Category Archives: Story

As it happens

आफ्नो भारी आफै बोक्

एकदिन म दु:ख र पिर-चिन्ताको भव्य भारी बोकेर स्वां स्वां गर्दै जीवनको उकालो चढ्दै  थिए । एउटा कोही अपरिचित आएर मलाई अनेक थरी प्रश्न गर्न थाले । कहिले पारिवारिक प्रश्न सोध्छन, कहिले मेरो भारी बोक्न सहयोग गर्छु भन्छन्, कहिले के गर्छस, के छ भविष्यको योजना भन्छन्। उनका अनेक थरी प्रश्नहरूको बोझले  म झनै थाकें। म उक्त अपरिचितलाई वास्ता नगरी त्यहाँ बाट टाढा आफ्नै कुटीको छहारीमा पुगेर आफूलाई जमिनमा समर्पण गरे  र अनायास मुखबाट निस्क्यो :

 “हे भगवान् दुखीको घरमा मात्र तेरो बास हुने भए मलाई अझै दु:ख दे”

यति मेरो सुस्केराले के भनेको थियो। भित्र कतैबाट आवाज निस्क्यो-

“अघि तेरो पछि लागेर सहयोग गर्छु, के गर्नु पर्छ भन भन्दा वास्तै गरिनस अहिले फेरी मेरै नाम लिएर  बोलाउछस! सरि, अब आफ्नो भारी आफै बोक्”
………………

By Sahadev Poudel

New York 

 

उही बर्षौ ​ पुरानो साथी (मिनीकथा)

उही बर्षौ ​ पुरानो साथी

सहदेव पौडेल, न्यु योर्क

*****

बर्षौ पछि म मेरो ​मन मिल्ने ​साथीलाई भेट्न सुस्तरी ​सुस्तरी ​स्वप्न बगैचामा पुगेँ। बगैंचाको एउटा बेञ्चमा ​ उ ​ ​​​​कालो चस्मा लगाएर ​ ​पर्खि​रहेको थियो। कपासजस्तो ​उसको ​कपाल  हावाले ​हल्लाई  रहेको थियो।​रुखबाट बिछोडिका पहेंला पातहरू ​उसैको  वरी परि फूल जसरी बर्षिरहेका  थिए । ​अघिल्लो ​ ​बेञ्चमा बसेर ​उसलाई नियालें​;​ उसको अनुहार र  हातको छाला र  नजिकैको  रुख उस्तै उस्तै थियो।  ​छेउमा एउटा लौरो ​उसैमा अढेस लागेर ढल्की रहेको थियो । उ​सले मलाई ​ एकोहोरो हेरी रहे​को जस्तो लाग्यो। तर खै किन हो किन  उसलाई  देखेर मेरो बोलीनै फुटेन ​।

“के यो ​मेरो ​उही बर्षौ ​पुरानो साथी हो​!​?”

​मेरो सँगै उसको पनि टाउको हल्लिएको मैले देखेँ ​। ​त्यस पछि  सुस्तरी ​सुस्तरी म घर ​फर्किए, उ पनि​ लौरो सँगै ​ उठ्यो र आफ्नो बाटो लाग्यो। ​साँझ ​घरको फोनमा एउटा ​यस्तो ​संदेश पर्खिरहेको रहेछ!

“तँलाई स्वप्न बगैचा मा देखेँ,पहिले त तँ हो कि होइन मलाई ठम्याउनै गार्हो पर्‍यो,तेरो शरीर पनि कुप्रेछ, त्यस्तो बतासिएर हिड्ने तँ, सुस्त भै’छस।  तैले फेरेको श्वास त, पात सुसाएको जस्तो पो लाग्यो। दम छ जस्तो छ तँलाई । तैँले  एकोहोरिएर मलाई  हेर्दै थिइस तर केही बोलिनस। बगैँचामा बसेर लेख्ने तेरो बर्षौ देखिको बानी अझै उस्तै रहेछ , त्यसैले मलाई लाग्यो त्यो तँ नै होस् तर खै किन हो किन मेरो  बोली  नै फुटेन! अब अर्को दिन  भेटौला अनि बोलौला ”

यो संदेश ​बारम्बार ​सुन्दै म टोलाई रहें ​।​

Image
Photo by Sahadev Poudel
********************************

 

कथा यात्राको अन्तिम भाग

कथा यात्राको अन्तिम भाग
************************
उ नन्दन नै थियो|योंकरमा केही ड्रग्स डिलर ग्यांग बिच भएको आपसी गन फाइटमा निर्दोष नन्दनले ज्यान गुमाउनु पर्‍यो !मध्य रातमा पुलिसले नन्दनको फोन सम्पर्कमा आएको अन्तिम व्यक्तिको आधारमा बिन्दालाई सम्पर्क गर्‍यो र रातिनै सेन्ट जोन्स हस्पिटलमा आउन अनुरोध गर्यो|दिउसो भर्खर त्यति मायाले छुटिएको बिन्दालाई यो समाचार पत्यारिलो लागेन|उनले यो खबर कसरी सहन सकिन होला!

भोलि पल्ट बिहानै हस्पिटलमा एउटा शून्यता छाएको थियो|हस्पिटलमा निर्मलको साथमा नेपाली समुदायका एक दर्जन जस्तो सदस्यहरू जम्मा भएका थिए साथमा बिन्दाले काम गर्ने बोस पनि थियो|बिन्दाको संसार चुर्लुम्म डुबेको थियो|उनका आँखा निरन्तर रसाई रहेका थिए|बिसेष गरेर विदेशमा नेपालीको निधन हुदा देशका पत्रपत्रिकाले महत्वका साथ समाचार छाप्छन|नन्दनको निधनको खबर बिस्तारै सबै तिर फैलियो|केहि सामाजिक संस्था मिलेर नन्दनको अन्तिम संस्कारको लागी तयारी पनि गरे|सहयोगका लागी सामाजिक सञ्जाल मार्फत सबै नेपालीहरुलाई आग्रह गरियो|यो दुखमा बिन्दालाई सबैले खुल्ला हृदयले सहयोग गरे तर बिन्दाको अगाडी उभिएको अजिंगरको पहाडको पीडाले उनलाई मात्र गलायो|

दुर्घटनाको तिन दिन पछि हिन्दु परम्परा अनुसार न्यु योर्ककै एक फ्युनरल होममा अन्तिम संस्कार संम्पन भयो|तर निर्दोष नन्दन जसले बिनाकारण ड्रग्स डिलरहरुको झगडाको बिचमा ज्यान गुमाए उसको न्यायको लागी कसैले कुनै आवाज निकालेनन|न्यु योर्कको स्थानीय टि.भी. र पत्र पत्रिकामा हत्या भयो,मारिए भनेर समाचार आयो तर न्यायको लागी कुनै अधिकार बादी संघ सस्थाले आवाज निकालेनन्|शहरका ठुला ठुला पत्रिका र पत्रकार,लेखकहरुको नजरमा यो दुर्घटना अर्को एउटा दुर्घटनाको रेकर्डको रूपमा दर्ता भयो|

view from Brooklyn bridge Park

सहर उस्तै छ,मान्छेको भीड भाड उस्तै छ,सहरमा दौडी रहने सवारी साधन उस्तै छन,लाग्छ यो शहरमा कसैलाई केही भएकै छैन|यो दुर्घटना पछि बिन्दाले नियमित काम गर्न सकिनन्|उनी हरबखत टोलाउथिन|के गर्ने कसो गर्ने केही सोच्नै सकिनन्|शहरमा चिसो दिन प्रतिदिन बढ्दै गयो बिन्दाको मन जस्तै|धेरै दिन पछि बिन्दा कोठा बाट बाहिर निस्किन,बाटो किनाराका रुखहरु पात झरेर खिन्ग्रिंग परेको जस्तो देखिन्थ्यो उनलाई ती रुखहरु आफू जस्तै लाग्यो |न्यु योर्कमा ओर्लदा उनलाई सहर कस्तो उल्लाशमय लागेको थियो|टाइम्स स्क्वाएरमा रमाई रमाई घुमेका ती क्षणहरु आँखा वोरिपरी घुमे,त्यो दिन उनी एक्लै अस्तिन नन्दन सँगै घुमेका ठाउँहरुमा हिडीन|शहरको झिलिमिली उनलाई खोक्रो लाग्यो|माया गर्ने मान्छे नहुदा सारा सुन्दरता केवल एउटा सुनसान बगर जस्तो अनुभव भयो बिन्दालाई! उनलाई सहरमा न्यानो अनुभव भएन|फर्केर कोठामा आईन र नन्दनले टेलिफोनमा रेकर्ड गरेको विभिन्न आवाजहरु सुन्न थालिन| आवाजमा नन्दन यसरी बोली रहेको थियो|

“बिन्दा,तिमी संग छुटिनु भनेको रुखबाट पातहरु अलग भए जस्तो लाग्छ|मलाई आज किन किन आफू पातहरु बिनाको रुख जस्तै लाग्यो|३ महिना पछि तिमी संग भेटेर छुटीदा बसमा मलाई यो भावनाले निकै सतायो|
“चिसा रुखहरु,
सडक किनारमा लस्करै लस्करै हिडी रहेछन्,
“यतै कतै जरो गाड्न पाए नि हुन्थ्यो नि,”
सुसाउछन रुखहरु!
छरपस्टिएका हाँगाहरु
जिन्ग्रिंग परेको स्वरूप,
पातहरु छैन,
चरा चुरुन्गिका बासहरु छैन,
चिसा रुखहरु
ठिंग उभिएर लस्करै हिडी रहेछन्!
छाया बन्नु,
माया पाउनु,
अर्कै ऋतुको कथा होला!
चिसा रुखहरु ,
जल्दैनन,
बल्दैनन,
बोल्दैनन रुखहरु
त्यसैले सायद कसैले
बुझ्दैनन् ..
कहिले होला
चिसा रुख हरुमा वसन्त आउने
र एउटा निलो आकाश मुनि,
हरियो चौरमा,
सुशेली काट्दै,
चरा चुरुंगी संग प्रीत साट्दै,
छहारी दिने दिन!”

