो । खुम्बिला बुक्सले प्रकाशन गरेको “क्यासल रककी अप्सरा”को वितरणको जिम्मा सांग्रिला बुक्सले लिएको छ । नेपालमा यसको मूल्य २०० रुपैया र अमेरिकामा १० डलर राखिएको छ ।
(Originally published on http://www.nepalipost.com)

Advertisements