Tag Archives: Nepali Poetry

नयाँ वर्ष सँगै कविता सङ्ग्रह “माटो र मन”

अन्तत: नयाँ वर्ष सँगै कविता सङ्ग्रह “माटो र मन” प्रकाशित भएको छ।

नव वर्ष २०७२को शुभकामना सहित मेरो पुत्र श्रीमनको साथमा मैले मेरो पुस्तक “माटो र मन” अनलाइन मार्फत अनावरण गरेको छु।

पुस्तक अनलाइन (Amazon.com-http://amzn.to/1OsMflJ ) मा हार्डकपी उपलब्ध छ मूल्य $५ मा। किताब अर्डर गरेको ३/४ दिनमा तपाईँको हातमा पर्छ।

काठमाडौँमा हुनुहुने पाठकहरुले फोन सम्पर्कको भरमा किताब लिन सक्नुहुन्छ। नेपालमा यसको मूल्य जम्मा रु. १५० छ।
11026199_10153153162634777_636899081181953909_n

न्यु योर्कमा हुनु हुने पाठकहरूलाई पनि हात हातमा पुस्तक पुर्याउने प्रबन्ध छ र मे २ मा सृजनाका यात्राहरुमा म एकल वाचन लिएर आउदै छु।

//

नव वर्ष २०७२को शुभकामना सहित।नब वर्ष २०७२ को शुभ दिन सँगै मेरो पहिलो कविता सङ्ग्रह “माटो र मन” यसै अनलाइन सञ्जालमा विमो…

Posted by Sahadev Poudel on Monday, April 13, 2015

त्यसै गरी बोस्टन र भर्जिनियामा पनि म आफ्नै कविता वाचनको कार्यक्रम लिएर आउदै छु।
अरू राज्यहरूमा पाठक साथीहरूले जानकारी गराउनु भयो भने किताब तुरुन्तै पठाउन सकिन्छ।

९० पृष्ठको “माटो र मन”मा ६४ वोटा कविताहरू संग्रहित छन्। पुस्तक प्रकाशनको लागि खसखस डट कमले सघाएको हो।

यो बिचमा म मे १८ को दिनमा नेपाली समय अनुसार साँझ ६ बजे र न्यु योर्क समय अनुसार  बिहानी ८ :१५ बजे “माटो र मन” बारेमा कुराकानी गर्न Twitter मा आउदै छु, जसलाई नेपालबाट Nepali Bytes ले संयोजन गर्दै छ।

मलाई आशा छ , तपाईँहरूको प्रतिक्रिया,सुझाव, साथ् र सहयोगले अझै राम्रो लेख्न प्रेरित गर्ने छ।

सहदेब पौडेल
न्यु योर्क

 

प्रवासबाट पुस्तक: रहर मात्रै

आफूले लेखेको कविता, कथाहरूको सङ्कलन गरेर पुस्तक निकाल्ने रहर धेरैको हुन्छ। अझै प्रवासमा बसेर मनको बह पोख्नेहरुलाई त् झन् धेरै हुन्छ। अमेरिका होस् वा क्यानाडा वा अस्ट्रेलियामा रहेका धेरै सर्जकहरु जो विविध कार्य व्यस्तताको बिचमा केही लेखि रहन्छन उनीहरूलाई कम्तिमा एउटा पुस्तक निकाल्न पाए हुन्थ्यो भन्ने रहर हुन्छ तर पुस्तक प्रकाशनको यो रहरे यात्रा भने सोचे भन्दा निकै फरक रहेछ।

नेपालका सायदै कुनै प्रकाशकले प्रवासमा रहेका सर्जकहरुको पुस्तक प्रकाशित गरेका होलान्। उनीहरू प्रवासबाट लेखिने साहित्य त्यसमा पनि कविता,गज़ल सङ्ग्रहमा रुचि लिदैनन किन भने उनीहरूलाई लाग्छ प्रवासमा बसेका लेखक सर्जकको नामबाट  किताब बिक्दैन र खर्च पनि उठ्दैन र प्रवासी साहित्य भनेको खाली देश प्रेम , हिमाल​/पहाड र तराई​ र गाउँ घरका नोस्टाल्जिया मात्रै हो भन्ने भ्रम छ।  त्यसैले सर्जक स्वयम् प्रकाशक बनेर आफ्नू कृतिको प्रकाशनको तयारीमा लाग्छन। यद्दपी पुस्तकमा प्रकाशकको रूपमा आफ्नू वरिपरि रहेका साहित्यिक सङ्घ   संस्थाको नाम लेख्ने गरिन्छ तर  पुस्तकमा नाम उल्लेख गरेका ती प्रकाशकले भने एक सुको पनि लगानी गर्दैनन्।

