Monthly Archives: April 2015

नयाँ वर्ष सँगै कविता सङ्ग्रह “माटो र मन”

अन्तत: नयाँ वर्ष सँगै कविता सङ्ग्रह “माटो र मन” प्रकाशित भएको छ।

नव वर्ष २०७२को शुभकामना सहित मेरो पुत्र श्रीमनको साथमा मैले मेरो पुस्तक “माटो र मन” अनलाइन मार्फत अनावरण गरेको छु।

पुस्तक अनलाइन (Amazon.com-http://amzn.to/1OsMflJ ) मा हार्डकपी उपलब्ध छ मूल्य $५ मा। किताब अर्डर गरेको ३/४ दिनमा तपाईँको हातमा पर्छ।

काठमाडौँमा हुनुहुने पाठकहरुले फोन सम्पर्कको भरमा किताब लिन सक्नुहुन्छ। नेपालमा यसको मूल्य जम्मा रु. १५० छ।
11026199_10153153162634777_636899081181953909_n

न्यु योर्कमा हुनु हुने पाठकहरूलाई पनि हात हातमा पुस्तक पुर्याउने प्रबन्ध छ र मे २ मा सृजनाका यात्राहरुमा म एकल वाचन लिएर आउदै छु।

//

नव वर्ष २०७२को शुभकामना सहित।नब वर्ष २०७२ को शुभ दिन सँगै मेरो पहिलो कविता सङ्ग्रह “माटो र मन” यसै अनलाइन सञ्जालमा विमो…

Posted by Sahadev Poudel on Monday, April 13, 2015

त्यसै गरी बोस्टन र भर्जिनियामा पनि म आफ्नै कविता वाचनको कार्यक्रम लिएर आउदै छु।
अरू राज्यहरूमा पाठक साथीहरूले जानकारी गराउनु भयो भने किताब तुरुन्तै पठाउन सकिन्छ।

९० पृष्ठको “माटो र मन”मा ६४ वोटा कविताहरू संग्रहित छन्। पुस्तक प्रकाशनको लागि खसखस डट कमले सघाएको हो।

यो बिचमा म मे १८ को दिनमा नेपाली समय अनुसार साँझ ६ बजे र न्यु योर्क समय अनुसार  बिहानी ८ :१५ बजे “माटो र मन” बारेमा कुराकानी गर्न Twitter मा आउदै छु, जसलाई नेपालबाट Nepali Bytes ले संयोजन गर्दै छ।

मलाई आशा छ , तपाईँहरूको प्रतिक्रिया,सुझाव, साथ् र सहयोगले अझै राम्रो लेख्न प्रेरित गर्ने छ।

सहदेब पौडेल
न्यु योर्क

 

प्रवासबाट पुस्तक: रहर मात्रै

आफूले लेखेको कविता, कथाहरूको सङ्कलन गरेर पुस्तक निकाल्ने रहर धेरैको हुन्छ। अझै प्रवासमा बसेर मनको बह पोख्नेहरुलाई त् झन् धेरै हुन्छ। अमेरिका होस् वा क्यानाडा वा अस्ट्रेलियामा रहेका धेरै सर्जकहरु जो विविध कार्य व्यस्तताको बिचमा केही लेखि रहन्छन उनीहरूलाई कम्तिमा एउटा पुस्तक निकाल्न पाए हुन्थ्यो भन्ने रहर हुन्छ तर पुस्तक प्रकाशनको यो रहरे यात्रा भने सोचे भन्दा निकै फरक रहेछ।

नेपालका सायदै कुनै प्रकाशकले प्रवासमा रहेका सर्जकहरुको पुस्तक प्रकाशित गरेका होलान्। उनीहरू प्रवासबाट लेखिने साहित्य त्यसमा पनि कविता,गज़ल सङ्ग्रहमा रुचि लिदैनन किन भने उनीहरूलाई लाग्छ प्रवासमा बसेका लेखक सर्जकको नामबाट  किताब बिक्दैन र खर्च पनि उठ्दैन र प्रवासी साहित्य भनेको खाली देश प्रेम , हिमाल​/पहाड र तराई​ र गाउँ घरका नोस्टाल्जिया मात्रै हो भन्ने भ्रम छ।  त्यसैले सर्जक स्वयम् प्रकाशक बनेर आफ्नू कृतिको प्रकाशनको तयारीमा लाग्छन। यद्दपी पुस्तकमा प्रकाशकको रूपमा आफ्नू वरिपरि रहेका साहित्यिक सङ्घ   संस्थाको नाम लेख्ने गरिन्छ तर  पुस्तकमा नाम उल्लेख गरेका ती प्रकाशकले भने एक सुको पनि लगानी गर्दैनन्।

हामीहरू जुन देशमा भए  पनि हामीलाई पुस्तक भने नेपाल मै निकाल्ने रहर हुन्छ किन भने नेपालमा पुस्तक प्रकाशन गर्न  सस्तो मात्रै होइन यसो पकेट खर्च दिएर पुस्तक समीक्षा लेखिदिने समिक्षक पनि उतै सजह भेटिन्छन। त्यसैले  यता एक हप्ता काम गरेको पैसाले उता ५०० प्रति किताब निकाल्ने खर्च पुग्छ।पुस्तक ५०० प्रति निकाले पनि लेख्नलाई ५००० प्रति लेख्न थप खर्च नि पर्दैन। र  अर्को दुई  हप्ता काम गरेको पैसाले बिमोचनको खर्च पुग्छ।

