मेरो पुस्तकालय

एक दिन बाटो बिराएर अलमल पर्नु भएको एक व्यक्ति पुस्तकालयमा आउनु भयो र सोध्नु भयो “म पुग्नु पर्ने यो ठाउँमा हो तर म सँग नक्सा हेर्ने फोन पनि छैन। म हराएँ। कृपया मलाई मद्दत गर्नुहोस्।” मैले उहाँलाई पुग्नु पर्ने ठाउँको ठेगाना राखेर नक्सा प्रिन्ट गरेर त्यो स्थानमा कसरि पुग्न सकिन्छ भनेर जानकारी दिए। उहाँ धन्यवाद भन्दै आफ्नो गन्तब्य तिर लाग्नु भयो। वास्तबमा, पुस्तकालय “बाटो” देखाउने यस्तै एउटा ठाउँ हो,जसले हामीलाई सहि ठाउँमा पुर्याउने “ठेगाना” पनि उपलब्ध गराउन सक्छ र पुस्तकालय यस्तो ठाउँ पनि हो जहाँ पुगेर फर्के पछि हामी केहि न केहि बोकेरै फर्कका हुन्छौं।

हिजो आजका पुस्तकालयहरुमा पुस्तकहरु मात्रै हुंदैनन्। पुस्तकालयलाइ पूर्ण गरेको हुन्छ, अनेक सेवा र सुबिधाहरुले।पुस्तकालयमा पासपोर्ट बन्छ, नोटरी गरिन्छ, ट्याक्सको फारम भर्न सहयोग गरिन्छ। कामको खोजीमा हुनुहुन्छ र बायोडाटा, रिजुमी, कभर लेटर लेख्न सहयोग पनि पाइन्छ।विध्यार्थीहरुका लागि टिउटर सुबिधा पनि उपलब्ध हुन्छ पुस्तकालयमा।

समुदायमा के हुदै छ भन्ने थाहा पाउन पुस्तकालयको बुलेटिन बोर्डमा हेरे पुग्छ र तपाईको समुदाय कस्तो छ भन्ने बुझ्न पनि पुस्तकालय पुगे हुन्छ।पुस्तकालयमा साना साना केटा-केटीहरुको लागि दैनिक कथा वाचन हुन्छ। पुस्तक चर्चाको लागि थरि थरि उमेर समुहका बुक क्लब हुन्छ। कला, साहित्यका कार्यक्रमहरु पनि भै’रहेका हुन्छन।

कागज पत्र प्रिन्ट गर्नु पर्यो , घरमा इन्टरनेटले वा कम्प्युटरले काम गरेन, वा घरमा बसेर काम गर्दा गर्दा बोर लाग्यो भने पनि जाने उपयुक्त ठाउ हो पुस्तकालय। बाहिर हिँडेको बेलामा पानी पर्यो भने ओत लाग्ने ठाउँ बन्न सक्छ पुस्तकालय। जाडो भयो? पुस्तकालय न्यानो ठाउँ बन्न सक्छ, गर्मी छ, पुस्तकालय शितल स्थान बन्न सक्छ। आज कता जाऔं जस्तो लागिरहेको बेलामा जाने ठाउँ हो पुस्तकालय अथवा आज मलाई कतै जान मन छैन भनेर पनि जाने ठाउँ हो पुस्तकालय।

मेरो पुस्तकालयमा त स्टेट पार्कमा घुम्न जानको लागि पर्किग पास पनि लिन मिल्छ। हाइकिङ्गमा जानको लागि अनेक सर समानले भरिएको हाइकिङ्ग ब्याग पनि लिन मिल्छ। अनेक अनेक रोबोटहरु घरमा लगेर खेल्न मिल्छ। लुगा सिउने मेशिन घरमा लगेर सिलाइ बुनाइ सिक्न सकिन्छ। मेरो पुस्तकालयमा त मेकर स्पेस, मेकर ल्याब भनेर बनाएको एउटा ठुलो कोठामा त थ्री डी प्रिन्ट, बिज्ञान, प्रबिधि, इञ्जिनियरिङ्ग लगायतका सामान देखि बिबिध विषयका ज्ञान गुनका कार्यक्रम पनि हुन्छ। कम्युटरका कोडिंग देखि रोबोट कसरि बनाउने भन्ने पनि सिकाउछ। अंग्रेजी बोल्न, संगीत सिक्न, रङकला,नाटक, कविताका कार्यशाला, सिलाई बुनाई सिक्न देखि साना नानीहरु देखि हजुर बा-आमा सम्मको लागि अनेक अनेक रमाईला कार्यक्रमहरुले पुस्तकालय भरिएको हुन्छ।