हामीहरू जुन देशमा भए  पनि हामीलाई पुस्तक भने नेपाल मै निकाल्ने रहर हुन्छ किन भने नेपालमा पुस्तक प्रकाशन गर्न  सस्तो मात्रै होइन यसो पकेट खर्च दिएर पुस्तक समीक्षा लेखिदिने समिक्षक पनि उतै सजह भेटिन्छन। त्यसैले  यता एक हप्ता काम गरेको पैसाले उता ५०० प्रति किताब निकाल्ने खर्च पुग्छ।पुस्तक ५०० प्रति निकाले पनि लेख्नलाई ५००० प्रति लेख्न थप खर्च नि पर्दैन। र  अर्को दुई  हप्ता काम गरेको पैसाले बिमोचनको खर्च पुग्छ।

प्रवासमा बिस्तारै​ ​पुस्तक  प्रकाशन गर्ने सर्जकहरु बढ्दै गए पछि त् अहिले नेपालमा बाहिर रहेका सर्जकहरुको पुस्तक निकलिदने एक किसिमको  व्यवसाय नै सुरु भएको छ। यताबाट पुस्तक प्रकाशनको रहरको पोको सँगै डलर नेपाल पठायो।  नेपालमा बस्नेले टाइप गर्दिने, शुद्ध अशुद्द हेर्दिने र प्रेसमा पठाइ दिने गर्छन् र पुस्तक तयार भए पछि गोदाममा जम्मा हुन्छ। यो प्रक्रिया पुरा हुन कम्तीमा एक वर्ष लाग्छ। समयमा पुस्तक तयार नहुने दोष धेरै जसो चाही लोडसेडिंगलाई दिन्छन उताबाट प्रकाशनको जिम्मा लिनेहरु।

जब पुस्तक तयार हुन्छ खर्च गर्ने  रहर हुनेले आफू प्रवासमै बसी बसी नेपालमा कार्यक्रम आयोजक खोजेर आवश्यक  खर्च दिए पछि पुस्तक पनि बिमोचन हुन्छ नेपालका नाम चलेका साहित्यकारहरुको भिडमा। यसरि बिमोचन गर्दा लाग्ने खर्च  पुस्तक प्रकाशनमा भएको खर्च भन्दा डबल हुन्छ। अनि त्यस पछि आफ्नू देश तिर आउनेलाई जति सक्दो पुस्तक बोकेर आउन अनुरोध गर्‍यो र फेरी आफू बसेको देशमा पुस्तक विमोचनको अर्को रहर मेटयो र बर्गेलती अनलाइन मिडियामा समाचार र फोटो छाप्यो,​ अनि ​​फेसबुक र ट्वीटरमा “लाइक” बटुल्यो, ​ पहुँच छ भने नेपालका पत्र पत्रिकामा पठायो र दङ्ग पर्‍यो।  अनि नेपालको नाम चलेको समिक्षकलाई यसो खर्च दिए पछि अर्को पुस्तक समीक्षा पनि आइ हाल्छ- सर्जकले चित्त बुझाउने बाटो।

यसरि प्रकाशित पुस्तक धेरैको हातमा पुग्नु भन्दा पनि  पुस्तक प्रकाशनको  हल्ला सबैको कान कानमा पुग्छ। अनि ५०० प्रति निकालेर ५००० प्रति लेखेको पुस्तक १००/२०० त् साथी भाइलाई यता उता दिदै मा जान्छ अनि बाकी पुस्तक कि त् गोदाम घर वा आफ्नै आफन्तको घर​ वा लेखककै घरमा ​ कुनै बाक्सामा ​बन्द भएर बसी रहन्छ।