बिन्दा,सायद त्यो दिन चाडै आउने छ र हामी पातहरु जसरी छुटिनु पर्ने छैन ,हामी रुखका हाँगाहरु जसरी एकार्कामा सधैँ समाहित हुने छौ|”

बिन्दा,साँझमा निभेको दियो जसरी कोठामा आईन|र कोठाका साथीहरू लाई आफू अर्को साता नेपाल जान लागेको जानकारी गराईन|
अमेरिका आएको ६ महिना पछि बिन्दा काठमाडौँ फर्किन|जस्तो छोडेर आएको उस्तै काठमाडौँ ! काठमाडौँमा पनि उस्तै चिसो महसुस गरिन उनले |नजिकै एउटा होटलमा आफ्नू समान बिसाए पछि उनी पशुपति गइन् र नन्दनको अस्तु बागमतिमा बगाइन्| कुनै दिन नन्दनले भनेको थियो ..अमेरिकामा केही समय दुख गरौला,अलि अलि पैसा कमाऔला र बागमतिमा गएर दुख बगाऔला|बिन्दा बागमतीको किनारमा टोलाई रहिन ,वोरी परी पूजा पाठ गरेको घन्ट बजेको ,भजन किर्तनको आवाज, अनि अलि पर कोही रोएको जस्तो आवाजले पशुपति नाथ क्षेत्र गुन्जायमान थियो|
**********************************
सहदेव पौडेल
न्यु योर्क

कथा यात्रा भाग ७

न्यु योर्क वरिपरिको कथा।आफ्नै परिवेश,आफ्नै दुखेसो र आफ्नैहरुको कथा-कथा यात्रा भाग ७
सहदेव पौडेल
न्यु योर्क
……
समय बित्न कति नै पो लाग्दो रहेछ र !रुखका पातहरु हरिया भएको बेलामा न्यु योर्क ओर्लेका थिए बिन्दा र नन्दन र ओर्लेको ३ हप्तामै अआफ्नु कर्मको बाटो पछ्याउदै उनिहरु हिडी रहेछन र न्यु योर्कमा दौडने चौबिस घन्टे रेलगाडी जस्तो दौडी रहेछन|शहरमा मान्छेहरु निरन्तर त्यसरी नै दौडी रहेछन जस्तो हिजो दौडेका थिए तर पनि रुखका पातहरुले रंग फेरेका छन्,मन बिरानो जस्तो भएको छ|एकै राज्यमा भएर पनि फोनको भरमा माया प्रेमलाई जोगाउदै नन्दन र बिन्दा दुख सुख साटा साट गरी रहेछन|
यता निर्मलले आफ्नु मायालु जेनी संग बसो बास गर्न सुरु गरेको छ| त्यो मिठो सम्बन्धलाई उनीहरुले आज कोर्टमा गएर बैबाहिक जीबनमा परिणत गर्दै छ|यहि खुसीमा साथ् दिन नन्दन र बिन्दा कामबाट समय निकालेर न्यु योर्क शहर आइपुगेका छन्|बिहान १० बजे तिर कोर्टमा बिबाह दर्ता गरे पछी बिन्दा र नन्दनले जेनी र निर्मल दुबैलाई बधाई दिए|त्यस पछी दुवै जोडी फेरी भेटघाट गर्ने बाचा सहित छुट्टिए|

बिन्दा र नन्दन हड्सन नदीको किनारै किनार निकै बेर सम्म हिडी रहे|पर स्ट्याचु अफ लिबर्टी सधै झैँ स्वतन्त्र उभिरहेकी थिइन्|
तिन महिना सम्मको बिछोडको पीडालाई प्रेमले शान्त पार्दै थिए| दुबैलाई यो तिन महिनाको बसाई कतै जेलमा बसे जस्तो भो|दिनभरी आआफ्नु कामको दुख सुख आदान प्रदान गरे|काम गरेको तिन महिना भए पनि आफुले बल्ल तिन हप्ताको तलब मात्र बुझेको,छ सय दिन्छु भनेर सुरुमा भने पनि पछी घरमा बसेको ,यता उता खर्च काटेर चार सय मात्र दिएको र काम पनि रातीको मात्र भएकोले निकै गार्हो भएको दुखेसो पोख्यो नन्दनले|अब बाकी पैसा नउठे सम्म छाडेर हिड्न पनि नसक्ने र यसरी छुटिएर बसेर साध्य नहुने भन्दै अब यतै न्यु योर्क शहरमै फर्केर आउने र जे जस्तो काम पाउछ गर्ने भन्ने आफ्नु विचार सुनायो बिन्दालाई|जाडोको मौसममा अत्याधिक हिउँ पर्ने भएकोले बाहिर काम गर्न पनि निकै गार्हो हुने भएकोले पनि अब जाती सक्दो चाडो पैसा उठाएर हुन्छ की के गरेर हुन्छ अब संगै बस्ने आफ्नु योजना सुनायो नन्दनले|

20120623-222732 2

बिन्दाले भने त्यति आफ्नु दुखेसो सुनाईनन तर नन्दनले अब फर्केर संगै बस्ने भने पछी धेरै खुसी भने भईन्|आफुलाई साहुले पैसा समयमा दिए पनि काम भने बच्चा हेर्ने मात्र नभएर घरायसी सबै काम गर्नु पर्ने, बच्चाको होम वोर्क पनि गर्दिनु पर्ने आदि काम भएकोले निकै थाकिने र बच्चाको आमा बुबा दुवै आफ्नु काम देखि खुसी भएको कुरा सुनाइन्|तर यसरी छुट्टिएर बसेर राम्रो नगरेको, पैसा भन्ने बिस्तारै कमाइन्छ यसरी परदेशमा, एकै राज्यमा पनि छुट्टिएर बस्नु भनेको आफुले आफैलाई सजाय दिएको जस्तो भो त्यसैले हामी टाढाको काम छोडेर संगै जे जस्तो भेटिन्छ त्यहि गरौ भन्ने आफ्नु दुखेसो नन्दनलाई सुनाइन्|

यो तिन/चार महिनाको अबधिमा उनीहरुले शहरको बारेमा,कामको बारेमा धेरै कुरा बुझी सकेका छन्|अब आफुहरु जे गर्न पनि तयार भएको अनुभब भएको छ नन्दन र बिन्दालाई| दुख सुखको कुरा गर्दा गर्दै साँझ झिमिक्क परी हाल्यो|चाहेर पनि तिन महिना पछीको यो रात संगै बिताउन पाएनन् नन्दन र बिन्दाले|अझ कति सुख दुखको पोको फुकाउनु थियो होला त्यसै रह्यो|
साँझ फिर्ने बेलामा नन्दनले निर्मललाई फोन गर्यो र फेरी बधाई दियो|आफ्नु कामको अनुभब प्राय जसो निर्मललाई उसले सुनाइ राख्थ्यो र फेरी आफुहरु न्यु योर्क शहरमै फर्कने आफ्नु योजना सुनायो|पोर्ट अथुरिटि बस टर्मिनलमा छुटिने बेलामा बिन्दा यसपाली निकै रोईन|अंगालोमा निकै बेर नन्दनलाई बेरी राखिन| छुटिनु त छदै थियो ..अब चाडै यता कामको पैसा लिएर एक दुई महिना भित्र न्यु योर्कमा आफ्नु छुटै कोठा लिएर बस्ने बाचा गरेर आआफ्नु बसतिर लागे|