प्रवासमा बिस्तारै​ ​पुस्तक  प्रकाशन गर्ने सर्जकहरु बढ्दै गए पछि त् अहिले नेपालमा बाहिर रहेका सर्जकहरुको पुस्तक निकलिदने एक किसिमको  व्यवसाय नै सुरु भएको छ। यताबाट पुस्तक प्रकाशनको रहरको पोको सँगै डलर नेपाल पठायो।  नेपालमा बस्नेले टाइप गर्दिने, शुद्ध अशुद्द हेर्दिने र प्रेसमा पठाइ दिने गर्छन् र पुस्तक तयार भए पछि गोदाममा जम्मा हुन्छ। यो प्रक्रिया पुरा हुन कम्तीमा एक वर्ष लाग्छ। समयमा पुस्तक तयार नहुने दोष धेरै जसो चाही लोडसेडिंगलाई दिन्छन उताबाट प्रकाशनको जिम्मा लिनेहरु।

जब पुस्तक तयार हुन्छ खर्च गर्ने  रहर हुनेले आफू प्रवासमै बसी बसी नेपालमा कार्यक्रम आयोजक खोजेर आवश्यक  खर्च दिए पछि पुस्तक पनि बिमोचन हुन्छ नेपालका नाम चलेका साहित्यकारहरुको भिडमा। यसरि बिमोचन गर्दा लाग्ने खर्च  पुस्तक प्रकाशनमा भएको खर्च भन्दा डबल हुन्छ। अनि त्यस पछि आफ्नू देश तिर आउनेलाई जति सक्दो पुस्तक बोकेर आउन अनुरोध गर्‍यो र फेरी आफू बसेको देशमा पुस्तक विमोचनको अर्को रहर मेटयो र बर्गेलती अनलाइन मिडियामा समाचार र फोटो छाप्यो,​ अनि ​​फेसबुक र ट्वीटरमा “लाइक” बटुल्यो, ​ पहुँच छ भने नेपालका पत्र पत्रिकामा पठायो र दङ्ग पर्‍यो।  अनि नेपालको नाम चलेको समिक्षकलाई यसो खर्च दिए पछि अर्को पुस्तक समीक्षा पनि आइ हाल्छ- सर्जकले चित्त बुझाउने बाटो।

यसरि प्रकाशित पुस्तक धेरैको हातमा पुग्नु भन्दा पनि  पुस्तक प्रकाशनको  हल्ला सबैको कान कानमा पुग्छ। अनि ५०० प्रति निकालेर ५००० प्रति लेखेको पुस्तक १००/२०० त् साथी भाइलाई यता उता दिदै मा जान्छ अनि बाकी पुस्तक कि त् गोदाम घर वा आफ्नै आफन्तको घर​ वा लेखककै घरमा ​ कुनै बाक्सामा ​बन्द भएर बसी रहन्छ।

यसरि रहरैले भए पनि ५०० देखि १ हजार डलर  खर्च गरेर पुस्तक निकाल्दा नेपालमा धेरैले काम त् पाए तर यो प्रक्रियालाई अलि सजह बनाउन सके, अथवा नेपालकै प्रकाशकहरु जसले पुस्तक वितरण, प्रचार प्रसार, बिमोचन  आदिमा सहजीकरण गरिदिए धेरैको हातमा पुस्तक पुग्ने र प्रवासमा बस्नेले कस्तो साहित्य लेख्दा रहेछन् भन्ने पनि थाहा हुन्थ्यो। अनि प्रवासी साहित्य पनि नेपाली साहित्यको मुलधारमा आउथ्यो। र हामीले यता बसेर लेखेको साहित्य सृजनाले पनि समग्र नेपाली साहित्यमा आफ्नू स्थान बनाउन सक्थ्यो। हुन त् अब पछिल्लो समय अनलाइनमा इबुकको रूपमा पुस्तक निकाल्ने प्रविधि बढ्दै गएकोले अब सम्भबत इबुक कै स्वरूपमा धेरै धेरै पाठकको हातमा कम खर्चमा इ पुस्तक पुग्न सक्ने सम्भावना पनि बढ्दै छ​ ​तर पनि पुस्तक भनेको पुस्तक नै हो।

यसरी प्रवासमा बसेका म जस्ता धेरै रहरले पुस्तक निकाल्नेहरुको कथा हो यो जुन धेरैको जीवनमा मेल खाएमा संयोग मात्र हुने छ।

​****​

सहदेव पौडेल

​(मेरो पहिलो कविता कृति “माटो र मन” चाढै प्रकाशित हुदै छ) ​

​पहिलो पटक सेतोपाटीमा ​प्रकाशित मिति: शुक्रबार, चैत्र १३, २०७१ १४:५१:४९