यसरि रहरैले भए पनि ५०० देखि १ हजार डलर  खर्च गरेर पुस्तक निकाल्दा नेपालमा धेरैले काम त् पाए तर यो प्रक्रियालाई अलि सजह बनाउन सके, अथवा नेपालकै प्रकाशकहरु जसले पुस्तक वितरण, प्रचार प्रसार, बिमोचन  आदिमा सहजीकरण गरिदिए धेरैको हातमा पुस्तक पुग्ने र प्रवासमा बस्नेले कस्तो साहित्य लेख्दा रहेछन् भन्ने पनि थाहा हुन्थ्यो। अनि प्रवासी साहित्य पनि नेपाली साहित्यको मुलधारमा आउथ्यो। र हामीले यता बसेर लेखेको साहित्य सृजनाले पनि समग्र नेपाली साहित्यमा आफ्नू स्थान बनाउन सक्थ्यो। हुन त् अब पछिल्लो समय अनलाइनमा इबुकको रूपमा पुस्तक निकाल्ने प्रविधि बढ्दै गएकोले अब सम्भबत इबुक कै स्वरूपमा धेरै धेरै पाठकको हातमा कम खर्चमा इ पुस्तक पुग्न सक्ने सम्भावना पनि बढ्दै छ​ ​तर पनि पुस्तक भनेको पुस्तक नै हो।

यसरी प्रवासमा बसेका म जस्ता धेरै रहरले पुस्तक निकाल्नेहरुको कथा हो यो जुन धेरैको जीवनमा मेल खाएमा संयोग मात्र हुने छ।

​****​

सहदेव पौडेल

​(मेरो पहिलो कविता कृति “माटो र मन” चाढै प्रकाशित हुदै छ) ​

​पहिलो पटक सेतोपाटीमा ​प्रकाशित मिति: शुक्रबार, चैत्र १३, २०७१ १४:५१:४९

कविता :विश्व कविता दिवसको सन्दर्भमा

++
कन्चन पानी जस्तै,
जस्तो रङ्ग राख्यो उस्तै बन्ने,
कुनै अमुर्त चित्र जस्तै ।

रक्सीको नशामा डुब्दै,
वा चुरोटको धुवामा उड्दै,
चिया चौतारीमा बस्दै,
वा पाखा पखेरुमा डुल्दै लेखिने
एउटा कथा जस्तै ।

जीवनको गीत,
देश वा परदेशको प्रीत,
जसरि व्यक्त गरे पनि हुने,
शब्दको कुनै परिधि भित्र बसेर
छन्द लेखे पनि हुने,
वा स्वछन्द लेखे पनि हुने,
यस्ता अनेक अनेक शब्दहरूले बनेको
एउटा पहाडको नाम हो कविता!

###
सहदेव पौडेल
न्यु योर्क

(विश्व कविता दिवसको सन्दर्भमा)
World Poetry Day is on March 21
Saha

रहरै रहरमा “माटो र मन”

कहिले घर देश सम्झेर र कहिले परदेश सम्झेर मनका भावनाका रंगहरुलाई विविध शब्दहरुमा पोख्दा पोख्दै सायद म कवि पो भएँ कि! अहिले म अनलाइन र ब्लगहरुमा छरपस्ट भएका कविताहरुलाई एकमुस्ट पारेर “माटो र मन” शीर्षकको कविता सङ्ग्रहको प्रकाशनको तयारीमा छु र अप्रिल महिना भित्र पाठकहरुको  हातमा पर्ने छ मेरो पहिलो कृति।

Maato Ra Mann 
“माटो र मन” साहित्यिक वेब पत्रिका खसखस डट कमले प्रकाशन गर्दै छ।”माटो र मन”को ईपुस्तक संस्करण  अमेजन डट कममा पनि उपलब्ध हुनेछ। साथै केही कविताका अडियो र भिडियो हिमाली स्वरहरुले निर्माण एवं प्रसारण गर्ने छ। पुस्तक प्रकाशनको संयोजन नेपालबाट किताबवालाले गरेको छ।
 
अहिलेलाई यसै सङ्ग्रहमा भएको कविताहरुको भिडियोहरु
 

यो वर्ष पनि

 

यो वर्ष पनि,
बिदा मनाउन घर हिडेकाहरु घर पुगेनन्,
स्कुल गएकाहरु फर्केनन्,
परदेशिएकाहरु फिरेनन्​!​

यो बर्ष पनि,
देशको अशान्ति बाट टाढिएर
अप्ठेरो बाटो हुँदै,
सपनाको फेरी चढेर,
खुल्ला आकाशको खोजीमा हिडेकाहरु,
सागर बिचमै डुबे।
किनारामा पुग्न नपाउदै,
धेरैको जहाज़ डुब्यो।