नन्दनलाई बेलुकी ८ बजे काममा पुग्नु नै थियो| बस पार्कमा ओर्ले पछी उ ट्याक्सी लिएर सिधै ग्यास स्टेसन पुग्यो|उसको मन आज अलि हलुका भएको थियो| साथीसंग अब साहु संग हिसाब किताब गरेर न्यु योर्क शहर नै फर्कने आफ्नु योजना सुनायो|साथी संग दुख सुखको गन्थन गर्दै काम गर्नु आफैमा एउटा रमाइलो पनि थियो तर आफ्नु मायालु संग छुट्टीएर बस्नुको पीडा कम्ति असह्य थियो|रातिको समयमा काम गर्नु, अनि फेरी आउदै गरेको हिउँ पर्ने मौषमको डर पनि बढ्दै गएको थियो|

यता बिन्दा पनि आठ बजे आफुले काम गर्ने घर पुगिन|उनलाई बसपार्क मै लिन उनको साहु आएका थिए|घर पुगेर आराम गर्दै नन्दनलाई आफु आइ पुगेको खबर सुनाईन र सानी बाबु संग खेल्दै टि.भी हेर्न लागिन|त्यति टिभी नहेर्ने बिन्दा आज भने आनन्द मानेर टिभी हेर्दै थिइन्|११ बज्यो च्यानल फोरमा एउटा ब्रेकिंग न्युज आयो| योंकरको प्रोस्पेक्ट स्ट्रीट नजिकै रहेको ग्यास स्टेसनमा गोलि चलेको र बन्दुक धारीले हानेको गोलि लागेर ग्यास स्टेसनमा ग्यास भर्दै गरेको अबस्थामा एक जनाको घटना स्थलमै मृत्यु भएको समाचार आयो|आत्तिदै उनले नन्दनलाई फोन गरिन तर नन्दनको फोन उठेन…निकै बेर गरिन अहं फोन उठ्दै उठेन|
…………..
बाकी भाग अर्को अंकमा

कथा यात्राको भाग ६

न्यु योर्क वरिपरिको कथा।आफ्नै परिवेश,आफ्नै दुखेसो र आफ्नैहरुको कथा। कथा यात्राको भाग ६  
 

कथा यात्रा ६

सहदेव पौडेल 
न्यु योर्क

……….दुई हप्ता पछी बिन्दा र नन्दन न्यु योर्कको पोर्ट अथुरिटी बस टर्मिनलमा उभिए|बिन्दाको हातमा  न्यु ह्याम्पटन जाने बसको टिकट  थियो भने नन्दनको हातमा योंकर जाने|अमेरिका आएको ३ हप्तामै यसरी दुरी छुटीएला भनेर कसले कल्पना गरेको थियो होला र!उनीहरु आज धेरै बोलेका छैनन्|दुबैको बस एकै समयमा छुट्ने भएकोले अन्तिम पटक दुबैले एकार्कालाई हेराहेर गरे र जोडले अंगालोमा कसिए|अब फोनमा कुरा कानी गरौला भन्दै हात हल्लाउदै आआफ्नु बसतिर लागे|
 
बिन्दा बसमा निकै बेर टोलाइन,झ्याल बाट बारम्बार बाहिर हेरिन|हेर्दा हेर्दै दुबैको दुरी लम्बिदै गयो|आफ्नु  ब्याग बाट डायरी निकालेर बिन्दाले केहि लेख्न थालिन|अमेरिका आए देखि नै बिन्दाले डायरी लेख्न सुरु गरेकी थिइन्|बिस्तारै बिस्तारै अक्षर्हरु बिबिध आकृति बनाउदै उनको डायरीमा नाच्न थाल्यो|
अमेरिका म हास्दै खेल्दै आइपुगे|न कुनै सपना थियो ,न त आउछु भन्ने  कुनै योजना थियो|म स्कुलमै केटा केटिलाई पढाउदै रमाई रहेकी  थिए|नन्दन संग खुसीका साथ बिबाह भयो|उ काठमाडौँमा एउटा एनजीओमा काम गर्थ्यो|बिबाह पछी म पनि काठमाडौँमै आए र फेरी स्कुलमा पढाउन सुरु गरे|हामी हासी खुसी बसीरहेका थियौ|एकदिन नन्दनले खुसीको कुरा भन्दै हामीलाई डी.भी परेको खबर सुनायो|उ त्यो दिन निकै खुसी देखिएको थियो|म पनि उसको खुसीमा रमाएकी थिए|हेर्दा हेर्दै सबै प्रोसेस सकिओ ,हाम्रो भिसा लाग्यो ,साथी हरु धेरै धेरै खुसी भए|अमेरिका हिड्नु अघि आफन्त ,साथीभाई बीच ठुलो जमघट भएको थियो|देशको बारेमा कसैले राम्रो कुरा गरेनन्|१८/२० घण्टा बत्ति जाने ,देशको धुवाँ धुलो,हड्ताल,नेपाल बन्द ,राजनीतिक लुछा चुडी,भ्रस्टाचार, र दैनिक दिक्दारी बाट हामीले मुक्ति पाउने भयौ भनेर धेरैले हामीलाई बधाई दिए,उपहार दिए र फोन र फेसबुकमा नियमित सम्पर्कमा रहन हामीलाई अनुरोध गरे|
अहिले सम्म हाम्रो परिवारको कोहि पनि अमेरिका आएका छैनन्,अमेरिका कस्तो छ ,के के हुन्छ ?काम धाममा कसरी तारतम्य मिलाउनु पर्छ केहि थाहा थिएन,एकजना चिनेको टाढाको आफन्तको मार्फत बाट निर्मल जी संग परिचय भए पछी हामी उहाको अपार्टमेन्टमा आइपुगेका हौ|
अब यो नियतिले कहाँ पुर्याउछ, हामी कहाँ जादै छौ?बिबाह गरेको यो २ बर्षको अबधिमा हामी छुटिएर कहिँ गएको छैन|छुटिएर सुतेको रात याद छैन|आज हामी अमेरिका आएको ३ हप्तामै छुटिएर यात्रा गर्दै छौ..हामी कहाँ जादै छौ…?
एक बिहानै आहाराको खोजी गर्न हिडेका चराहरु ,
 साँझ  मुखा भरी आहारा बोकी गुँडमा फिर्ने आशा लिए जस्तै .
तिमी कुन आकाशमा डुली रहेछौ..म कुन आकाशमा उडी रहेछु..
कहिले होला मुखा भरी आहारा भरिने …र फेरी आफ्नै गुँडमा फिर्ने ..
र फेरी सोच्छु ..के हामीलाई आहारको त्यस्तो बिधि खाँचो थियो..
जसको  लागी हामीले आकाश नै छोडेर हिड्नु पर्थ्यो!
यस्तै केहि लेख्दा लेख्दै बिन्दा भुसुक्क निदाईन र अन्तिम स्टेशनमा पुग्नै लाग्दा  नन्दनको फोनले  बुझीईन्| “हजुर म आइपुगे” बिन्दाले भनीन| “म पनि भर्खर आइपुगे” नन्दनले भन्यो|बिन्दालाई लिन बस स्टेशनमा उनको बोसको श्रीमती आउनु भएको रहेछ|परिचय गर्दै बिन्दा आफ्नो नया काम ,नया घर तिर लागिन|
 
साथीहरु संग परिचय गर्दै साँझ नन्दन भोली देखि आफुले काम गर्ने स्टोर हेर्न गयो|हसन ,मोहमद  दुई बंगलादेशी साथीहरु र एक जना नेपाली रबिन्द्र श्रेष्ठ  स्टोर नजिकै बेस मेन्टमा  बस्ने रहेछन|लिभिंग रुममा २ वोटा र बेडरुम मा २ वटा  म्याट्रेस भुईमा लडी रहेका थिए|लिभिंग रुममा  रहेको एउटा म्याट्रेसमा भने तन्ना र तकिया थिएन ..नन्दन लाई  लाग्यो यो  उसैको बेड हो|  त्यो साँझ नन्दनले साथीहरु बाट कामको बारेमा र कोठामा कसरी बस्ने बारे सामान्य बुझ्यो|उसको काम को सिफ्ट रातीको लागी थियो|राति उ र अर्को एकजना बंगलादेशी साथी हसन  र बिहान अर्को नेपाली साथी रबिन्द्र र अर्को बंगलादेशी मोहमद |
राती उसले निर्मललाई फोन गर्यो तर फोन उठेन|नन्दनले भोइस मेसेज छोड्यो|दाई तपाईको सहयोगको लागी धेरै धेरै धन्यवाद|म काम गर्ने ठाउँमा आइपुगे|भोली देखि काम सुरु हुन्छ ..फोनमा कुराकानी हुदै रहोस.नमस्कार!
 