अरु के हुन्छ होला त पुस्तकालयमा? बाइना कुलर,थर्मल क्यामेरा, सांगीतिक यन्त्र युकुलुलु, घरको मर्मत सुधार गर्न चाहिने सरसामानको किट, थरि थरि का खेल, पजल, केटा केटिलाइ हुने शिक्षा मुलक आईप्याड। यी त भए पुस्तकालय भित्र उपलब्ध हुने सर सामानहरु। पुस्तकालयको सदस्यता लिई सके पछि त अनलाइनमा अझै के के हो हेर्न, सुन्न, पढ्न र सिक्न मिल्ने सामग्रीहरु पनि पाइन्छ। यी सबै नि:शुल्क पाइन्छ भन्ने सुन्दा सुरुमा मलाई पत्यारै लागेको थिएन।

त्यति मात्रै हो र? पुस्तकालयमा नि:शुल्क कार्यक्रमहरु गर्न सकिन्छ। अथवा भै रहेका कार्यक्रमहरुमा नि:शुल्क सहभागी पनि बन्न सकिन्छ। भर्खरै यो देशमा आइपुग्नु भएका आप्रवाशीहरु सोध्नु हुन्छ? लाइब्रेरीको सदस्यता लिन कति पैसा तिर्नु पर्छ? पुस्तकालयको सदस्यता लिन कति पनि पैसा तिर्नु पर्दैन,त्यति मात्रै हो र , कम्तिमा पनि ५० थान पुस्तकहरु एक पटकमा घरमा लान सकिन्छ यो पनि २१ दिन सम्मको लागि। धेरै पुस्तकालयहरुले त् हिजो आज पुस्तक ढिलो फिर्ता गरेकोमा लिने जरिवाना पनि हटाएका छन्।नयाँ नयाँ पुस्तकहरु देखि निकै पुराना पुस्तकहरु सजिलै भेटिन्छ पुस्तकालयमा। तपाईंले खोजेको पुस्तक यदि तपाईंको पुस्तकालयमा छैन भने पनि अरु पुस्तकालयहरु बाट खोजेर भए पनि लेराइदिन्छन्।तपाईं पुस्तकालय जान सक्न्नु हुन्न भने पुस्तकालय तपाईकोमा पनि आउन सक्छ। तपाईं बस्नु भएको ठाउँ पुस्तकालय बाट टाढा छ भने पनि पुस्तकालय तपाईंको घरमा आउन सक्छ। सामुदायिक केन्द्रमा होस् वा जेल भित्र वा कुनै रमाइलो सडक महोत्सबमा होस् पुस्तकालयको एउटा अंश लामो टेबुल राखेर भए पनि तपाईलाइ भेट्न पर्खिरहेको हुन्छ।

अमेरिकामा पब्लिक लाइब्रेरीलाई समुदायको ढुकढुकी मानिन्छ । अमेरिकन लाइब्रेरी एसोसियसनको पछिल्लो डाटा अनुसार अमेरिकामा १६,५४९ वटा पब्लिक पुस्तकालयहरु छन्। स्कुल र अन्य एकेडेमिक समेत जोडेर हेर्ने हो भने त् अमेरिकामा १,१७,३४१ वटा पुस्तकालयहरु छन्। पब्लिक लाइब्रेरिजको २०१८को सर्भे अनुसार अनुसार अमेरिकनहरु १ .२८ बिलियन पटक पुस्तकालय पुगेका छन् भने १२१. ९ मिलियनहरुले ५. ६८ मिलियन कार्यक्रमहरुमा सहभागिता जनाएका छन्।

प्रबिधिले जस्तो सुकै फड्को मारे पनि पुस्तकालय प्रबिधि संगै परिष्कृत हुँदै समुदायको सेवामा खटिरहेको छ। पुस्तकालय दिन प्रतिदिन कसरि हुन्छ समुदायलाइ उत्कृष्ट सेवा पुर्याउन सोचिरहेको हुन्छ। अल्बर्ट आइन्स्टाइनले त्यसै भनेका होइनन “तपाइँले थाहा पाउनै पर्ने एउटा मात्रै चिज हो, तपाइँको पुस्तकालयको ठेगाना।” तपाइँलाई आफ्नो समुदायको पुस्तकालय कहाँ छ भन्ने थाहा छ भने तपाई हराउनु भएको छ पुस्तकालयले पुग्नु भने ज्ञानको “ठेगाना” सजिलै उपलब्ध गराउन सक्छ।

Leave a comment