यो बर्ष पनि,
देश हरायो,
परिवेश हरायो,
बम, बारुद,र गोलीको
भुङ्ग्रोमा सर्वस्व खरानी भयो।
बलात्कार र हिंसाका रगत
यो वर्ष पनि लत्पतियो,
रङ्ग, जात, र धर्मको​ रगत
यो वर्ष पनि ​पोतियो,
​अनेक अनेक शिर्षकहरुमा
यो वर्ष पनि थुप्रै हामीहरू बेअर्थ
मरी रह्यौं..मरी रह्यौं..
****

सहदेव पौडेल
न्युयोर्क
डिसेम्बर २९,२०१४

 

 

/home/wpcom/public_html/wp-content/blogs.dir/a17/11876352/files/2014/12/img_5680.jpg

भिडियो कविता: चिसा रुखहरु 

कविता रचना/भिडियो :सहदेव पौडेल
कवितामा प्रस्तुत संगीत: डीप फरेस्ट

चिसा रुखहरु

January 14, 2011
चिसा रुखहरु

चिसा रुखहरु,

सडक किनारमा लस्करै लस्करै हिडी रहेछन,

“यतै कतै जरो गाड्न पाए नि हुन्थ्यो नि,”

सुसाउछन रुखहरु!

छरपस्टिएका हाँगाहरु

जिन्ग्रिंग परेको स्वरूप,

पातहरु छैन,

चरा चुरुन्गिका बासहरु छैन,

चिसा रुखहरु

ठिंग उभिएर लस्करै हिडी रहेछन!

छाया बन्नु,

माया पाउनु,

अर्कै ऋतुको कथा होला!

चिसा रुखहरु ,

जल्दैनन,

बल्दैनन,

बोल्दैनन रुखहरु

त्यसैले सायद कसैले

बुझ्दैनन् ..

कहिले होला

चिसा रुख हरुमा बशन्त आउने

र एउटा निलो आकाश मुनि,

हरियो चौरमा,

सुशेली काट्दै,

चरा चुरुंगी संग प्रीत साट्दै,

छहारी दिने दिन!

by Sahadev Poudel,

New York

शहर भनेको बगर रहेछ

शहर भनेको बगर रहेछ,
बगरको एक ढुङ्गा भएँ म,
ढुङ्गाको कहाँ रहर हुन्छ र!

शहर भनेको जंगल रहेछ,
जंगलको एक काडँा भएँ म,
काडँाको कहाँ स्याहार हुन्छ र !

शहर भनेको पाताल रहेछ,
पातालको एक सुन्य भएँ म,
सुन्यको कहँा संसार हुन्छ र !

शहर भनेको …..

सहदेव पौडेल
न्यूयोर्क

20140309-093316.jpg

तिम्रो र मेरो कथा

तिम्रो र मेरो कथा

(न्यु योर्क बाट बोस्टनमा गएर त्यहाँ आयोजित “सिर्जना उत्सब” मा सुनाएको कविता )

बोस्टन,
तिमीलाई लाग्ला,
म गगन चुम्बी भवनहरू हुँ,
२४सै घण्टा जाग्राम बस्ने उजेलो सहरको,
वाल स्ट्रिट वरपर सुकिला मुकिला लुगा लागाउने एक प्रतिशत हुँ!

तिमी सोचौंली,
म टाइम्स स्क्वाइरको रसरंगमा डुबुल्कि मार्ने ब्रोड बे को स्टार हुँ
सेन्ट्रल पार्कमा स्वतन्त्रताको चुम्बनमा लीन हुँदै,
ब्रुक्लिन ब्रिज, एम्पायर स्टेट बिल्डिंग ,
र लेडी लिबर्टी घुम्ने फिरन्ते वा
स्याक्स, बर्गड्रोफ गुडम्यान, वा ब्लॊमिङ्ग डेलमा
किनमेल गर्ने सेक्स एंड द सिटिका सेता पात्रहरु हुँ।

तिम्रो र मेरो कथा

तिमीलाई के थाहा? बोस्टन,
म त न्यूनतम ज्यालामा सपनाको जो हो गर्ने एक पहरेदार हुँ ,
महँगा महँगा रेस्टुरेन्टका बेञ्जनहरुको बासना सुङ्ग्दै
टेबुल टेबुलमा सेवा दिने बटलर हुँ!