त्यहि रात देखि नन्दनले पनि  आफ्नो दैनिकी फोनमा बोलेर रेकर्ड गर्न सुरु गर्यो|उसको पहिलो दैनिकी यस्तो थियो|
“प्यारी बिन्दा २ बर्ष पछी तिमी संग छुटिएर एक्लो भएको छु |यो रात मैले तिमीलाई निकै मिस गरेको छु |कस्ती छेउ, के गर्दै छेउ?तिम्रो काम गर्ने ठाउँ कस्तो छ ?तिम्रो बोसहरु कस्ता छन् ..केहि दुख पर्यो भने भन|मेरो यता सब ठिक छ..काम गर्ने ठाउ र बस्ने ठाउ नजिकै छ|चिन्ता नलिनु साथीहरु छन्..खै के सुनाउनु ..खै कस्तो  बाटो हिडी रहेछौ हामी …कुन आकाशमा उडी रहेछौ हामी!”
 
क्रमसः 
Originally  published on Everest Times,New York

कथा यात्रा भाग ५

कथा यात्रा भाग ५

एक हप्ता पछी:
निर्मलको बुबा बित्नु भएको एक हप्ता भै सकेको छ |फोटो नजिकै राखेको मैन बत्ति निभेको छ , प्लेटमा धुपको खरानी जमेको छ |आज दिनभरिको मौषम पनि निकै खराब थियो,पानी पर्ने रोकिने भई रहेको थियो| नन्दन र बिन्दा भान्छामा खाना बनाउदै थिए|नेपाल छोडेको पनि १० दिन भई सक्यो|आएको भोली पल्ट देखि शहर घुम्ने र काम खोज्ने दुवै गरी रहेछन|चार पाच दिनको प्रयास पछी केहि काम हात लाग्ने न देखे पछी उनीहरु नेपाली नै संचालन गरेको काम खोजी दिने एजेन्सी मा पुगेका थिए|”सुरु सुरुमा साथी भाईकै सम्पर्कले काम भेटिन्थ्यो आज भोली काम पाउन अलि गार्हो भएको छ” नन्दनले धेरै साथी भाई बाट यहि प्रतिक्रिया सुन्यो|गर्मीको मौषम दिन भरी काम खोज्न यता उता जादा र भन्ने बित्तिकै काम नभेट्दा नन्दन उदास जस्तो देखिएको थियो|आज पनि उ दिउसो एक्लै एजेन्सीमा गएको थियो केहि काम छ की भनेर|चामल राइस कुकरमा बसालेर नन्दन केहि भन्न खोज्दै थियो बिन्दालाई|बिन्दा तरकारीको लागी आलु र प्याज काट्दै थिइन्|

“एउटा काम त छ रे तर अपस्टेटमा, योंकर भन्ने ठाउ नजिकै रे ,ग्यास स्टेशनमा|सातै दिन काम ,अरुहरु संग मिलेर बस्ने रे $६०० दिन्छ रे ,नेपाली र बंगलादेशीहरु छन् रे अरु काम गर्नेहरु ,ठुलो स्टेशन हो रे…के गर्नु?” थकित जस्तो देखिने नन्दन बिन्दा संग कुरा गर्दै थियो|बिन्दाको आँखाले प्रश्न गर्यो “अनि म के गर्नु नि ?”दुई चार महिना त् हो नि, अलि कति पैसा बचत गर्न सकियो भने हामीलाइ नै सजिलो हुन्छ पछी को लागि|अहिले सुरुमा दुख गरौ सुख आउछ कि?यतै शहरमा काम पाएको भए त् यसरि छुटिनु किन मनले मान्थ्यो र? फेरी त्यस्तो टाढा पनि होइन र हप्ता हप्ता दिनमा हामी भेट घाट गर्न मिलि हाल्छ, कहिले तिमि उता आउ कहिले म यता आउछु ..फेरी यता शहरमा काम पाए यतै आउछु ..तिम्रोलागि त्यता केहि मिल्यो भने तिमि लाई उतै बोलाउछु के भन्छेउ?” बिन्दको आँखा आँसुले भरियो उनले केहि भनिन..काट्दै गरेको तरकारी छोडेर उनि नन्दनको छातीमा टासीईन|

view from Brooklyn bridge Park

सधै जसो राति ११ बजे पछी निर्मल कोठामा आइ पुगे|सधै जसो टिभी हेरेर बस्ने बिन्दा र नन्दन आज सुत्ने कोठामा बसिरहेका थिए|”सुति सक्नु भयो की क्या हो ?” निर्मलले बाहिरै बाट बोलायो|उनीहरु दुवै लिभिंग रुममा आए र टिभी खोले| निर्मल हात खुट्टा धोएर आयो र आफ्नु बुबाको फोटोमा मैन बत्ति र धुप बाल्यो र एकैछिन आँखा चिम्ल्यो |उनीहरुले टिभीको आवाज अलि कम पारे| त्यस पछी निर्मल सोफामा थचक्क बस्यो ” म संग एउटा दुखको र एउटा सुखको खबर छ,ल भन्नुस कुन सुन्ने पहिले?” बिन्दा र नन्दनलाई हेर्दै भन्यो|केहि मुस्कुराउन खोज्दै बिन्दाले भनिन “पहिले सुख कै समाचार सुनाउनुस न त ”
“ल ठिक छ ,सुखको खबर के हो भने मेरो साथी जेनीले बिन्दा बहिनिलाई काम खोजी दिएकी छे,बेबी सिटिंगको ,पैसा पनि राम्रो हुन्छ हप्ताको $७०० जस्तो,पछी पछी बढ्दै पनि जान्छ परिवारले मन परायो भने ,जेनीले भने अनुसार एकदम धनी परिवारको छोरा छोरी हेर्नु पर्ने ,पहिले एक जना तिबेतीयन दिदी हुनु हुन्थ्यो रे..२/३ बर्ष काम गरे पछी अहिले उहाको परिवार आएकोले क्यालिफोर्निया सर्नु भए छ ..त्यसैले तुरन्तै नया मान्छे चाहिएको रे .. ल भन्नुस यो खुसीको खबर कस्तो लाग्यो?बिन्दाको अनुहार उजेलो भयो| “अनि दुखको खबर चाही के हो नि ?” नन्दनले सोध्यो | “दुखको कुरो के हो भने यो काम अप स्टेट न्यु ह्यम्पटन भन्ने ठाउमा हो र यो कामको लागी उतै बस्नु पर्छ …कहिले काही आईतबार छुट्टी हुन्छ रे नत्र भने धेरै जसो उतै बस्ने ,उतै खाने उतै सुत्ने| बिछोड बनाउने भो ..त्यै हो दुख|” यति खेर नन्दन अलि न्याउरो भो| उसले पनि ग्यास स्टेसनमा काम पाएको कुरा निर्मललाई सुनायो|

दुवैले काम त पाए तर फरक फरक शहरमा |भर्खरै नेपाल बाट आएका यसरी छुटिएर कसरी काम गर्न सकिन्छ होला र?बर्षौ देखि छुटिएर बसेकाहरु कति खेर संगै बसौला र घरजम गरौला भनेर सोचेर बस्छन ..भर्खरै आएका लाई छुटिनु कस्तो असह्य हुन्छ होला….निर्मलले मन मनै कुरा खेलायो र आफुलाई खुसी पर्दै भन्यो ..यो त झन् धेरै राम्रो कुरा भो नि पैसा पनि निकै राम्रो रैछ .अब चार छ महिना दुख गर्ने ,अलि अलि पैसा जोगाउने, त्यस पछी नेपाल जाने र आफ्नु दुखलाई बागमतीमा बगाउने|मलाई त एक दम राम्रो लाग्यो है कामको कुरो …मान्छे हरु काम भने पछी मरी हत्ये गर्छन ..मै भाको भए नि यै गर्थे|मैले जेनी लाई आजै खबर दिन्छु भनेको छु ..ल भन्नुस बिन्दा र नन्दन जी के गरौ?” निर्मलले प्रश्न तेर्सायो! बिन्दा र नन्दन एकै छिन हेरा हेर गरे र बिन्दाले भनिन “हुन्छ म गर्छु भन्दिनु”| नन्दनले पनि फोन लियो र एजेन्सीको नेपाली दाईलाई फोन गर्दै भन्यो ..”दाई त्यो कामको लागी म जान तयार छु|”

मलाई लाग्छ हामीले गरेको यो निर्णय राम्रै होला| हामी हप्ता पन्ध्र दिनमा भेटि रहनु पर्छ ,दिनहु फोन गरौला| र छ महिना सम्म हामीले अर्को प्रबन्ध मिलाउनु पर्छ..६ महिना सम्म काम गर्यो भने मेरो $६०० र तिम्रो $७०० मिलाउदा $१३०० बचत हुन्छ त्यो भनेको $५२०० हुन्छ ,अलि अलि खर्च भो भने पनि कम्तिमा ५००० डलर बचत हुन्छ ..६ महिना सम्म काम गर्यो भने $३०००० हुन्छ त्यो भनेको नेपाली मा हिसाब गर्यो भने २५ लाख भन्दा बढी हुन्छ ,त्यसले काठमाडौँको पाखा तिर सके घरै नसके ..राम्रो जग्गा आउछ ..अर्को ६ महिना काम गर्यो भने त एक बर्षमै भने जस्तै काठमाडौँमा घर बन्दो रैछ नन्दन हिसाब गर्दै थ्यो मन मनमै ..बिन्दा टोलाई रहेकी थिइन्|रात सुन्य हुदै गयो, ठुलो झरी परेको आवाज एकोहोरो आइ रह्यो|

