उही बर्षौ पुरानो साथी
सहदेव पौडेल, न्यु योर्क
बर्षौ पछि म मेरो मन मिल्ने साथीलाई भेट्न सुस्तरी सुस्तरी स्वप्न बगैचामा पुगेँ। बगैंचाको एउटा बेञ्चमा उ कालो चस्मा लगाएर पर्खिरहेको थियो। कपासजस्तो उसको कपाल हावाले हल्लाई रहेको थियो।रुखबाट बिछोडिका पहेंला पातहरू उसैको वरी परि फूल जसरी बर्षिरहेका थिए । अघिल्लो बेञ्चमा बसेर उसलाई नियालें; उसको अनुहार र हातको छाला र नजिकैको रुख उस्तै उस्तै थियो। छेउमा एउटा लौरो उसैमा अढेस लागेर ढल्की रहेको थियो । उसले मलाई एकोहोरो हेरी रहेको जस्तो लाग्यो। तर खै किन हो किन उसलाई देखेर मेरो बोलीनै फुटेन ।
“के यो मेरो उही बर्षौ पुरानो साथी हो!?”
मेरो सँगै उसको पनि टाउको हल्लिएको मैले देखेँ । त्यस पछि सुस्तरी सुस्तरी म घर फर्किए, उ पनि लौरो सँगै उठ्यो र आफ्नो बाटो लाग्यो। साँझ घरको फोनमा एउटा यस्तो संदेश पर्खिरहेको रहेछ!
“तँलाई स्वप्न बगैचा मा देखेँ,पहिले त तँ हो कि होइन मलाई ठम्याउनै गार्हो पर्यो,तेरो शरीर पनि कुप्रेछ, त्यस्तो बतासिएर हिड्ने तँ, सुस्त भै’छस। तैले फेरेको श्वास त, पात सुसाएको जस्तो पो लाग्यो। दम छ जस्तो छ तँलाई । तैँले एकोहोरिएर मलाई हेर्दै थिइस तर केही बोलिनस। बगैँचामा बसेर लेख्ने तेरो बर्षौ देखिको बानी अझै उस्तै रहेछ , त्यसैले मलाई लाग्यो त्यो तँ नै होस् तर खै किन हो किन मेरो बोली नै फुटेन! अब अर्को दिन भेटौला अनि बोलौला ”
यो संदेश बारम्बार सुन्दै म टोलाई रहें ।