सडक कुनाको ठेला पसलमा,
पानी, सोडा, चिकेन ओभर राइस र हट डगमा जीवन धकेल्दै,
अप टाउन, डाउन टाउन देखि एअरपोर्ट सम्म ट्याक्सीमा
सुन जस्तै ज्याला खोज्ने मै हुँ ।

हँसिला रसिला देखिने न्यु योर्कका सुन्दरीहरुको शृंगार हुँ म !

अग्ला अग्ला भवनहरुको कुनै कोठामा,
लाला बालाको स्याहार सम्भार गरी रहेको भेट्ने छौँ मलाई,
तिमीले सुने पढेको घरेलु कामदार माथिको,
यौन शोषणको समाचारको पीडक पात्र,
वा रङ्गको आधारमा ओम लेखेको झोलामा
खानतलासी गर्दै शंकास्पद नजरले हेर्ने,
र कहिले गो बयाक टु योर कन्ट्री मदर फरर भन्दै,
आँखा अगाडी बन्दुक तेर्साउदै ग्रोसरी स्टोरमा रगताम्य हुने मै हुँ

बोस्टन,
सायद फरक छैन होला
तिम्रो र मेरो कथा
किन भने
म पनि त तिमी जस्तै
बृदाश्रम जस्तै देखिने देशबाट
विदेशमा पलाउन सकिन्छ कि भनेर
डी भीको दयामा
एसाइलमको स्वीकृतिमा
मरुभूमिबाट ज्यान हत्केलामा राखेर
यो भवसागरमा प्रवेश गरेको एलियन हुँ !

हिड्दै छ पाइला मेट्दै छ- को म एक फगत प्रतिबिम्ब हुँ!

Photo/Words by Sahadev Poudel

New York 

पानी पसेको घडी जस्तो जिन्दगी

धुम्म बादल लागेको छ,
तै पनि घुमी रहन्छ
दाइँका गोरु जसरी!
धुलो मसिनो बनाउनु छ
ओसिएको पराल
र निकाल्नु छ धानका गेडाहरु ।
तर कहिले रोकिन्छ सुईहरु,
अनि रगड्छु आफ्नै शरीरको तातोमा,
र एकैछिन भएपनि हराए जस्तो हुन्छ बादल!
फेरी सुस्त दौडिन्छ तँछाड मछाड गर्दै सेकेन्ड, मिनेट र घण्टाको हिसाबमा!
दौडिदा दौडिदै पर्छ बादलको परिबन्धमा,
अल्झिन्छ पानीका साना साना कणहरुमा,
सम्भबत:
यसै गरी एक दिन झ्याप्प बन्द हुन्छ जिन्दगी,
पानी पसेको घडी जसरी ।
*******
शब्द र तस्बिर:
सहदेव पौडेल, न्यु योर्क
IMG_1805

कविता: स्सस्स्स्स्ससस्स

see-hear-speakNoEvil03
कविता:स्सस्स्स्स्ससस्स

स्स्स्सस्ससस्स….. चुप चुप चुप!
बिस्तारै बोल्नुस,
कोही  आगो सरि दन्केका   छन्,
कोही बाढी सरि  उर्लेका छन्,
जलाउने र बगाउनेको जुलुस,
खहरे सरि सहर तिर पसेको छ,
खरानी बनाउलान आवाजहरु!!

स्स्स्सस्स्स्स ……

जे पायो त्यै नलेख्नुस!
अक्षर जान्नेहरू अनर्थ लाउन सक्छन्,
शब्दहरूले मात्रै पनि  मान हानि गर्न सक्छ,
र उल्लुहरु जुर्मुराउन  सक्छन् ,
झम्टेलान कलम समाउने हातहरु !

स्स्स्सस्स्सस्स…..
कान थुनेर  हिड्नुस
गोप्य वार्ता सुनिएला!
न्याय निशाप पपेट  शो जसरि भव्य प्रदर्शन भै’रहेको छ ,
मुकुण्डो लगाएर नाचीरहेछन प्रजातन्रका बादरहरु,
आँखा बन्द गरेर हिड्नुस!
सीमा पारिबाट आएर सिहदरबारको तारमा बसेका कागहरु चिन्नुहोला,

फुटाई देलान आँखा ,
छरी देलान आँखामा शान्तिका  एसिडहरु ,
भाची देलान हात खुट्टा
त्यस्तै परे घोषणा गरिदेलान
सहिद भनेर!

स्स्स्स्स्सस्स्स ……
ताली  नपिट्नुस लोक तन्त्र आ’को छ!

​—————​—————–

​सहदेव पौडेल ​
image source: www.bluenc.com