बाकी अर्को अंकमा …….
कथाकार:सहदेव पौडेल, न्यु योर्क

कथा यात्रा भाग ४

कथा यात्रा भाग ४
सहदेव पौडेल
New York City

बिहानै उठेर निर्मलले बुवाको फोटो राखेको छेउमा धुप र बत्ति बाल्यो र एकै छिन आँखा चिम्ल्यो |कोठा सुन्य थियो|नन्दन र बिन्दा ढिलो सुते पनि सबेरै उठेका थिए उनीहरुको अनुहार पनि मलिनो थियो,धिप धिप बलि रहेको मैन बत्ति जस्तै|

तिनै जना निकै बेर केहि नबोली बसी रहे|निर्मलको फोन बज्यो, फोन उठाउदै उ ढोका खोल्न गयो|ढोकामा ३५/४० बर्षकि जस्ती देखिने गोरी महिला उभी रहेकी थिइन्|निर्मललाई उनले अंगालोमा बाधेर “सरि” भनिन| परिचयको क्रममा निर्मलले “उनी जेनी, मेरी साथी हुन” भनेर नन्दन र बिन्दालाई चिनायो|नन्दन र बिन्दालाई देखाउदै “उनीहरु मेरा भाई बुहारी हुन” भन्यो|सबैले एकअर्कालाई हेरा हेर गरे|त्यस पछी बिन्दा म चिया बनाउछु भन्दै भान्छा तिर गईन|यो बिचमा निर्मललाई केहि फोनहरु आयो र साथीहरुले भेट्न आउछु भने|जेनी निर्मल संगै उसको हात समाएर बसिन||उसले एकचोटी फेरी कप्यूटरमा आफ्नु फेसबुक र इमेल चेक गर्यो|उसका नजिकका साथी र उ आबद्द संस्थाले समबेदनाका इमेलहरु पठाएका रहेछन|साथी,समुदायले यसरि ख्याल गरेकोमा उसलाई खुसी लाग्यो| सबैलाई उसले धन्यवाद भन्दै इमेल पठायो|जेनीले निर्मलको भर्खर खौरिएको टाउको सुम्सुमाइन|”हाम्रो संस्कृति अनुसार आफन्त गुमाए पछी कपाल खौरिनु पर्छ”उसले जेनीलाई बतायो|जेनीले “तिमी राम्रो देखिएका छौ” भनि|

भान्छाबाट दुध चिनी हालेर बनाएको मसला चिया लिएर बिन्दा आईन् र चिया टेबुलमा राखिन र जेनीलाई चिया लिन आग्रह गरिन तर उनले दुध चिनी मिसिएको चिया खाने नगरेको भन्दै खाइनन् तर धन्यवाद भनिन|”तिमी संग एउटा कुरा गर्नु छ” भन्दै जेनीले निर्मललाई भित्र बेडरुममा लिएर गईन|नन्दन र बिन्दा लिभिंग रुममा बसेर टिभी हेर्न थाले|जेनी को होलिन? उनीहरुको आँखाले जिज्ञासा राख्यो| जेनी बिगत दुई बर्ष देखि निर्मलको नजिककी साथी हुन ,उ कहिले जेनीकोमा जान्छ,बस्छ र कहिले जेनी निर्मलको मा आउछे,बस्छे|यी दुबैको परिचय निर्मलले काम गर्ने रेस्टुरेन्टमा भएको हो|पछी बिस्तारै उनीहरु धेरै नजिक हुदै गए र जेनी रेस्टुरेन्टमा आउन छाडिन तर दुवै घरमा भेट्न थाले|जेनीको छोरी छे भर्खरै हाइ स्कुल सकेर कलेज जान सुरु गरेकी|पहिलो श्रीमान संग ६ बर्ष अगाडी पार पाचुके गरेर बसे पछी उनि स्थाई साथी र सकेसम्म पुन: बिबाह गर्ने सोचमा छिन|निर्मल संग परिचय भए पछी उनको यो सोच साकार होला जस्तो लागी रा’छ|निर्मलले धेरै कुरा जेनीलाई भने पनि आफ्नु बिबाह भएको र घरमा छोरो छ भन्ने कुरा भने बताएको छैन|जेनी उसलाई बिश्वास गर्छे|

निर्मल र जेनी बेडरुम बाट बाहिर निस्के| “यो महिना पर्ख, अहिले यस्तो बेलामा तुरन्तै त्यसो गर्न मिल्दैन|”ट्रस्ट मि” निर्मलले निधारमा मिठो चुम्बन गरेर जेनीलाई बिदाइ गर्यो|दुवै उज्याला भए|

निर्मलले अप्ठेरो मान्दै बिन्दा र नन्दन लाई हेर्यो र भन्यो “हुन त यो मेरो व्यक्तिगत कुरा हो तपाइँहरुलाई त्यति चासो नहोला तर पनि यो दुई दिनमा तपाईहरु मेरो परिवार जस्तै हुनु भो त्यसैले यो कुरा भन्दै छु|सके सम्म यो कुरा नेपालमा मेरो परिवारको कानमा नपरोस भन्ने कामना हो ..पर्यो भने पनि म केनै गर्न सक्छु र? जेनी र म संगको सम्बन्ध अलि बढी नजिकको छ,उनि मलाई माया गर्छिन| हाम्रो धेरै अगाडी देखिको योजना थियो तर अब अर्को महिना देखि म र जेनी हामीले संगै बस्ने निर्णय गरेका छौ| धेरै अगाडी देखि उनले अनुरोध गरेकी हुन तर अब भने कति कुर्नु …के गर्नु समय अनुसार चल्नु पनि परी हाल्यो|जेनी लंग आइल्याण्डमा बस्छिन,यहाँ बाट आधा घण्टा जस्तो टाढा हो|भोली पर्सि हाम्रो आउने जाने भई हाल्छ| मलाई त्यस्तै पर्यो, अप्ठेरो नमान्नु होला|यो महिना भरी म तपाईहरुलाई काम खोजिदिने र शहर संग राम्रो परिचय गराई दिन्छु| कागज भयो भने मेरो छोरा र श्रीमती संग चाडै भेट होला अनि फेरी मिल्यो भने हामी दुई परिवार संगै बसौला…….”बिन्दा र नन्दन उसको कुरा सुनेर कतै हराएका जस्ता देखिए |निर्मलले आफ्नु कुरा राखी सके पछी बाताबरण एकदम सुन्य भो ..कोठामा धुपको मिठो बासना छरिएको थियो| बिन्दा सोफा बाट उठेर चियाको गिलासहरु लिएर भान्छामा जादै थिईन उनका हातबाट एक्कासी चियाको कप फुत्त चिप्ल्यो र फुट्यो |
To be Continue…

कथा यात्रा भाग ३

(कथा यात्राको दोस्रो भागमा बिन्दा र नन्दन शहर घुमेर आउछन र साँझको बेलामा निर्मल पनि घर आउछन र निर्मलको नेपाल बाट दुखद समाचार आउछ|निर्मलको बुबा बित्नु भएको हुन्छ|कथा यात्राको तेस्रो भागमा के होला?)
कथा यात्रा भाग ३
सहदेव पौडेल
न्यु योर्क

त्यो रात निर्मलको लागी निकै लामो भयो|उसले बारम्बार घरमा फोन गरेर कहिले श्रीमती र अन्य आफन्त संग कुरा गरी रह्यो|आवस्यक खर्च भोली पठाई दिन्छु भन्दै श्रीमती लाई सान्त्वना दियो| नन्दन र बिन्दा उसको साथमै थिए|दिनभरिको घुमफिर बाट थाके पनि उनीहरुलाई निन्द्रा आएन|रातीको ११ बजी सकेको थियो|निर्मलले साथीभाईहरुलाई फोन गरेर आफ्नु दुख बिसाउन खोज्यो तर कसैको फोन उठेन|उ आफ्नो कोठामा गएर एकै छिन बस्यो|कम्प्युटर खोल्यो|दराजमा राखेको पुराना फोटोहरुको अल्बम निकाल्यो र एकै छिन अल्बममा आफुलाई डुलायो|अल्बमबाट उसले आफ्नु बुवाको श्याम स्वेत तस्बीर झिक्यो र डिजिटल क्यामेराले फोटोको फोटो खिच्यो र कम्पुटरमा डाउनलोड गर्यो र आफ्नु फेसबुक पेजमा गएर फोटोलाई अपलोड गर्यो यो छोटो भावनाको साथमा:
“बुबा बित्नु भो
उ आउछ आउछ भन्दै
नाती नातिना संग खेल्दै,
एउटा आशा सजाउदै,
गाऊ बजारमा मेरो कथा सुनाउदै हिड्ने मेरो बुवा..
एउटा सपनाको साथमा टुकुर टुकुर गर्दै ,
आइजो आइजो अब आइजो,
कति बस्छन परदेशमा भैगो,
भन्दै हिड्ने मेरो बुवा ..
अब कहिल्यै नभेट्ने गरी बिदा हुनु भो
बुवा बित्नु भो”

बिन्दाले भान्छामा मैन बत्ति र धुप भेटिन र बुवाको फोटो छ भने दिनु भनेर मागिन|उसले त्यो श्याम स्वेत तस्बिरलाई एउटा फ्रेममा सजायो|मैन बत्ति र धुप बालेर एउटा प्लेटमा फोटो सजाएर बिन्दाले लिभिंग रुममा राखीन|निर्मलले “धन्यबाद” भन्यो|यसै बेलामा नन्दनले ६०० डलर उसको हातमा राख्दै बिहान भन्नु भएको पैसा राख्नु होला भनेर दियो |उसले आफ्नु कामको मेनेजरलाई फोन गर्यो र आफुलाई परेको समस्याको बारेमा जानकारी दिदै आफु भोली काममा आउन नसक्ने जानकारी दियो|नन्दनलाई कपाल खौरीदिन अनुरोध गर्यो|रात झनै छिप्पियो|एकछिन पछि उसले फेरी फेसबुक खोल्यो र फोटोमा समबेदनाका शब्दहरु पोखिएको थियो,पढ्यो तर कसैले उसलाई फोन गरेनन|

“यो मेरो जिबनको दोस्रो दुखद दिन हो” निर्मलले बिस्तारै आफ्नु दुख फुकाउन लाग्यो|सोफामा थाकेर बसेका नन्दन र बिन्दा उसलाई सुनी रहेका थिए| “म अमेरिका आएको ९ बर्ष भो ,यता आए पछी मैले कति वोटा न्वारन ,भात खिलाई,बिबाह छुटाए गनी साध्य छैन|गाऊ घरका कति साथीहरु जनयुद्दमा मारिए त्यो पनि थाहा छैन|देशमा के के परिबर्तन आयो गयो मेरो लागी त्यो एकदिनको समाचार भयो|पत्रकारिता सम्बन्धि एउटा कार्यशालामा आएको थिए ..केहि सिकेर जान्छु र देशमा मेहनत गर्छु भन्ने थियो|यता पाइला राखे पछी साथी भाई,परिवारले यतै बसेर केहि गर्नु भनेर जोड दिए|देशको अवस्था ठिक छैन|पत्रकारको ज्यान खतरामा छ,राज्य पक्ष्य र सरकार पक्ष्यले बाच्न दिदैन,नआउनु भनेर मलाई डर देखाइयो|मेरो सामान्य पत्रकारिताको अनुभबलाई ठुलो बनाएर यहाँका साथी भाई र वकिलहरुले मलाई एक्स्ट्रा अर्डीनरी भिसामा आबेदन दिनु एक बर्ष भित्रमा सबै कागज पत्र बनेर परिवार आउछन भनेर भने |त्यसको २ बर्ष सम्म केहि खबर आएन..मेरो केस त्यसै हरायो अर्थात् केस अप्रुभ भएन|वकिलले मेरो पसिना निकै चुसेको छ| र केस पनि बिग्रे पछी त म झनै बिखल्बंदमा परे|मेरो केश अस्वीकृत भएकै दिन आमा बित्नु भएको थियो|

त्यो दिन मलाई अमेरिका आएकोमा निकै पछुतो भएको थियो |त्यो पीडा अझै पनि छ मनको अन्तर कुन्तरमा|त्यस पछी मलाई पीडाले त्यति दुखाउन छोड्यो|आज बुवा बित्नु भो, गार्हो सार्हो पर्दा नेपाल जान सकिन र अहिले बित्नु भएपछी फेरी जानु को के अर्थ र?” ८/१० बर्ष अघि न आइजो भन्ने साथी भाई ,परिवार आज भोली कहिले आउछस भनि सोध्छन|तिमीहरु देश बनाऊ ,देश बनि सके पछि म आउछु भन्छु |
जिन्दगी यसरी बित्छ भन्ने अगाडी नै जानेको भए म उसै बेला नेपाल फर्किन्थे|संगै पत्रकारिता गरेका साथीहरु अहिले दैनिक पत्रिकाका सम्पादक भई सकेका छन्|देशमा संचारको बिकाश भएको छ ,नया नया प्रबिधि भित्रिएको छ,अहिले म न यता को हुन सकेको छु न उताको,अलि अलि जानेको ज्ञान पनि हराई सक्यो|साथीहरु अझै पनि पत्रकार भन्छन|यो सुन्दा मलाई व्यंग गरेको जस्तो लाग्छ|फर्किउ न अहिलेको समय सुहाउदो ज्ञान छ न त पैसा नै कमाएको छु,अब कागज पत्रको कुरा त खै कहाँ फलेको होला र टिप्नु! बिन्दा र नन्दन निर्मलको पीडा गाथा सुनी रहे|”अनि घरमा को को हुनुहुन्छ त ?” बिन्दाले सोधिन|”भाईहरु छन् ,बुहारी छन् ,उनीहरुका छोरा छोरी छन्,बुवा आमाको सम्झना छ अनि मेरी श्रीमती र अहिले १० बर्ष पुगेको छोरो ४ कक्षामा पढ्दै छ|” “अनि नेपाल त जानु भएको भए हुने नि है ,कागज पत्र बनाउन पनि कस्तो गार्हो ?” नन्दनले सोध्यो|कहाली लाग्दो जीवनको कथा सुनायो निर्मलले|जाने जाने भन्दा भन्दै महिना बर्ष बितेको पत्तो भएन|अझै पनि जाने दिनको तिथि मिति बादलले छोपेको छ निर्मलको|आएको दुईदिनमा बिन्दा र नन्दन उसको परिवारको सदस्य जस्तै भए|दुखको बेलामा साथ् दिए पछी साथी बन्न कति समय लाग्दो रै’छ र ?

मध्यरात कट्यो|पर ट्रेन स्टेशनमा गुडेको ट्रेनको कर्कश लाग्दो आवाज सजिलै सुनिन्थ्यो|बिन्दा र नन्दन सुत्न आफ्नु कोठामा गए|निर्मल सोफामा पल्टी रहेको थियो निदाएछ|एक्कासी फोनको घन्टीले उ बिउझियो|”तिमीले बुबा बितेको कुरा मलाई फोन गरेर किन नभनेको? यस्तो दुखद खबर पनि मैले फेसबुक हेरेर थाहा पाउनु पर्ने?” उताबाट अंग्रेजीमा बोलेको महिलाको मायालु आवाजले सोध्यो|”तिमी सुत्यौ होला भनेर डिस्टर्ब नगरेको” निर्मलले भन्यो|”म आउ ?” उनले सोधिन “पर्दैन भोली बिहान आउ, अहिले सुत”निर्मलले भन्यो|उ सोफामा सजिलो संग बस्यो,फेसबुक पेजमा गयो र अहिले सम्म प्राप्त समबेदनाका शब्दलाई धन्यवाद भन्यो|फोनमा सुनिएको आवाजलाई “आइ लभ यु एन आइ मिस यु टू”भन्दै निर्मलले फोन राख्यो र त्यसपछी लामो स्वास फेर्दै निर्मल सोफामै निदायो|

क्रमस:

कथा यात्रा भाग २

कथा यात्रा भाग २

सहदेव पौडेल

न्यु योर्क

(कथा यात्राको पहिलो भागमा हामीले निर्मल, बिन्दा र नन्दनको सामान्य परिचय पायौ|नन्दन र बिन्दा शहर घुम्ने जादै गर्दा ट्रेनमा छुट्टिएको र बल्ल बल्ल भेट भएको थियो..त्यस पछी के भयो होला ?..कथा यात्राको दोस्रो भाग)

त्यो दिन उनीहरु टाइम्स स्क्वाएर पुगेरै छाडे|दिनभरी शहर घुम्दा नन्दन र बिन्दाले एक अर्काको हात छोडेनन्|फोटो खिच्दा पनि संगै जोडिएर आफैंले फोटो खिचे|तथापी बिन्दालाई टाइम्स स्क्वाएरमा एउटा सिंगल फोटो नखिची चित्त बुझेन|नन्दनले अग्ला अग्ला भवन र झिलीमिलि बत्तिहरुको बीचमा बिन्दाको एक दर्जन जस्तो फोटो खिच्यो|बिन्दा खुसीले नचिन,जमीन छोडेर उफ्रिन त्यहि बेला नन्दनले राम्रा राम्रा फोटो खिचिदियो|उनीहरु टाइम्स स्क्वाएरको चारै दिशा तिर निस्फिक्री घुमे र दिउसोको एकै छिनको बिछोडको पीडा भुले|

साँझ घर फिर्ने बेलामा नन्दनले एकचोटी निर्मललाई फोन गर्यो, आफुहरु टाइम्स स्क्वाएरमा भएको र अब घर फर्किन लागेको जानकारी दिन तर निर्मलको फोन सिधै भ्वाइस मेसेजमा गयो|उसले मेसेज छोडेन| एकछिन पछी फेरी गर्यो फेरी उठेन ,४/५ चोटी प्रयास गरे पछी बल्ल निर्मलले फोन उठायो र झर्केको स्वरमा सानो आवाज पारेर “म काममा छु किन फोन गर्नु भएको हो म पछी गर्छु नि” भन्यो| नन्दनले एकै स्वरमा हामी टाइम्स स्क्वाएरमा छौ, घर जान लागेको, कुन ट्रेन लिएर गए सजिलो होला भनेर सोध्यो|निर्मलले सेभेन ट्रेन लिएर जानु र 74th Roosevelt Ave मा ओर्लनु भन्दै फोन राख्न हतारियो|तर नन्दनले अर्को प्रश्न पनि सोधी हाल्यो ..मेरो कामको कुरो के भो ? उता बाट उत्तरको सट्टा फोन राखेको टुंग टुंग आवाज आयो|


नन्दन र बिन्दा घुम्दै स्टेशन तिर पुगे र कुईन्स तिर जाने सेभेन ट्रेनमा चढे|साँझको समयमा सेभेन ट्रेन अत्यन्तै भिड थियो|मानिसहरु अनेक भाषा भाषीमा कुरा गर्दै थिए|कुनै कुनै भाषा आफुले बुझे जस्तो लाग्यो नन्दन र बिन्दालाई|उनीहरु त नेपाली जस्तै छन् भनेर अलि परको सिटमा बसेका कुर्ता सुरुवाल लगाएका महिलाहरुलाई देखाउदै उनीहरु कुरा गर्न थाले|”उनीहरुले बोलेको आवाजको आधारमा भन्ने हो भने उनीहरु बंगलादेशी हुन सक्छन” नजिकै उभिएको एक जना ४०/४५ बर्षको जस्तो देखिने व्यक्तिले हास्दै नेपालीमा भने|नन्दन र बिन्दा अचम्म मान्दै “ए दाई त नेपाली पो हुनु हुदो रे’छ” भन्दै कुरा गर्न थाले|”दाई होइन मेरो नाम दया राम बराल हो|वुडसाइडमा बस्छु पांच बर्ष भो आएको ..परिवार सबै नेपालमै छन्..लौ जा .. तपाईले सोध्नु भन्दा अगाडी सबै मैले नै भन्दिए” भन्दै दयाराम फुस्स हासे|”हामी त हिजो आइपुगेका हौ ,नया छौ केहि थाहा छैन ” नन्दनले भने|”न्यु योर्कमा सबै मान्छे सधै नया नै हुन्छन ,अनि काम के मा सुरु गर्नु भो त ? “दयारामले सोधे| “छैन अब खोज्नु पर्छ बरु के पाइएला यसो सहयोग गर्नु पर्यो” नन्दनले भने|बिन्दा यति खेर अघि खिचेका तस्बिरहरु क्यामेरामा हेर्दै थिइन्| “भै हाल्छ्नी मेरो टेलिफोन न. लिनुस फोन गर्नु न” दयारामले आफ्नु फोन न दिए ,बिन्दाले आफ्नु ब्याग बाट एक टुक्रा कागज निकालेर त्यसमा दयारामको न. टिपीन र भनिन “हामी निर्मल जी को मा बस्छौ”| “को निर्मल ?निर्मल तिमिल्सेना?” दयारामले चिने जसरी सोधे| “हजुर” बिन्दाले भनिन| “ए म चिन्छु उनलाई, ८/१० बर्ष भो क्यारे यता बस्न लागेको दयारामले भने|हिडी रहेको ट्रेनको झ्यालबाट देखिएको न्यु योर्क शहरको स्काई लाइनलाई बिन्दाले फोटोमा उतार्न खोजिन तर क्यामेरा हल्लियो |”अनि के डिभी पारेर आउनु भा’को?” दयारामले अरु प्रश्न खोतल्न थाले|”हजुर” नन्दनले भने| “ए”…. दयारामले टाउको हल्लाए|ल यसो फोन गर्नु होला मेरो त ओर्लने स्टेशन आयो|तपाईहरु यसपछिको दोस्रो स्टेशनमा ओर्लनु होला भन्दै दयाराम ट्रेनबाट बिन्दालाई एकोहोरो हेर्दै बाहिरियो|

घरमा पुगेर दुबैले मिलिजुली खाना पकाए|राति ११ बजे पछी निर्मल आइपुगे |”ए खाना खानु भए हुन्थ्यो नि किन कुरी राख्नु पर्थ्यो र ?कुरेर कहाँ साध्य हुन्छ र यहाँ ?” निर्मलले हात खुट्टा पुछ्दै भने| ” होइन हामीले त भर्खर खायौ तपाईको बाटो हेरी रा’को” बिन्दाले भनिन|नन्दनले खाना खादै गर्दा उनीहरुले आज दिनभरिको कथा सुनाए निर्मललाई|खाने खाएर आराम गर्दै निर्मल नेपाल तिर फोन लगाउन थाल्यो र नन्दन र बिन्दा टिभी हेर्न लागे|जति प्रयास गरे नि फोन लागेन निर्मलको बरु नेपाल बाटै फोन आयो| “ए म गर्दै थिए के छ तिम्रो खबर ?” उसले उताबाट फोन गर्ने लाई सोध्यो| उताबाट एक छिन केहि आवाज आएन ,के भो किन नबोलेको ? उसले फेरी सोध्यो|उसले फोनमा सुन्य हल्ला मात्र सुन्यो|उसको मनमा नमिठो चिसो पस्यो| केहि नराम्रो पो भयो कि ?के भो ?बुवालाई कस्तो छ आज ?उताको आवाजको प्रतिक्षा नगरी फेरी सोध्यो| बल्ल फोनमा मलिनो आवाज आयो| यो आवाज थियो उसकी श्रीमतीको|”बुवालाई हिजो राती सार्है नराम्ररी च्यापो …हस्पिटल लिएर गयौ राती नै …कति फोन गरेको हजुरको फोन नै लागेन …बुवा बित्नु भो हिजो राती नै|

निर्मल केहि बोल्न सकेन..एक्कासी उसको आँखा भरिएर आयो|नन्दन र बिन्दा नजिकै आए ..र सोधे के भो निर्मल जी के भो?
TO Be Continue…
(यो कथाको शृंखला न्यु योर्कबाट प्रकासित हुने पत्रिका एभरेस्ट टाइम्समा हरेक पन्ध्र दिनमा प्रकासित हुन्छ)

कथा यात्रा भाग १

कथा यात्रा भाग १
सहदेव पौडेल
न्यु योर्क
(यो कथा र कथामा प्रयोग भएको नाम काल्पनिक हुन कसैको जिबनमा मेल खाएमा त्यो एउटा सुखद वा दुखद संयोग मात्र हुने छ :लेखक)

न्यु योर्क आएकै दिन निर्मलले आफना एक जोडी रुम मेटलाई न्यु योर्कको सबवे र ट्रेनको बारेमा संछिप्त जानकारी गरायो|कहाँ जादा कुन ट्रेन लिनु पर्छ,कहाँ ओर्लनु पर्छ ,शहरमा घुम्ने ठाउहरु कहाँ कहाँ छन् सरसर्ती आफ्नो १० बर्षे अनुभब प्रदर्शन गर्यो, भर्खरै न्यु योर्क ओर्लेर न्यु योर्कको न पनि नजानेका नन्दन र बिन्दा लाई!दुबैले बुझे बुझे जस्तो गरी टाउको हल्लाए|निर्मल नया रुममेट पाएकोमा खुशी थियो|भर्खरै आएका जोडी रुममेट , छ महिना बर्ष दिन त बसी हाल्छन, उसको मन मनैको हिसाब थियो | एउटा छुट्टै कोठा ,मिलिजुली भान्छा ,बिजुली ग्यास गरि जम्मा ६०० डलर प्रति महिनाको दरले आएकै दिन देखि गन्ति सुरु गर्यो र एक महिनाको एडभान्स पनि लियो यहि बेलामा निर्मलले|न्यु योर्क शहरको सामान्य ज्ञानको जानकारी गराए पछी निर्मल हतारिदै काम तिर हिड्यो |

नन्दन र बिन्दा एकअर्कालाई हेर्दै मुस्कुराउदै गमक्क एकै अंगालोमा कसिए|आनन्दको खुसी देखिन्थ्यो दुबैको आँखामा| दिउसो खानपीन गरेर शहर घुम्न नन्द र बिन्दा निस्किए|उनीहरुलाई सबै भन्दा पहिला टाइम्स स्क्वैर घुम्न जान मन लाग्यो|धेरै हिन्दी फिल्ममा चित्रित अनि यता अमेरिकामा भएका धेरै साथीहरुले पनि टाइम्स स्क्वैरमा बसेर खिचेको र फेसबुकमा टासेको फोटोले बिन्दालाई पनि लोभ्याएको थियो|क्यामेरा, एक बोतल पानी र नेपालबाट लेराएको वाई वाई चाउ चाउ लाई ब्यागमा बोकेर दुवै लागे ट्रेन स्टेशन तिर|कोठा र ट्रेन स्टेशनको दुरी त्यति टाढा थिएन|निर्मलले बताए अनुसार नै उनीहरु स्टेशन पुगे,मेट्रो कार्ड किने र केहि छिनको प्रयास पछी प्लेटफर्ममा पुगे|ज्याक्सन हाइट्सको त्यो ठुलो स्टेशन भित्र पुगे पछी उनीहरु दुवै एकछिन अलमलिए र आउदै गरेको ट्रेनमा फुत्त छिरे|यो उनीहरुको पहिलो ट्रेन यात्रा थियो|ट्रेन भरि भराउ थियो|बिन्दा नन्दन को हात समाएर उभीईन नन्दन ट्रेनको म्याप ब्याग बाट झिकेर यता उता पल्टाउदै थियो|ट्रेन आफ्नै सुरले दौडी रहेको थियो|उनीहरु अल्मलिएका छन् ,हौसिएका छन् भन्ने सजिलै अनुमान गर्न सकिन्थ्यो|नजिकैको यात्रुले “Do you need help?” भनेर सोध्यो|नन्दन ले अप्ठेरो मान्दै “Yes, we want to go Times Square” भन्यो| यात्रुले तिमीहरु गलत ट्रेन चढ़ेउ अर्को स्टेशनमा ओर्लेर Manhattan जाने ट्रेन चढ्नु भन्यो| बिन्दाले धन्यबाद भनिन र चार पांच मिनेट पछी अर्को स्टेशनमा उनीहरु ओर्लिए र Manhattan जाने प्लेट फर्ममा गए| एकै छिन त्यहिको बेन्चमा बसेर ट्रेनको नक्शा हेरी रहे|दुवै एकअर्कालाई हेर्दै फेरी मुस्कुराए र हात समाए|नन्द उठेर ट्रेन आउदै छ कि उठेर हेर्न गयो ,ट्रेन आई हाल्यो|तिमी बस्दै गर म यो ट्रेन कहाँ जान्छ सोध्छु भन्दै बिन्दालाई ईशारा गर्यो|आधा शरीर ट्रेनको ढोका भित्र छिराएर ढोका नजिकै उभिएको एक यात्रुलाई यो Manhattan जाने ट्रेन हो? Times Square जाने? भनेर सोध्यो |जसलाई सोधेको हो उसको कानमा हेडफोन भएकोले उसले सुनें तर उसको कुरा सुनी रहेको नजिकै पुस्तक पढेर बसेको अर्को यात्रुले हो भनेर टाउको हल्लायो|नन्दन ले ढोकैमा बसेर बिन्दालाई बोलायो|बिन्दा दौडेर ट्रेन नजिक आउदै थिइन् ढोका लागी हाल्यो| नन्दन भित्र पर्यो, बिन्दा बाहिर|ट्रेन भित्र परेको नन्दन आत्तिदै के के भन्दै थियो बिन्दाले केहि बुझिनन् तर ट्रेन भने कर्कशलाग्दो आवाज निकाल्दै एकै छिनमा प्लेटफर्मबाट हरायो|र एउटा नमिठो सुन्यताले बिन्दालाई घेर्यो|


बिन्दालाई बित्याँस पर्यो|के गर्नु के गर्नु भयो|कसलाई के भन्नु ?अब कसरी भेट्नु?अर्को ट्रेन चढेर जाऔ..कहाँ ओर्लिनु?यतै बसौ फेरी नन्दन फर्केर यहि ठाउमा आउछ कि आउदैन?सोच्दा सोच्दै उनका आँखा रसाए|नजिकैको बेन्चमा गएर थचक्क बासिन र शान्त मनले अब के होला भनेर सोच्न थालिन|यदि भेट भएन भने ?हामी हरायौ भने ?यदि नन्दनलाई भिड भाडमा कसैले केहि गर्यो भने?यदि नन्द संग कहिल्यै भेट भएन भने ?बिन्दा अनेक सोचमा डुबिन| यो बिचमा अरु २/३ वोटा ट्रेनहरु आउने जाने भै सकेका थियो| नन्दनलाई कुर्नु बाहेक अर्को कुनै बिकल्प सुझेन बिन्दाको लागी| उनि यता उता आँखा डुलाउदै प्लेटफर्ममा बसी रहिन| नन्दन फर्केर आउने छ भन्ने उनीलाई पूर्ण बिश्वासका साथ्|

उता नन्दन आत्तिएको थियो|मिल्ने भए उ अहिले ट्रेनको झ्यालबाट फुत्त हामफालेर बिन्दालाई भेट्न आई पुग्थ्यो|अँधेरो टनेलमा बिन्दा उसको आँखा वोरिपरी घुम्न थाली|के गर्दै होली ?कति आत्तिईन होली! सायद रोईन कि ?कसैले आएर केहि पो गर्यो कि ?कतै प्लेटफर्ममा पो लडीन कि ?वा आउदै गरेको ट्रेनले पो हान्यो कि ?ओ हो नन्दनले सोच्नु सम्म सोच्यो|अब के गर्नु ?अबस्य पनि बिन्दा त्यहिँ स्टेशनमा कुरी रहेकी होलि भन्ने उसलाई लाग्यो र अर्को स्टेशनमा ओर्लेर फर्केर जानु नै उपयुक्त लाग्यो|उ चढेको ट्रेन एक्सप्रेस परेछ करिब पांचमिनेट पछाडी ट्रेन रोकियो| उ हतारिदै ट्रेन बाट बाहिरियो|ब्यागप्याक बोकेको नन्द आत्तिदै भिडमा दौडिदै थियो|ब्याग जांच गर्न बसेका पुलिसहरुले उसलाई रोक्यो र ब्यागमा के छ खोल्नु भन्यो|उ डरायो|कुनै समय नेपालमा यात्रा गर्दा यसै गरि पुलिस आर्मीले ब्याग चेक गरेको सम्झना आयो उसलाई|उसले डराई डराई ब्याग खोल्यो|ब्यागमा खाजाको लागी बोकेको वाई वाई चाउ चाउ ,पानीको बोतल र क्यामेरा थियो|पुलिसले उसलाई सोध्यो किन दौडेको?नन्दले आफु भर्खरै नेपाल बाट आएको र अघिल्लो स्टेशनमा आफ्नु श्रीमती छुटेको खबर एकै स्वासमा बतायो|आएको पहिलो दिनमै श्रीमती छोडेर हिड्ने भनेर पुलिसले रमाइलो पाराले जिस्काउन थाल्यो|नन्द आत्तिएको थियो|पुलिसले यसरि जांच गर्न थाले पछी उ झनै आत्तिएको थियो|सामान्य जांच पछी पुलिसले उसलाई छोडी दियो| स्टेशनमा नदौड़ीनु र सहयोग चाहियो भने भन्नु र श्रीमतीलाई छाडेर नहिड्नु भन्दै पुलिसले उसलाई हास्दै बिदा गर्यो|नन्द पनि ओ के भन्दै बिस्तारै प्लेटफर्ममा ओर्लियो र आउदै गरेको ट्रेनमा छिर्यो|छिर्न त छिर्यो तर अघि ओर्लेको स्टेशन कसरी पत्ता लगाउने?उ अघिको हरेक कुरा सम्झदै ट्रेनको ढोका बाहिर हेरी रह्यो|उसले अघि Forest याद गरेको थियो करिब ५/७ मिनेट पछी Forest लेखेको स्टेशनमा आई हाल्यो|उ फेरी आत्तिदै ट्रेन बाट निस्कियो र आँखा डुलायो|पर स्टेशनमा बिन्दा पनि आँखा यता उता डुलाउदै बसी रहेकी थिइन्|दुवै हतारिदै मुस्कुराउदै अगाडी बढे र एकार्कालाई जोडले अंगालोमा बाधे! दुबैको मुटुको दुक ढुकी बढेको थियो|बिन्दाको आँखा रातो भएको थियो भने नन्द पसिनाले निथ्रुक्क भिजेको थियो| दुवै एकअर्काको आँखामा हेरेर एकछिन सुन्यतामा हराए|

(यो कथाको नियमित शृंखला न्यु योर्क बाट प्रकासित हुने एभेरेस्ट टाइम्स पत्रिकामा प्रकासित हुने छ|एभेरेस्ट टाइम्समा प्रकासित भईसके पछी फेसबुक र यो ब्लग मार्फत सबैको सजिलो लागी पुन प्रकासित गरिने छ)